बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

फाइल फोटो

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा आज देखि छैटौँ संस्करणको खुला पुरुष तथा महिला डुङ्गादौड प्रतियोगिता आयोजना हुने भएको छ।

बेगनासताल डुङ्गा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने साथै तालको महत्वबारे उजागार गर्दै जल दुर्घटनासम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको समितिका अध्यक्ष नवाराज बास्तोलाले बताए।

बास्तोलाका अनुसार पुरुषतर्फको दौड बेगनासताल तथा डुङ्गाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बिच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ । महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यसले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले रु १५ हजार, द्वितीय हुनेले रु १० हजार, तृतीय हुनेले रु पाँच हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले रु तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कँडेलले जानकारी दिए । प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा तीन जना डुङ्गा चालक रहनेछन्। रासस





Comments

comments

139103