भक्तपुर । भक्तपुरको पोटरी स्क्वायरमा शुक्रबारबाट पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) सुरु भएको छ।
एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबाट सुरु गरेको दुई दिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभलको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले माटोको भाँडा बनाएर उद्घाटन गरेका हुन्।
भक्तपुरले भाषा, कला र संस्कृति बचाउन सके मात्र आफ्नो पहिचान बचाउन सक्ने बताउँदै उनले माटोको भाँडा बनाउने पेसाजस्तै पुराना सीपहरू संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए।
मौलिक उत्पादन र सीपलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव शनिबार राति सम्पन्न हुन्छ । महोत्सवमा खाद्य, विभिन्न स्थानीय परिकारहरू, कृषि, माटाका भाँडाकुँडाहरूको स्टल तथा प्रदर्शनी, सांस्कृतिक नाच र सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको छ । रात्रिकालीन पर्यटनलाई समेत प्रवर्द्धन गर्ने गरी सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको छ।


