काठमाडौं, नेपाली भाषासाहित्यको क्षेत्रमा लामो समयदेखि सक्रिय योगदान पुर्याएका साहित्यकार तथा अन्य व्यक्तित्वहरूलाई यस वर्ष ‘वानीरा पुरस्कार’ तथा सम्मान प्रदान गर्ने निर्णय भएको छ।
नेपाली साहित्यमा साढे सात दशकभन्दा बढी समयदेखि कविता तथा गीत सिर्जनामा समर्पित कवि तथा गीतकार माधव खनाल ‘भावुक’लाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ । उहाँको पहिलो कृति वि.सं. २००९ मा प्रकाशित भएको थियो।
भावुकका कवितासङ्ग्रहमा म.वि.वि. शाह, बालकृष्ण सम र मातृकाप्रसाद कोइरालाले भूमिका लेख्नुभएको थियो। उहाँका तीनवटा कृति तथा करिब एक सय फुटकर लेख/रचना प्रकाशित छन्।
यसैगरी, विगत चार दशकदेखि आफ्नै स्रोत र साधनबाट नेपाली लिपिको कम्प्युटर फन्ट निर्माण गरी नेपाली भाषाको डिजिटल प्रवर्द्धनमा योगदान पुर्याउनुभएका साथै पछिल्लो समय कृत्रिम बौद्धिकतामा आधारित मौलिक यन्त्रमानव (रोबोट) को आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढाउन सफल कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ।
आख्यान, कविता तथा हास्यव्यङ्ग्य लेखनमा निरन्तर समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेखनीय योगदान पुर्याएबापत चितवनका साहित्यकार श्री धनराज गिरीलाई ‘वानीरा पुरस्कार’ प्रदान गरिनेछ।
यी तीनवटै पुरस्कारको राशि क्रमशः एक लाख, एक लाख र पचास हजार रुपियाँ रहेको छ।
यसबाहेक, किशोरावस्थादेखि नै समाजसेवामा समर्पित भई विशेष गरी काठमाडौं महानगरपालिका वडा नं. ३० को विकास निर्माणमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका श्री सरोज ढकाललाई ‘वानीरा सेवा सम्मान’ प्रदान गर्ने निर्णय पनि भएको छ।
नेपाली साहित्यकी विश्व नारीरत्न डा. वानीरा गिरीको सम्मानमा स्थापित यी पुरस्कार तथा सम्मानहरू उहाँको ८३औँ जयन्तीका अवसरमा आगामी अक्षय तृतीयाको दिन काठमाडौंमा एक समारोहबीच प्रदान गरिनेछ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई. शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो।
स्रोत: नरेन्द्रराज प्रसाई, सदस्यसचिव, वानीरा फाउन्डेसन


