१४ औं आहा रारा गोल्ड कपबाट ३५ लाख बचत

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, २५ असार। गत बर्ष देशको विषम परिस्थितिमा पनि आयोजना भएको आहा रारा गोल्ड कपबाट ३५ लाख रुपैया बचत भएको छ।

पोखराको सहारा क्लवले गत बर्ष माघ ५ देखि १६ गतेसम्म पोखरामा आयोजना गरेको १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताबाट ३५ लाख दुई हजार रुपैयाँ बचत भएको क्लवले शनिबार आय–व्यय सार्वजनिक कार्यक्रममा जानकारी गराएको हो।

११ दिनसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ९७ लाख २४ हजार आम्दानी भएकोमा खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको अर्थ संकलन समिति संयोजक प्रकाश शेरचनले बताए । प्रतियोगिता अवलोकन गर्न ४४ हजार दर्शकले टिकट काटेको क्लवले जनाएको छ । खेल भएको पाँच महिनापछि क्लबले शनिबार आय–व्यय सार्वजनिक गर्दै विषम परिस्थितिमा पनि आयोजना भएको उक्त प्रतियोगितालाई सफल पार्न सहयोग गर्नु हुनेप्रति आभार व्यक्त गरेको छ । भूकम्प र नाकाबन्दीको बाबजुद पनि क्लबले यसपालि पनि प्रतियोगिता निरन्तरता दिएको थियो।

दर्शक टिकटबाट सबैभन्दा बढी ४९ लाख २६ हजार रुपैयाँ आम्दानी भएको छ भने प्रायोजकबाट २७ लाख ३३ हजार आम्दानी भएको छ । उक्त प्रतियोगितामा मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा÷रारा चाउचाउ रहेको छ । क्लबले क्याराभानदेखि हालसम्म आयोजना गरेको प्रतियोगितामा मुख्य प्रायोजक रहँदै आएको हिमश्री फुड्स प्रालिले यसपालि ११ लाख रुपैयाँ सहयोग गरेको थियो।

खर्चतर्फ सबैभन्दा बढी खेलाडी दैनिक भ्रमणमा १९ लाख २७ हजार खर्च भएको क्लवले जनाएको छ भने प्रोत्साहनतर्फ ८ लाख ५२ हजार, संचालन तथा व्यवस्थापनमा ६ लाख ७७ हजार, आयोजक टिम तयारीमा ६ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

क्लबले वर्षेनी आयोजना गरेको फुटबल प्रतियोगिताबाट बचत रकम सहारा फुटबल एकेडेमीमा खर्च गर्दैआएको छ। एकेडेमीमा हाल १६ जिल्लाका २७ जना विपन्न तथा कठिन परिस्थितिका बालक रहेका छन । ३ जना बालक थप गरी ३० जना पुर्याउने लक्ष्य रहेको क्लब अध्यक्ष वीरभद्र आचार्यले बताए । उनले क्लबले २ करोड संकलन गर्ने लक्ष्य रखी स्थापना गरेको सहारा अक्षयकोषमा हालसम्म ९० लाख संकलन भएको जनाए ।

कार्यक्रममा पूर्व सभासद समेत रहेका हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले क्लबसँग लामो समयदेखि सहकार्य गर्दैआएकोमा र आफ्नो शेषपछि पनि छोराहरुले सहयोगलाई निरन्तरा दिने उद्घोष गरे । क्लबका पदाधिकारी एवं सदस्यको लगनशीलता, कार्यकुशलता र पारदर्शिता भएकोले सबैले सहयोग गर्दैआएको उनले बताए । क्लब अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति अध्यक्ष यमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष केशवबहादुर थापा, सचिव सुरेन्द्रबहादुर श्रेष्ठ लगायतले वोलेका थिए।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

13421