मनिपाल आन्दोलन: विद्यार्थीको मर्का बुझ्ने कसले?

अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, २७ कात्तिक
प्रशासनलाई भन्यो शिक्षकको दोष भन्छ, शिक्षकलाई भन्यो प्रशासनलाई देखाउँछन् । ३ महिना हुन लाग्यो मनिपाल मेडिकल कलेजका २ सेमेस्टरका एमबिबिएस विद्यार्थी कक्षा कोठामा छिर्न पाएका छैनन् । आन्दोलनमा उत्रने अनि पत्रकार सम्मेलन गरेर समस्या सार्वजनिक गर्न विद्यार्थीलाई मन छ । यी दुवै कुरा उनीहरु गर्न सक्दैनन् । कारण हो, शिक्षक र प्रशासकले नम्बर तलमाथि पारिदिए फेल भइन्छ कि भन्ने पीर । त्यही भएर उनीहरु नाम भन्न चाहाँदैनन्।

‘हामीले पढ्न पाउनु पर्यो’ भनेर अधिकार माग्ने मनिपाल मेडिकल कलेजका विद्यार्थीको सुनवाई कही कतैबाट भएको छैन । ‘हामीले कलेज प्रशासन र अन्दोलनरत शिक्षकसँग कुरा गर्दा एक अर्कालाई दोष मात्र दिन्छन पढाइ सञ्चालन गर्ने कुनै गर्दैन्न्,’ एक विद्यार्थीले भने, ‘जिल्ला प्रसाशन, क्षेत्रीय कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयसम्म कुरा पुर्याएका छौं तर सुनुवाइ भएन।’

अन्य शैक्षिक क्षेत्रमा भने विद्यार्थीले आन्दोलन गरेर हैरान पर्ने परिपाटी रहेको यो देशमा विद्यार्थीले पढ्न पाउँ भनेर विलौना गर्दा समेत वातावरण नमिलाउनु प्रशासनको गल्ती रहेको एक विद्यार्थीले बताए । ‘हामीले पढाइएको लागि कलेज प्रशासानलाई रकम तिरेका हौ,’ विद्यार्थीले भने, ‘प्रशासनको आन्तरिक कम कमजोरीको हामीलाई मतलब छैन, हामीलाई मात्र पीर छ त हाम्रो पढाइको।’

शिक्षाहरुले गरेको आन्दोलनले विशेष गरि सातौं र नवौं सेमेस्टरका विद्यार्थी धेरै चिन्ति छन् । ‘अन्य सेमेस्टरको परिक्षा भएको कारण त्यति असर गर्दैन,’ सातौं सेमेस्टरका एक विद्यार्थीले भने, ‘यही चाल हो भने हाम्रो एक सेमेस्टर पूरै बिग्रिन्छ।’

भदौ ७ गतेदेखि सुरु भएको बन्दले नेपाली विद्यार्थी मात्र नभएर भारत, मालदिम्भ र श्रीलंकाबाट समेत गरी एमबिबिएसका ३ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ । पढ्न आएका विद्यार्थी यस्तो अवस्था देखेर निकै चिन्तित छन् । ‘मनिपालमा अन्य सानो समस्या पर्दा त प्रशासनले सयौं प्रहरी डाकेर काम गर्छ,’ एक विद्यार्थीले आक्रोश व्यक्त गरे, ‘शिक्षकहरुको माग नाजायज हो भने उनीहरुलाई पन्छाएर पढाइ सुरु गर्ने मिल्दैन?’

प्रशासनकै गैरजिम्मेवारी देखिएको एक विद्यार्थीले बताए । नवौं सेमेस्टरका एक विद्यार्थीले भने, ‘कि शिक्षकको माग सम्बाधन गर्न सक्नुपर्यो हैन भने नियम अनुसार कारवाही गर्न सक्नुप¥यो, मिलाउने जिम्मा कलेज प्रशासनकै हो।’

करारमा रहेका चिकित्सकलाई स्थायी बनाउनुपर्ने, समयसापेक्ष तलब वृद्धि गर्नुपर्ने र सट्टा बिदाको व्यवस्था गर्नुपर्ने आन्दोलनरत चिकित्सकको माग रहेको प्राध्यापनमा संलग्न डा. दीपकप्रसाद कोइरालाले बताए । ‘मनिपाल प्रशासनले माग पूरा गर्ने त परै जाओस आन्दोलनरत चिकित्सकहरुसँग वार्ता गर्न समेत मानेको छैन,’ उनले भने, ‘वार्तामा बस्ने वातावरण मिलाउने जिम्मा प्रशासनको हो तर एक पटक पनि पहल भएको छैन् ।’
काठमाडौं विश्वविद्यालयले पटक पटक कर्मचारी विनियमावली बनाउन सुझाए पनि कलेज प्रशासनले त्यसमा चासो नदिएको हुनाले बेला बेलामा यस्तो समस्या आउने गरेको डा कोइराला बताउछन् । ‘जब यस्तो कुरामा प्रशासनलाईनै चासो छैन भने कसरी चल्छ ?’ उनले भने, ‘हामीलाई नेपाल सरकारले लागु गरेको नियम अनुसार प्रशासनले काम गरे पुग्छ।’

मनिपाल मेडिकल कलेजका डिन बिएम नागपालले शिक्षकहरुको पहिलो मागमात्र पूरा गर्न सक्ने बताए । ‘मैले पटक–पटक भन्दै आएको छु उहाँहरुको तलव सुविधामा हामी केही विचार गर्न सक्छौ,’ उनले भने, ‘अन्य माग भने पूरा गर्न सक्दैनौ ।’ जसरी हुन्छ छिटै पढाइ संचालन गर्ने डिन नागपालले बताए । ‘अबको केही दिनमा जे गरेर हुन्छ पढाइ सुरु हुन्छ,’ उनले भने, ‘जहाँसम्म विद्यार्थीको एक सेमेस्टरनै रद्द हुने चिन्ता छ, त्यो म हुन दिन्न्।’

दुवै पक्षलाईसँगै राखेर शुक्रबार अभिभावकले कुरा गर्दा समेत कुनै टुंगो लागेन । ‘दुवै पक्षले आफ्नो लचकता नअपनाउँदा विद्यार्थीको भविष्य नै अन्योलमा पर्ने भयो,’ मनिपालमा भेटिएका एक अभिभावकले चिन्ता व्यक्त गरे, ‘साँढेको जुधाइ बाच्छाको मिचाइ भयो।’

विद्यार्थीको पढाइको जिम्मा प्रशासनलेनै लिनु पर्ने उनीहरुको भनाइ थियो । ‘हामीले शिक्षकसँग आएर विद्यार्थी भर्ना गरेका हैनौ,’ उनले भने, ‘शुल्क तिर्न कलेजलाई अब आन्दोलन होस या जे होस यसको समाधान सुल्झाउने जिम्मा पनि प्रशासनकै हो।’





Comments

comments

Leave a Reply

14990