न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, ३० अक्टोबर। हङकङका मुख्य कार्यकारी जोन ली र अन्य शीर्ष मन्त्रीहरूले ताई पोस्थित वाङ फुक कोर्टमा भएको विनाशकारी आगलागीको घटनाप्रति बिहीबार औपचारिक रूपमा माफी मागेका छन्।
दुई घण्टा लामो पत्रकार सम्मेलनको सुरुवातमा मुख्य कार्यकारी ली र सात जना उच्च अधिकारीहरूले शिर झुकाएर जनता र पीडित परिवारसँग माफी मागेका हुन्।
उक्त घातक आगलागी घटनाको राजनीतिक जिम्मेवारी लिँदै आवास सचिव विन्नी होले आफ्नो पदबाट राजीनामा दिएकी छन्, जसलाई मुख्य कार्यकारी लीले स्वीकृत गरिसकेका छन्।
सरकारले भवन मर्मत सम्भार कार्यमा हुने ठेक्का मिलेमतो (बिड-रिगिङ) विरुद्ध लड्न र नियामक ढाँचा तथा सहयोगी सेवाहरूमा सुधार गर्न सातवटा क्षेत्रमा व्यापक सुधार गर्ने प्रतिबद्धता जनाएको छ।
यस सुधार प्रक्रिया अन्तर्गत सरकारले ६ वटा कानुनहरूमा संशोधन गर्ने निर्णय गरेको छ।
हङकङ सरकारले बिहीबार सार्वजनिक गरेका यी सुधारका कदमहरूलाई बेइजिङ (चीन सरकार) ले स्वागत गर्दै समस्याहरूलाई दृढताका साथ समाधान गर्ने ली र उनको टोलीको तत्परताको प्रशंसा गरेको छ।
गत २६ नोभेम्बर २०२५ मा भएको आगलागीको घटनामा १६८ जनाको ज्यान गएको थियो भने ७९ जना घाइते भएका थिए।


