जापानको ४६५ सदस्यीय तल्लो सदनमा एलडीपीको ३१६ सिट : प्रधानमन्त्री सनाए ताकाइचीको ऐतिहासिक जित

तस्वीर : एफपी/रासस

काठमाडौं, जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आइतबार सम्पन्न तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) को निर्वाचनमा भारी बहुमत हासिल गरेको छ।

प्रधानमन्त्री सनाए ताकाइचीको नेतृत्वमा एलडीपीले ४६५ सदस्यीय सदनमा ३१६ सिट जित्दै दुई तिहाइभन्दा बढी सुपरमेजोरिटी प्राप्त गरेको छ।

यो जितले पार्टीले विधेयक पारित गर्न कुनै पनि विपक्षी अवरोधको सामना नगर्ने अवस्था सिर्जना गरेको छ।

जापानको युद्धपछिको इतिहासमा यो एकल पार्टीको सबैभन्दा ठूलो जित मध्येको एक हो। निर्वाचन आयोग र प्रमुख सञ्चार माध्यम एनएचकेका अनुसार एलडीपीले ३१६ सिट जितेको छ भने यसको गठबन्धन साझेदारसँगै कुल सिट संख्या ३५० नाघेको छ।

जापानकी पहिलो महिला प्रधानमन्त्री सनाए ताकाइचीले गत वर्ष अक्टोबरमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि छोटो समयमै स्न्याप निर्वाचन गराएकी थिइन्।

‘आइरन लेडी’ भनेर चिनिने ताकाइचीले रक्षा नीति सुदृढ गर्ने, आप्रवासन नियन्त्रण गर्ने, कर छुटमार्फत मुद्रास्फीति कम गर्ने र आर्थिक सुधारका मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाएकी थिइन्।

यो परिणामले जापानको युद्धपछिको शान्तिवादी नीतिबाट क्रमशः सैन्य क्षमता विस्तारतर्फको यात्रालाई थप बल पुर्‍याउने देखिएको छ। अमेरिकाले यो नतिजालाई स्वागत गरेको छ भने चीनले ताकाइचीको ताइवान र क्षेत्रीय सुरक्षासम्बन्धी अडानप्रति चासो र चिन्ता व्यक्त गरेको छ।

विजयपछि प्रधानमन्त्री ताकाइचीले भनेकी छिन् -“यो जनताले दिएको स्पष्ट जनादेश हो। हामी अब अझ दृढतापूर्वक काम गर्नेछौं।”

विशेषगरी विश्वको सबैभन्दा बढी ऋण भएको अर्थतन्त्रमा ट्याक्स सस्पेन्सन र आर्थिक राहतका नीतिलाई अगाडि बढाउन यो सुपरमेजोरिटीले ठूलो सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।बजारमा पनि सकारात्मक प्रभाव परेको छ। सोमबार बिहान जापानको प्रमुख स्टक सूचकांक निक्केई २२५ झन्डै ६ प्रतिशतले उकालो लागेको छ।

(स्रोत : एनएचके, रोयटर्स, जापान टाइम्स, असाही सिम्बुन, बीबीसी)





Comments

comments

135511