एनआरएन यूकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठ कतारमा पक्राउ

कतारमा स्थापित नेपाली व्यवसायी अशोक श्रेष्ठलाई चेक बाउन्सको मुद्दामा प्रहरीले पक्राउ गरेको छ।

उनलाई ‘क्यापिटल पुलिस’ को थुनामा राखिएको छ । दुबईबाट फर्किने क्रममा उनलाई हमाद विमानस्थलबाट पक्राउ गरिएको हो । कतारमा उनले सञ्चालन गर्दै आएको ‘कतार मेड सर्भिस कम्पनी’ क्लिनिङको क्षेत्रमा स्थापित छ।

झन्डै एक दशकदेखि व्यवसायी गदै आएका श्रेष्ठले चार वर्षदेखि कतार एयरवेजलाई नेपालीसहित दक्षिण एसियाबाट कामदार पठाउँदै आएका थिए । उनले ‘स्टाफ सोर्स इन्टरनेशन’ मार्फत कतार एयरवेजलाई कामदार आपुर्ति गर्थे । त्यस वापत एयरवेजले प्रति कामदारको कमिसन दिने गर्छ ।

श्रोतका अनुसार एक कतारीलाई दिएको चेक बाउन्स भएपछि उनले प्रहरीमा उजुरी दिएका थिए । कतार मेड सर्भिसमा नेपाली र फिलिपिनो गरी दुई सयभन्दा बढी क्लिनर महिला कामदार छन् । उनीहरुलाई कतारी, वेलायती लगायतका घरमा सफाई गर्न पठाउने गरिन्छ । कम्पनीले एक घण्टा बापत ५० रियाल (करिव १५ सय रुपैयाँ) लिने गरेको छ।

नेपाल पर्यटन बोर्डबाट सद्भावना पर्यटन दूतसमेत रहेका श्रेष्ठको कम्पनीविरुद्ध १० महिनाअघि विवाहित नेपाली महिला सृजना श्रेष्ठले हालेको मुद्दा उच्च अदालतमा चलिरहेको छ । उनलाई गर्भवती भएको भन्दै कम्पनीले निष्कासन गरेपछि उनी क्षतिपुर्ति माग्दै अदालत पुगेकी हुन् । उनी आफ्नो शिशु र श्रीमान्सँग कतारमै बसिरहेकी छन्।

श्रेष्ठ पक्राउ भएपछि स्पोन्सरले दुवै कम्पनी नियन्त्रणमा लिएका छन् । उनका ठाउँमा एक स्पेनी नागरीकलाई जिम्मा दिइएको छ । कतारमा कार्यरत नेपाली ब्यबसायीहरुका अनुसार स्पोन्सरसँग आर्थिक लेनदेनसम्बन्धी विवादबाट समस्या सिर्जना भएको हो । श्रेष्ठको परिवारले यसबारे केही बताएको छैन । चेकमा उल्लेख भएको रकम बुझाएर उनी बाहिर निस्कने प्रयासमा छन्।

बेलायती राहदानी बोकेको हुनाले यस प्रकरणलाई नेपाली दूतावासले हेरेको छैन । श्रेष्ठ कतारमा आउँदा बेलायतमा होटल व्यवसायी थिए । उनी हङकङबाट वेलायत गएका थिए। कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

17677