गण्डकी। सात तालको बगैँचा सहरका रूपमा चर्चा कमाएको लेखनाथमा अवस्थित बेगनास र रुपा तालका बीचमा अवस्थित रमणीय ठाउँ हो, पचभैया । प्राकृतिक रूपमा मात्र यसको महत्त्व धार्मिक र ऐतिहासिक रूपमा पनि उत्तिकै छ।
महाभारतकालीन समयमा पाण्डवले पचभैयामा एक रात बिताएको विश्वास छ । गुप्तवासका क्रममा पाण्डवहरू यहाँस्थित पचभैया कोट देउराली क्षेत्रमा बास बसेको जनविश्वासका कारण यो धार्मिक हिसाबले महत्त्वपूर्ण रहेको पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिका पूर्वअध्यक्ष दीनानाथ ढकालले बताए ।
किंवदन्तीअनुसार गुप्तवासका क्रममा यही स्थानमा पाण्डवहरूले यहाँस्थित देउराली देवीको शक्ति प्राप्त गरेका थिए । सोही विश्वासकै कारण पचभैया कोट देउराली मन्दिरमा यस आसपासका दर्शनार्थीहरू अत्यन्त श्रद्धा विश्वासका पूजाआजा गर्न आउने गरेको उनको भनाइ छ ।
साढे दुई दशक अघिसम्म देउरालीको थानका रूपमा सामान्य ढुङ्गाको शिला मात्र रहेकोमा स्थानीयको सक्रियताका कारण यहाँ मन्दिर निर्माण गरिएको हो । नजिकै रहेको कोट मन्दिरसमेतलाई समेट्दै यहाँको संरक्षण र विकास थालिएको हो ।
मन्दिर निर्माणका लागि विसं २०६० मा महायज्ञ गरी त्यहाँबाट सङ्कलित झण्डै रु ५० लाखको सङ्कलन गरिएको थियो । मन्दिर परिसरमा हवनकुण्ड, पुजारी आवास र कार्यालय छन् । मन्दिरभित्र प्राचीनकालदेखि कै शिला राखिएको छ ।
किंवदन्तीअनुसार पाण्डव एकवर्षे गुप्तवासका क्रममा हिमालयमा तपस्या गर्न पुगे । तपस्याबाट फर्कने क्रममा पचभैयामा एक रात बिताएछन् । त्यस क्रममा उनीहरूले देवीको आराधना गरेको र उक्त स्थानमा देवी उत्पत्ति भई उनीहरूलाई शक्ति प्रदान गरेको विश्वास छ ।
पूर्वअध्यक्ष ढकालका अनुसार पाण्डव बसेको स्थान भएका कारण उक्त समयदेखि यस स्थानलाई पञ्चभैया भन्न थालियो । पछि अपभ्रंश हुँदै यस स्थानको नाम पचभैया हुन गएको हो ।
यहाँबाट विश्वका आठ हजार मिटरभन्दा बढी उचाइका अन्नपूर्ण, धवलागिरी, र मनास्लु हिम शृङ्खलालाई एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट बेगनास र रुपा ताल पनि हेर्न सकिने होटेल तथा रेस्टुरेन्ट एशोसिएशन लेखनाथका पूर्वअध्यक्ष एवं सल्लाहकार दामोदरभक्त थापाले जानकारी दिए ।
बेगनास तालदेखि करिब डेढ किलोमिटर दूरीमा पर्ने पचभैया क्षेत्रबाट देखिने रमणीय हिमाली दृश्यका साथै तालतलैयाले यहाँको पर्यटकीय महत्वलाई अझै बढाएको उनको भनाइ छ । यहाँ पछिल्लो समयमा होटेल तथा रेस्टुरेन्ट लगायतका पूर्वाधार निर्माण भइरहेको छ । हाल यस क्षेत्रमा १४ वटा घरवास (होमस्टे) सञ्चालनमा आइसकेका छन् भने केही होटल पनि छन् ।
जलपर्यटन सहित पर्यापर्यटनको पनि उत्तिकै सम्भावना रहेको यसै क्षेत्रमा निर्मित पचभैया प्राणी उद्यान केन्द्र यहाँको अर्को आकर्षण हो । बृहत पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर निर्माण गरिएको प्राणी उद्यान केन्द्र पछिल्लो समयमा यहाँको पर्यटकीय गन्तव्यका रूपमा विकास भएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले बताए ।
गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।
खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको छ । केन्द्रमा आउने पर्यटकले चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउँछन् ।
यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच अनुरूप युनाइटेड क्लबले विसं २०६७ देखि अभियान नै सुरु गरेको थियो । केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् ।
स्थानीय सचेतना अभिवृद्धिका लागि यहाँ सञ्चालित सिड फाउण्डेशन नेपालमार्फत विभिन्न कार्यक्रम गर्दै आइएको संस्थापक अध्यक्ष दामोदरभक्त थापाको भनाइ छ । पचभैया क्षेत्रको भौगोलिक अवस्थिति एवं यहाँबाट देखिने मनोरम दृश्यकै कारण यो पर्यटकीय रूपमा आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको हिमालय फरेष्ट रिसोर्ट पचभैयाका सञ्चालक प्रमोद भण्डारीले जानकारी दिए। रासस