चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता

काठमाडाैँ । चीनको दक्षिण पश्चिमी सहर चोङकिङमा गएको पहिरोमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता रहेको अधिकारीहरूले शनिबार बताएका छन्।

शुक्रबार बिहान पेङशुई काउन्टीमा गएको पहिरोले ठूलो मात्रामा ढुङ्गा र माटो बगाउँदा १० भन्दा बढी आवासीय भवन पुरिएको चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ।

पहिरोमा परेका १० जनालाई उद्धार गरी अस्पताल पठाइएको छ भने एक हजार १०० भन्दा बढी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । घटनास्थलका तस्बिर तथा भिडियोमा गगनचुम्बी भवनभन्दा ठूलो देखिने चट्टान खसेको र भग्नावशेष भिरालो क्षेत्रमा फैलिएको देखिएको छ।

क्षतिग्रस्त भवनमध्ये एकको माथिल्लो भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा अर्को भवन नजिकै एउटा सवारीसाधन आधा पुरिएको अवस्थामा भेटिएको जनाइएको छ।

पेङशुई काउन्टीका योजना तथा प्राकृतिक स्रोत प्रमुख वाङ चुआनजुनका अनुसार पहिरोमा करिब १८ हजार घनमिटर चट्टान र भग्नावशेष बगेको थियो । त्यसमा सबैभन्दा ठूलो चट्टान करिब तीन हजार घनमिटरको रहेको उनले बताए।

सीसीटिभीका अनुसार घटनास्थलमा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म निरन्तर वर्षा भएको थियो । स्थानीय मौसम केन्द्रले १९ दशमलव दुई सेन्टिमिटर वर्षा मापन गरेको जनाएको छ । प्रतिकूल मौसमका कारण उद्धार कार्यमा कठिनाइ भए पनि वर्षा केही कम भएपछि उद्धार टोलीले भग्नावशेष र नदी किनार क्षेत्रमा खोजी कार्य तीव्र पारेका छन्।

उद्धारकर्ताहरूले अस्थिर चट्टान र थप पहिरोको जोखिमबीच खोजी गरिरहेका छन्। अधिकारीहरूले चट्टान वरपरको खोजी पूरा भएपछि ठूला ढुङ्गा हटाउन ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरेका छन्।

यसैबिच, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले विपद्पछिको पूर्वाधार तथा सार्वजनिक सेवा पुनःस्थापनाका लागि तीन करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) राहत रकम विनियोजन गरेको छ।

वर्षाका कारण आएको उक्त पहिरो वुजियाङ नदी क्षेत्रनजिक भएको हो । सो क्षेत्र साना बस्ती र टेरेसयुक्त कास्र्ट पहाडका लागि परिचित छ। पेङशुई काउन्टी चोङकिङको दक्षिणपूर्वी भागमा अवस्थित छ । यो क्षेत्र हुबेई र गुइझोउ प्रान्तसँग सीमा जोडिएको छ। रासस





Comments

comments

139827