कोलोराडोमा सरस्वती पूजा सँगै बाल प्रतिभा प्रस्तुति सम्पन्न

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। नेपाली भाषा, साहित्य, कला तथा संस्कृति जोगाइराख्ने उद्देश्यले आयोजना गरिएको सरस्वती पूजा तथा बालबालिकाहरूको प्रतिभा प्रस्तुति कार्यक्रम कोलोराडोमा शनिबार सम्पन्न भयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर र नेपाली भाषा पाठशालाको आयोजनामा बसन्त पञ्चमीको अवसर पारेर विद्याकी देवी सरस्वतीको पूजा–आराधना सँगै भाषा पाठशालाका छात्र–छात्राहरूको प्रतिभा प्रस्तुति समारोह सम्पन्न गरिएको हो। कार्यक्रममा कोलोराडोमा सक्रिय विभिन्न संघ–संस्थाका पदाधिकारी, कवि–कवयित्री, साना बालबालिका, बालकलाकार, व्यवसायी, पत्रकार, गण्यमान्य व्यक्तित्व तथा बालबालिकाका अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा भाषा पाठशालाका गुरुहरू तथा बालबालिकाका अभिभावकले विधिवत् सरस्वती पूजा गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा उपस्थित सम्पूर्ण बालबालिका तथा अभिभावकहरूले सँगै सरस्वती माताको पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा भाषा पाठशालाका विद्यार्थीहरूको प्रतिभा प्रस्तुति कार्यक्रम रहेको थियो। साना बालबालिकाहरूले कुशलतापूर्वक आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। बालबालिकाहरूले नेपाली पहिरनमा सजिएर कुशल नृत्य, कविता वाचन, सरस्वती पूजाबारे जानकारी, गाउँघरका सासू–बुहारी, समाज र स्वास्थ्यकर्मीसँग सम्बन्धित नाटक लगायत विभिन्न ज्ञानगुनका कुरा बताएर आफ्नो कला प्रस्तुत गरेका थिए।

यसरी प्रतिभा प्रस्तुत गर्ने बालकलाकारहरूमा प्रान्जिलाले सरस्वती वन्दना र नृत्य, दर्शनाले नृत्य, रचित र रुसिलले सरस्वती स्तोत्र, आश्रिता कटुवाल, आरती कटुवाल, प्रियंका श्रेष्ठ, परी श्रेष्ठ, मान्यता रुपाखेतीबाट सामूहिक नाटक, प्रसिद्धि, काशभी, कृषाबाट नृत्य, कृञ्जलबाट कथा वाचन, माया ज्ञवाली र स्नेहा ज्ञवालीबाट नृत्य लगायतका रहेका थिए।

कार्यक्रमको अन्त्यमा नृत्य पाठशालाका छात्र–छात्राहरूबाट सामूहिक नृत्य प्रदर्शन गरिएको थियो। कोलोराडोको अरोरा र वेस्टमिन्स्टरमा विगत केही वर्षअघिदेखि नेपाली भाषा कक्षा सञ्चालन हुँदै आएको छ। नृत्य पाठशाला भने यस वर्षदेखि मात्र सुरु गरी १२ हप्ता सञ्चालन भएर आजै सम्पन्न गरिएको हो। नृत्य कक्षामा २५ जना नेपाली बालबालिका सहभागी भएको प्रशिक्षक बब्लु थापाले बताएका छन्।

समारोहमा साना बालबालिकालाई अक्षरारम्भ गराउने कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रमको पहिलो सत्र धन पौडेलले सञ्चालन गरेकी थिइन् भने दोस्रो चरणको कार्यक्रम प्रेयांका श्रेष्ठले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा सभापति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रममा सहभागी बालकलाकारहरूलाई कार्यक्रमका अतिथि र आयोजक संस्थाका पदाधिकारीहरूले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।

आफ्नो भाषा र संस्कृति भावी पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गरी यसको संरक्षण गर्न र आफ्नो पहिचान जोगाइराख्न प्रवासमा यस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

नेपाली भाषा र संस्कृति जोगाइराख्नुपर्छ भन्ने उद्देश्यका साथ “भाषा चाहिन्छ, भेष चाहिन्छ, शिर उठाई बाँच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वभर सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।





Comments

comments

135501