महोत्तरी । जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज बिहान दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–६ बस्ने सुरेन्द्र दासका छोरा अन्दाजी २० वर्षीय शुभाष दास, रामदयाल दासका छोरा अन्दाजी २० वर्षीय रवि दास र एकडारा गाउँपालिका–३ बस्ने शत्रुध्न मण्डलका छोरा अन्दाजी २० वर्षीय अभिषेक मण्डल रहेको प्रहरीले जनाएको छ।
निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए।
त्यस्तै, सो घटनामा थप तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरूमा जलेश्वर नगरपालिका–६ कै सुरेश दासका छोरा अन्दाजी १९ वर्षीय रोहित दास, सोही ठेगानाका लखिन्द्र कापरका छोरा अन्दाजी १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका–५ बथनाहाका रामवरण कापरका छोरा अन्दाजी २० वर्षीय अजय कापर रहेका छन्। रासस


