गोरखा । बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ।
आइतबार चुमनुब्री गाउँपालिका(६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटक समस्यामा परेका थिए।
ती सबै पर्यटक सुरक्षित अवस्थामा रहेका एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए। उनका अनुसार मनास्लु क्षेत्रको प्रवेश विन्दुमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरू पनि सुरक्षित छन्। आयोजनाका अनुसार बाढीले मनास्लु पदमार्गमा भने क्षति पुर्याएको छ।
एमक्यापले हाल चुमउपत्यकाको पदयात्रा अस्थायी रूपमा स्थगित गरिएको जनाएको छ । चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलाबाट चुमनुब्रीको जगतसम्मको बाटोका अधिकांश स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी ओझाले बताए।
सामागाउँ जान चाहने पदयात्रीले भने हेलिकप्टरबाट सिधैँ फिलिमसम्म जान सक्ने विकल्प रहेको उनले जानकारी दिए । ओझाका अनुसार फिलिमबाट लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलाबाट जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ। रासस


