एल.जी. युकेको सहयोगमा सहारा एकेडेमीका बालबालिकालाई ट्र्याक सुट हस्तान्तरण

पोखरा । लालीगुराँस एसोसिएसन (एल.जी.) युकेको सहयोगमा सहारा एकेडेमीका बालबालिकालाई ट्र्याक सुट प्रदान गरिएको छ।

एल.जी. एसोसिएशन नेपालका संस्थापक तथा एल.जी. फेस्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा) को पहलमा युकेमा आयोजित एल.जी. फेस्टमा संकलित रकमबाट सामाजिक कार्यअन्तर्गत एल.जी. एसोसिएशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङको सहकार्यमा पोखरा–१७ दोबिल्लामा रहेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा रहेका ३० जना बालबालिकालाई ट्र्याक सुट प्रदान गरिएको हो।

सो अवसरमा बोल्दै एल.जी. एसोसिएशन नेपालका अध्यक्ष डम्मर जंग गुरुङले एल.जी. एसोसिएशनले एल.जी. फेस्टको आयोजना गरी सामाजिक कामहरू गर्दै आएको सन्दर्भमा हालै युकेमा सम्पन्न एल.जी. फेस्टमा संकलित रकमबाट पोखराको सहारा एकेडेमीका बालबालिकालाई ट्र्याक सुट वितरण गरिएको बताए।

त्यस्तै एल.जी. एसोसिएशनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एल.जी. एसोसिएशनले स्वदेश तथा विदेशमा समेत संगठित भई एल.जी. फेस्टको आयोजना गरी नेपालमा सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्दै एल.जी. को सामाजिक काममा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सहारा क्लबका अध्यक्ष केशवराज बरालले एल.जी. एसोसिएशन पोखराका संस्थापक राजेन्द्र गुरुङ (कान्छा) लगायत सम्पूर्ण एल.जी. एसोसिएशन परिवारप्रति धन्यवाद प्रकट गरे।

सो अवसरमा एल.जी. एसोसिएशनका सल्लाहकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसीव गुरुङ, संगम क्लब पोखराका पूर्वअध्यक्ष राजु गुरुङको उपस्थिति रहेको थियो भने क्लबको तर्फबाट अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष तथा एकेडेमी संयोजक पूर्ण गुरुङ, पूर्वअध्यक्षहरू विक्रम थकाली, केशवबहादुर थापा, हरिराम गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु राना, कार्य समिति सदस्य अमर राजभण्डारी, एकेडेमी व्यवस्थापन समितिका सहसंयोजक विश्वराज बराल, सदस्य लीलबहादुर थापाको उपस्थिति रहेको थियो।





Comments

comments

133280