न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २२ मे। जोर्डनको फेरी स्ट्रीटस्थित मन युएन बिल्डिङमा बिहीबार राति करिब १० बजे भीषण आगलागी भएको छ। आगोले एक जनाको ज्यान लिएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार आगलागीका कारण २०० भन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।
प्रहरीले जानकारी पाउनेबित्तिकै घटनास्थलमा पुगेर उद्धार कार्य थालेको थियो। दमकलका कर्मचारीहरूले आगो निभाउने प्रयास गरे।
भवनभित्र खोजी गर्दा एक जना जलेर मृत अवस्थामा फेला परेका थिए। तीन जना घाइतेहरूलाई क्वोङ वाह अस्पताल लगिएको छ। तीमध्ये ६७ वर्षीया महिलाको खुट्टामा जलन भएको छ। अर्का एक जनालाई स्वास्थ्यमा समस्या भएको रिपोर्ट आएको छ।
ह्विलचेयरको सहारामा रहेका एक ७१ वर्षीय वृद्धको समयमै आगोबाट उम्कन नसक्दा दुःखद मृत्यु भएको छ। धुवाँले निसास्सिएका र सामान्य जलेका अन्य चार जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।
भवनमा हाल पुनर्निर्माण/मर्मत कार्य भइरहेको थियो र बाहिर स्काफोल्डिङ तथा जाली लगाइएको थियो।
घटनास्थलमा एक स्थानीयले भावुक हुँदै दमकलकर्मीहरूलाई छिटो काम गर्न आग्रह गर्दै कराएको दृश्य देखिएको थियो।
आगलागी भवनको १३औँ तलामा रहेको एउटा फ्ल्याटबाट सुरु भएको थियो, जसलाई स-साना ९ वटा ‘सबडिभाइडेड’ (विभाजित) कोठाहरूमा बाँडिएको थियो। आगलागीको वास्तविक कारणबारे प्रहरी र अग्नि नियन्त्रण विभागले अनुसन्धान गरिरहेका छन्।


