मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला

–

महोत्तरी । नेपालीको राष्ट्रिय चाड दसैँ आजदेखि सुरु भएको छ। महोत्तरीसहित मिथिला क्षेत्रमा दसैँलाई दशहरा (शारदीय नवरात्र) का रूपमा मनाइने भएकाले गाउँदेखि सहरसम्म चहलपहल बढेको छ।

शारदीय नवरात्रको पहिलो दिन आज घटस्थापनाका लागि देवी शक्तिपीठ, दुर्गा प्रतिमा निर्माणस्थल र घरघरमा देवी आराधनाका भजन गुञ्जिन थालेका छन् । मैथिल जनबोलीमा दशहरा भनिने दसैँको पहिलो दिन मिथिला क्षेत्रमा देवी दुर्गाको महिमासम्बन्धी भजन गाउन थालिएको छ।

देवी दुर्गाको आराधना गरिने मिथिलामा दुई नवरात्र प्रचलनमा छन् । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई शारदीय र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई वासन्ती नवरात्र भनिन्छ । वर्षमा दुई नवरात्र मनाउने परम्परा भए पनि मिथिला क्षेत्रमा दशहरा शारदीय नवरात्रलाई नै भन्ने गरिएको मैथिली संस्कृतिविद् ध्रुव रायले बताए।

शारदीय नवरात्रको पहिलो दिन आज आइतबार मिथिला क्षेत्रका प्रसिद्ध देवी शक्तिपीठ र मन्दिरमा घटस्थापनाका लागि एकाबिहानैदेखि पवित्र जलाशयबाट जल ल्याउन कलशयात्राको तयारी गरिएको छ । मिथिला परम्पराअनुसार अविवाहित किशोरीले धार्मिक महत्त्वका नदी तथा तलाउबाट नयाँ घडामा जल ल्याउँछन् । त्यही जलले देवीका प्रतिमा र मन्दिर परिसर सिञ्चित गरी कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिन्छ।

महोत्तरीका प्रसिद्ध देवी शक्तिपीठ औरही–७ भोइलस्थित सोनासती (सोनामाई) स्थान, बर्दिबास–४ स्थित पञ्चधुरा माईस्थान, जलेश्वर–१ स्थित सन्सारी माई र राजदेवी मन्दिरमा एक हजार आठ कन्याले कलशयात्रा गर्ने तयारी छ । उनीहरूले रातु नदी तथा लक्ष्मीसागर, पुरन्दर, वरुण, ध्रुवकुण्ड र भार्गवसरलगायत धार्मिक महत्त्वका तलाउबाट नयाँ शुद्ध घडामा पवित्र जल ल्याएर मन्दिर परिसरमा पुर्‍याउनेछन्।

सामान्यतया नवरात्र प्रतिपदादेखि नवमीसम्म नौ दिन हुने भए पनि यसपालि तिथिको घटबढका कारण १० दिनको परेको छ । मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गअनुसार आज सुरु भएको नवरात्र आगामी कात्तिक ३ गते मङ्गलबारसम्म रहनेछ । मिथिला क्षेत्रमा चाडपर्व, लग्न र मुहूर्त निर्धारण गर्न यी दुई पञ्चाङ्गको प्रयोग गर्ने चलन छ ।

पर्वका अवसरमा विभिन्न स्थानमा निर्माण गरिएका देवी प्रतिमास्थलमा पनि आज कलशयात्रासहित घटस्थापना गरिँदै छ । मन्दिरमा जौ, तिल, गहुँ, धान र मकैको जमरा राख्ने तयारी छ । महोत्तरीमा ४० स्थानमा दुर्गा मेला आयोजना गरिएका छन् । तीमध्ये सोनामाई, जलेश्वर, मटिहानी, रामगोपालपुर, गौशाला र सीतापुरबजारका मेला विशेष मानिन्छन् ।

मधेस प्रदेशका मिथिला क्षेत्रमा महोत्तरीका पञ्चधुरा माई र सोनामाई, सप्तरीका सकरा भगवती, कङ्कालिनी माई र छिन्नमस्ता, जनकपुरको राजदेवी मन्दिर तथा बाराको गढीमाई मन्दिर प्रसिद्ध शक्तिपीठका रूपमा पूजित छन् ।

मैथिल हिन्दू परम्परामा घरघरमा देवी दुर्गाको पूजाअर्चना र चण्डी पाठ गर्ने चलन छ । दशहरा सुरु भएसँगै महोत्तरीका गाउँ तथा नगरमा युवापुस्ता लिङ्गे पिङ गाड्ने तयारीमा जुटेका छन् । बस्तीबस्तीमा देवी दुर्गाका प्रतिमा बनाएर दुर्गा मेला आयोजना गरिँदै छ ।

नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुश्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ । प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको पूजाआजा नवमीसम्म चल्छ । दशमीका दिन देवीको पूजन विसर्जन गरी प्रसादस्वरूप जमरा लगाएपछि मैथिल परम्पराको शारदीय नवरात्र सम्पन्न हुन्छ।

पर्वका अवसरमा महोत्तरीमा सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्ला सुरक्षा समितिले एकीकृत सुरक्षा योजना लागू गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित एक हजार ३३१ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

असत्यमाथि सत्यको विजयको प्रतीक मानिने यस पर्वका क्रममा देवी दुर्गाले चण्ड–मुण्ड, शुम्भ–निशुम्भ र महिषासुरलगायत राक्षसको संहार गरेको देवीभागवतमा उल्लेख छ । नवरात्रमा देवी दुर्गाको उपासना गर्दा मन, वचन र कर्ममा शुद्धता आउने तथा सत्कर्म, सद्विचार र सदाचारमा प्रवृत्त हुने धार्मिक विश्वास छ। रासस





Comments

comments

141386