मलमूत्र खुवाइएकी लक्ष्मीको ५ दिनसम्म पनि भएन पोस्टमार्टम, प्रहरी इन्चार्ज फेरिए, श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा…

दलित महिलालाई मलमूत्र खुवाएर कुटपिट गरेको घटनामा मिलापत्र गराउने प्रहरी इन्चार्ज जिल्ला तानिएका छन् । घटनाको विषयमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयले समेत गम्भीरताका साथ अनुसन्धान गर्न प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको थियो ।

काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाका अनुसार प्रहरी चौकी चौबासका इन्चार्ज असइ प्रेमपुकार चौधरीलाई जिल्ला तानिएको छ भने बुधबारदेखि नयाँ इन्चार्ज पठाइनेछ । स्थानीय शिक्षकको नेतृत्वमा विद्यालयको पोलमा बाँधेर कुटपिट गरी दिसा खुवाएको तेस्रो दिन प्रहरीले मिलापत्र गराएको थियो, चौथो दिन महिलाको मृत्यु भएको थियो।

पाँच दिनसम्म पनि भएन पोस्टमार्टम नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै चिर्पटले हानेर घाइते बनाइएकी काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको मृत्यु भएको पाँच दिन बित्दा पनि पोस्टमार्टम भएको छैन । शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमनपछि मात्र पोस्टमार्टम गर्न आग्रह गरेकाले रोकिएको प्रहरीले जनाएको छ । आयोगले सोमबार तथा दलित आयोगले मंगलबार घटनास्थलमा पुगी अनुसन्धान अघि बढाएका छन् । बुधबार पोस्टमार्टम गर्न लागिएको छ।

….
….

श्रीमानसहित चारविरुद्ध ज्यान मुद्दा

काभ्रे सानो बाङथलीकी लक्ष्मी परियारको हत्या आरोपमा प्रहरीले उनका श्रीमान्सहित चारजनाविरुद्ध ज्यान मुद्दा अघि बढाएको छ । बोक्सीको आरोप लगाउँदै स्कुलको पोलमा बाँधेर मानव मलमूत्र खुवाउँदै कुटपिट गर्ने स्थानीय शिक्षक हीरा लामा, उनकी आमा काइँलीमाया लामा, सोही गाउँकी निरमाया तामाङ र लक्ष्मीका श्रीमान् मिलनलाई अदालतमा पेस गरी थुनामा राख्ने म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

स्थानीय महिला निरमायाले लक्ष्मीलाई बाँध्न डोरी दिँदै हीरा लामालाई सहयोग गरेकी थिइन् । मिलनले आफूले श्रीमतीलाई कुटेको स्विकारेका छन् । हत्यामा चारजनाको संलग्नता पुष्टि भएकाले उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा थुनामा राखी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुल थापाले बताए।

बोक्सीको आरोपमा लक्ष्मीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीमा प्रदर्शन भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। माइतीघर मण्डलामा युवा–युवतीहरूले प्लेकार्ड बोकेर कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । युथ एड्भोकेसी नेपाल नामक संस्थाको अगुवाइमा भएको प्रदर्शनमा बोक्सी आरोपमा मलमूत्र खुवाएको घटनामा मिलापत्र गर्ने प्रहरीलाई समेत कारबाहीको माग गरिएको छ । ‘जातीय छुवाछुत अन्त्य गरौँ’, ‘बोक्सीको आरोप लगाउनु अपराध हो’, ‘पीडितलाई क्षतिपूर्ति प्रदान गर’ जस्ता नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका हुन्।





Comments

comments

Leave a Reply

15427