पोखरामा ‘राइट अफ वे क्लियरेन्स’ : यसरी चल्न थाल्यो डोजर…

चाक्लिँदै राजमार्गः विजयपुरबाट पृथ्वीचोकसम्म सौन्दर्यकरण पनि गरिने
अर्जुन गिरी / एचकेनेपाल डट कम –
पोखरा, ६ मंसिर। विजयपुर पुल पुग्नुअघि ओरालोनिर एउटा खरले छाएको प्रतीक्षालय थियो । चाउथे चोकको देब्रेपट्टिरहेको त्यो प्रतीक्षालयको आयु शुक्रबार सकियो । पोखरा उपमहानगपालिकाले पृथ्वीराजमार्गको दायाँबाँया मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामग्री हटाउने अभियान ‘राइट अफ वे क्लियरेन्स’ अन्तर्गत त्यो प्रतीक्षालय पनि हटायो । त्यही विषयलाई लिएर स्थानीय कुरा गर्दै थिए।

खैरो पाइट,निलो सर्ट अनि ढाकाको टोली लगाएका एक वृद्धले भने, ‘त्यो प्रतीक्षालयत नहटाएको भए हुन्थ्यो।’उनलाई प्रतीक्षालयप्रति मोह हुनु स्वभाविकै थियो किन भने साँझाविहान जमघट भई गफिने ‘जक्सन’ जो थियो । ‘हो त अरु ठाउँको पनि हटाउनु पर्यो नि?’ अर्का एक जुंगे वृद्धले भने । उनीहरुले व्यक्त गरेको गुनासो सुन्दा नगरपालिकाले गल्तीनै गरेको जस्तो लाग्थ्यो । ५–६ जना गफिएका टोलीमा कोट लगाएका एकले भने, ‘यहाँको मात्र होइन कोत्रेदेखि पृथ्वीचोकसम्म सबै भत्काउँछन्।’

‘हो र, सबै ठाउँमा रहेको बस कुर्ने प्रतीक्षालय पनि भत्काउने भए छन् त ?’ फेरि जुंगे वृद्धले थपे । तर त्यसको उत्तर न कोट लगाउनेसँग थियो न त त्यहाँ रहेका अन्यसँग। जनकल्याणका लागि नगरपालिकासँग स्वीकृत लिएर बनाइएका प्रतीक्षालय नभत्काइएको पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बताए । ‘जुन सरकारी स्वामित्वमा छ, त्यो आवश्यक परेका खण्डमा जति बेला पनि भत्काउन सकिन्छ,’ उनले भने, ‘हाम्रो उद्देश्य पनि त्यही हो, कुनै पनि व्यक्ति वा संघसंस्थाले जग्गा अतिक्रमण गर्न नपाऊन् ।’ पछिल्लो समय सडक मापदण्डभित्र मनपरि ढङ्गले संरचना बन्न थालेको कार्यकारी अधिकृत ढुंगानाले बताए । ‘सरकारी स्वामित्वको जग्गा नियन्त्रणमा लिने काम गरेको हांै,’ उनले भने, ‘सडक विभागले यो क्षेत्रमा ४ लेनको बाटो बनाउने भनेको छ ।’ त्यतिमात्र होइन पोखरा प्रवेशद्वारमा हरियाली बनाएर सौन्दर्यकरण गर्ने योजनासमेत रहेको उनले बताए । ‘लेखनाथ र पोखरालाई राम्रो बनाउने जिम्मा हाम्रो हो,’ उनले भने, ‘हामी मात्र लागेर हुँदैन सबै क्षेत्रकाले सहयोग गर्नुपर्छ।’

मंसिर ३ गतेदेखि नगरपालिकाले यो अभियान सुरु गरेको हो । अभियान नगरपालिकाले आइतबार जारी राख्यो । ‘यो त गर्नै पर्ने काम हो,’ औद्योगिक क्षेत्र वरपर डोजर चलेको हेर्न आएका रमेश थापाले भने, ‘सार्वजनिक जग्गामा व्यक्तिगत गोदाम जस्तो बनाएका थिए, हटाउनै पथ्र्यौ ।’ उनले नगरपालिकाले ढिलो गरेपनि प्रसंशनीय काम गरेको बताए । ‘स्वागतयोग्य काम हो,’ उनले भने, ‘नगरपालिकालाई स्थानीयले सहयोग गर्नुपर्ने ठाउँमा उल्टो गुनासो गर्नेलाई पनि कारबाही गर्नुपर्छ।’

कार्यकारी अधिकृत ढुंगानाले पोखरा आउनेबित्तिकै यस अभियानलाई तत्काल सुरु गर्न खोजेका थिए । नगरपालिकाले कात्तिक १९ गतेभित्र त्यस्ता सामग्री हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । तर काम हुन सकेन । फेरि उप–महानगरपालिकाले कात्तिक २५ गतेसम्मका लागि भन्दै अर्को सूचना जारी तर काम कारबाही अघि बढेन । त्यसपछि अन्तिमपटकका लागि भन्दै मंसिर २ गतेसम्मको समयसीमा तोकेको थियो ।
पटक–पकट मिति तोक्दा पनि कसैले टेरेनन् । ‘पहिलोपटक मिति सरेपछि अब नगरपालिकाले हटाउन सक्दैन भन्ने भ्रम थियो,’ स्थानीय काजीमान गुरुङले भने, ‘अखिरमा हटाइछाड्यो ।’ तोकिएको समय भन्दा ढिलै भए पनि काम सुरु भएकोमा गुरुङले खुसी व्यक्त गरे । ‘जग्गा माफियाले पायो भने सडक पनि कुम्लाउँछन्,’ उनले भने, ‘एक दुईजना सन्तुष्ट नभएर केही हँुदैन नगरपालिकाले गरेको यो कामले सम्पूर्ण पोखरेलीको भलो छ ।’

यसअघि मंसिर ३ गते नगरपालिकाले चाउथे क्षेत्रका टहरा, निर्माण सामग्री तथा होर्डिङ बोर्ड हटाइएको थियो । आइतबार चाउथे चोकदेखि औद्योगिक क्षेत्रमा अभियान जारी राख्यो।

पहिलो चरणमा पोखरा उपमहानगरपालिकाले विजयपुर पुलदेखि पृथ्वीचोकसम्म सडकको दायाँबायाँ मापदण्डभित्रका अस्थायी संरचना तथा निर्माण सामग्री हटाउन डोजर चलाए चलाउने छ । पोखरामा काम सम्पन्न भएपछि लेखनाथमा पनि सुरु गर्ने कार्याकारी अघिकृत ढुंगानाले बताए । ‘पहिलो पोखरामा काम सक्छांै, त्यसपछि बल्ला लेखनाथतिर हुन्छ,’ उनले भने, ‘लेखनाथतिर समन्वय हुंदैछ।’

नगरपालिकाले पोखरा उपत्यका नगर विकास समिति, डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सडक मापदण्ड कार्यान्वयन अगाडि बढाएको हो । राज मार्गको सकड बीच भागलाई केन्द्र बिन्दु बनाई दायाँबायाँ ७५ फिट मापदण्डभित्र परेका अस्थायी संरचना, निर्माण सामग्री लगायत अन्य सामग्रीहरु हटाएको हो । मापदण्ड अनुसार सडक १ सय ५० फिटको मापदण्डभित्र पर्ने छ।





Comments

comments

Leave a Reply

15116