अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि सुराकीको काम गर्दै आएका एकजना सर्वसाधारणबाट करौडौं ठगेको आरोपमा पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले ठगी आरोपमा फरार रहेका वीरगञ्ज–१३ का मुञ्चुनप्रसाद बर्मालाई मंगलबार पक्रेको खबर नागरिक दैनिकले छापेको छ।
प्रहरीका अनुसार बर्माले प्रमुख आयुक्त लोकमानसिंह कार्की र आयोगसँगको निकटता देखाउदै वीरगञ्ज, काठमाडौं र ललितपुरका सर्वसाधारणबाट करौडौं रकम उठाएका हुन । बर्माले सुरुवातमा संचालक रहेको जावलाखेल पेट्रोल पम्प सहित अन्य ब्यवसाय देखाउदै ब्यवसायी र सर्वसाधारणसँग निकटता बढाउने गरेका थिए । बर्मालाई विश्वास गरेर रकम दिने र उनैले खाली चेकमा नाम भरेर रकम निकालेको जाहेरी परिसरमा परेको हो । परिसरका अनुसार वीरगञ्जमा आठकरोड, ललितपुरमा दुई करोड र काठमाडौंमा तीन करोड बर्माले ठगी गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
‘मान्छेलाई विभिन्न प्रभाव देखाएर विश्वासमा लिने र ठगीगर्ने गरेको देखियो, थप अनुसन्धानका लागि म्याद लिएका छौ,’ परिसर प्रमुख एसएसपी विक्रमसिंह थापाले भने । उनका अनुसार बर्मा लागुऔषध र नक्कली भारतीय नोटको कारोबारमा समेत पक्राउ परि सजाय भुक्तान गरेका अभियुक्त हुन ।
परिसरले बर्मा पुनः नक्कली भारतीय नोट र लागुऔषधको कारोबारमा संलग्न रहेको आशंकामा समेत अनुसन्धान सुरु गरेको छ । ‘बर्माको पुरानो र नयाँ दुबै सम्पर्क ब्यक्ती र सम्बन्ध केलाउदै छौ, ठगी बाहेक अन्य अपराधमा संलग्न भएको आशंका समेत छ,’ थापाले थपे।