चितवन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैलाई गाली नगरी एकढिक्का भएर निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
कांग्रेस चितवनले साेमबार आयोजना गरेको कार्यक्रममा उनले आफ्नो कुरा प्रष्ट रूपमा राख्न अरुलाई कुनै पनि हिसाबले लाञ्छित नगर्न आग्रह गरे।
उपसभापति शर्माले भने, “हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागाैँ । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ।”
उनले पार्टीभित्र भएको विशेष महाधिवेशनले मैलो पखालेको भन्दै देश बदल्ने सङ्कल्पसहित गुटरहित मानसिकता चुनावमा होमिएको सन्देश दिन पनि निर्देशन दिए। “पार्टीले फागुन २१ लक्षित गर्दै २१ दिने अभियान सञ्चालन गर्न लागेको छ।
अभियानका क्रममा जिल्ला, प्रदेश र केन्द्रले खटाएका नेताबाहेक अन्य नेताहरू आफ्नै वडामा २१ दिन खटिन स्पष्ट निर्देशन छ”, उपसभापति शर्माले भने,“अभियानका क्रममा आफ्नो वडामा सक्रिय भएर काम गरौँ । आफ्नो वडा छाडेर अर्काको वडामा जानु आवश्यक छैन । आफ्नै क्षेत्रमा पार्टी र देश बदल्न कांग्रेसले लिएको नीति घरघरमा पुर्याऔँ।”
कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले हाल देशभर ७५ प्रतिशत हाराहारी युवा र नयाँ उम्मेदवार लिएर चुनावमा गएको उल्लेख सबैलाई जिताउने गरी खट्न आग्रह गरे।


