पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरु धाम क्षेत्रमा माघे सङ्क्रान्ति मेला भर्ने दर्शनार्थीको घुइँचो लागेको छ । पाँच दिनसम्म लाग्ने मेलाको विहीबार र शुक्रबार कालीगण्डकी नदीमा स्नान गरी यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो लागेको हो।
यहाँ आउने दर्शनार्थी स्नानसँगै मेलामा रमाउने गरेका छन् । मेलाको आकर्षणको रूपमा कृत्रिम ड्याममा सञ्चालन गरिएको डुङ्गा रहेको छ । पर्यटक आकर्षित गर्न यस वर्ष यहाँका युवाले रिडी खोलालाई थुनेर ताल निर्माण गरी डुङ्गा सञ्चालनमा ल्याएका छन् । जुन मेला भर्न आउनेको आकर्षणको केन्द्र बनेको छ । यहाँ आउने जो कोही डुङ्गा सयर गरे मात्र फर्कने गरेको रुरु सञ्चार प्रालिका अध्यक्ष चुरामणी तिमिल्सेनाले बताए।
बिहीबार पहिलो दिन नै ६९३ जनाले डुङ्गा सयर गरेका थिए । डुङ्गा चढ्नेबाट पहिलो प्रतिव्यक्ति रु ३०० लिइए पनि दोस्रो दिन शुल्क घटाएर रु २०० पुर्याइएको छ । भीड बढ्दै गएपछि एक फन्को मात्रै लगाउने भएकोले शुल्क पनि घटाएर प्रतिव्यक्ति रु २०० मात्रै तोकिएको तिमिल्सेनाले बताए । अहिले पनि तालमा डुङ्गा चढ्नेको भीड छ । पेट्रोलबाट चल्ने उक्त बोटमा ११ जना पर्यटकको क्षमता रहेको छ । स्थानीय आठ जना युवा मिलेर आफ्नै लगानीमा माघी मेलालाई केन्द्रमा राखेर डुङ्गा चलाउन ताल बनाएका हुन्।
मेलाकै अवसरमा पाल्पा, गुल्मी र स्याङ्जा क्षेत्रमा व्यापारिक स्टलसमेत राखिएका छन् । गुल्मी र पाल्पातर्फ गरी दुई सयभन्दा बढी स्टल छन् । रुरु क्षेत्रमा होटल, घरेलु सामग्री, सुपो, डालो, राडी, पाखी, फेन्सी सामग्री प्रर्दशनीकक्षमा छन् । मेलामा गुल्मीको थोर्गालगायतका किसानले उखुबाट बनाइएको गुँड, खुदो, चाकु र स्थानीय उत्पादनका प्रर्दशनीकक्ष राखेका छन् । सङ्क्रान्तिका अवसरमा व्यापार गर्न पाल्पा, बागलुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट घरेलु सामग्री बिक्रीका लागि रिडीमा आएका छन्।


