गणतन्त्र स्थापनासँगै कलाकारहरूमा राजनीति मोह बढ्दै गएको छ । पछिल्ला १० वर्षमा सयौँ नाम चलेका कलाकार विभिन्न दलमा आबद्ध भए । कलाकारिता क्षेत्रमा नाम र दाम कमाएका कलाकारको आगमनले एकताका दलहरूभित्र तरंग नै ल्यायो । तर, सक्रिय राजनीतिमा उत्रिएका कलाकार पार्टीभित्र स्थापित हुन सकेका छैनन्।
भूमिका र सफलता नपाएपछि नेता कलाकार पनि निराश नै छन् । केहीले त पटक–पटक पार्टी परिवर्तन पनि गरिरहेका छन् । कलाकारिताबाट देशको समृद्धि सम्भव नभएकाले राजनीतिमा उत्रिएको बताउने कलाकार राजनीतिमा आखिर किन जम्न सकेनन् ? माओवादीमा आबद्ध भएर स्थानीय निर्वाचनअघि राप्रपा प्रवेश गरेकी रेखा थापा भन्छिन्, ‘म देशको सेवा गर्न राजनीतिमा आएकी हुँ । तर, हाम्रो आवाज र एजेन्डालाई दबाउन खोजियो । त्यसकारण कलाकारले आफ्ना एजेन्डा स्थापित गर्न सकेका छैनन् ।’ उनी अहिले राप्रपाको केन्द्रीय सदस्य छिन् ।
थापा मात्र होइन, एमालेमा प्रवेश गरेर एकाएक चर्चा कमाएका नायक भुवन केसी पनि राजनीतिबाट पीडित छन् । दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१ बाट टिकट उम्मेदवार बनाउने आश्वासन पाएका केसीको नाम अन्तिममा काटियो । एमालेले टिकट नदिने भएपछि भुवन तत्कालीन राप्रपा नेपालमा जाने मनस्थितिमा पुगेका थिए । यसको सुइँको पाएपछि उनलाई पार्टीमै रोक्न वरिष्ठ नेता माधव नेपालको पहलमा नायक भुवनलाई टिकट दिने लगभग पक्का भयो । टिकट पाएपछि भुवन पनि निकै खुसी थिए । मिडियामा उनले तीन करोड नेपालीको साथ पाएको बताउँदै हिँड्नसमेत भ्याए । तर, रातारात पार्टीभित्रैका नेताको दबाबमा उनको टिकट खोसियो । भुवन जिल्ल परे। नयाँपत्रिकामा खबर छ।
प्रधानमन्त्री बन्न राजनीतिमा आएकी हुँ
कोमल वली, गायिका तथा राप्रापा नेतृ
राजनीति भनेको रुचिको कुरा हो । आत्मसन्तुष्टि र सेवा गर्ने इच्छाशक्ति भएका जुनसुकै क्षेत्रका मान्छे पनि राजनीतिमा आउन सक्छ । म जनताको सेवा गर्न राजनीतिमा आएकी हुँ । चर्चाका लागि राजनीतिमा आएकी होइन, किनकि म यत्तिकै चर्चित छु । राजनीतिमा लागेपछि मन्त्री, प्रधानमन्त्री हुने इच्छा त हुन्छ नै । जसरी कर्मचारीलाई सचिव, मुख्यसचिव बन्ने चाहना हुन्छ । मन्त्री, प्रधानमन्त्री बनेरै देशको सेवा गर्न राजनीति सुरु गरेकी छु ।
कलाकारितालाई देखाउने दाँत बनाएर आउने पनि छन्
चेतन सापकोटा, संगीतकार
कलाकारितालाई देखाउने दाँत बनाएर राजनीतिमा आउने धेरै छन् । यस्ताले राजनीतिक स्वार्थपूर्तिका लागि राजनीति गरेका हुन्छन् । यहाँ क्षणिक स्वार्थका लागि राजनीतिमा लाग्ने र स्वार्थ पूरा नभएपछि पेसा परिवर्तन गर्ने प्रचलन धेरै छ । मिडियामा छाउन पार्टी परिवर्तन गर्ने पनि छन् । कलाकार राजनीतिमा आइसकेपछि उसले कलाकारिता क्षेत्रको परिवर्तनका लागि आवाज उठाउनुपर्छ ।
दलहरूले प्रयोग मात्र गरे
बद्री पंगेनी, लोकदोहोरी गायक
कलाकार मात्र होइन, सबैमा राजनीतिक चेत हुन जरुरी छ । म सांसद मन्त्री हुन्छु भनेर राजनीतिमा आएको होइन । राजनीति बुझ्न आएको हुँ । नेपाली कलाकारले राजनीतिमा आउन ढिला गरेर गल्ती गरेका छन् । तर, दुःखद कुरा अहिले पनि धेरै कलाकारलाई राजनीतिक दलले प्रयोग मात्र गरेका छन् ।
विकास र निकासका लागि राजनीतिमा लागेँ
राधिका हमाल, लोकगायिका
हामी व्यक्तिले केही गर्न सक्दैनौँ । विकास गर्न र राष्ट्रको सेवा गर्न राजनीतिमा आउनु जरुरी छ । सोचविचार गरी बुझेर राम्रो मान्छे राजनीतिमा आउँदा केही फरक पर्दैन । म राजनीतिमा भएँ भने गाउँलेले सीधै आफ्नो समस्या मसँग राख्न सक्छन् । मैले उनीहरूको समस्या सुल्झाउन भूमिका खेल्न सक्छु । राजनीतिविना विकास र निकास नहुने भएकाले पनि म राजनीतिमा लागेकी हुँ । कलाकारिता र राजनीतिलाई उही रफ्तारमा अगाडि बढाउने योजना छ ।
स्थापित नेतृ बन्छु
रेखा थापा, नायिका तथा नेतृ, राप्रपा
कलाकारिता क्षेत्रमा लाग्दा नेपालको नम्बर १ नायिका हुन्छु भन्ने सोचेकी थिइनँ । तर, समय र परिस्थितिले मलाई त्यहाँसम्म डो¥यायो । म राजनीतिमा आएको धेरै लामो समय भएको छैन । संघर्ष गर्दै छु, कलाकारितामा स्थापित हुन गरेकोजस्तै मिहिनेत यता पनि गर्दै छु ।
कलाकारिताबाट समाजको चेतनास्तर मात्र वृद्धि गर्न सकिन्छ, तर समाज परिवर्तन गर्न कठिन छ । समाजमा विभिन्न समस्या, जटिलतासँग लड्दै जनतालाई कानुनी राज्यको अनुभूति दिलाउन र जनताका समस्या समाधान संवोधन गर्न मैले राजनीतिक यात्रा तय गरेकी हुँ । मलाई थाहा छ यो यात्रा सहज छैन । हिजो म कलाकारितामा रहँदा पनि मभन्दा धेरै सिनियर, कहलिएका, परिचित व्यक्ति त्यहाँ थिए । आज म त्यो स्थानमा पुग्न सफल भएकी छु र कलाकारिताको विकासका लागि आफ्नो स्थानबाट सक्दो गरिरहेकी छु ।
कलाकार राजनीतिमा फस्नुहुँदैन
पुरुषोत्तम दाहाल
राजनीतिक विश्लेषक
राजनीति भनेको राज्यको मूल नीति हो, अरू राज्यका अवयव हुन् । त्यसैले राज्य र राजनीतिप्रति राज्यका हरेक सदस्यको रुचि हुन्छ । यसमा कलाकार पनि आकर्षित हुनु आवश्यक छ । कलाकारितामा सफल भएर राजनीतिमा जानैपर्छ भन्ने पनि हुँदैन । उहाँहरूले कलाकारिता पेसालाई नै अझ उचाइमा पु¥याएको भए राम्रो हुन्थ्यो । किनकि कलाकारितामा सफल भएकाले राजनीतिमा पनि सफलता हात पार्छन् भन्ने हुँदैन । नेपालको राजनीति सफा छैन । त्यसमै पौडी खेल्न थाल्ने हो भने केही काम छैन । उहाँहरू राजनीतिको फोहोरी खेलमा नलागेर राजनीतिक संस्कार र सभ्यताको विकास गराउन सक्नुहुन्छ।
राजनीति कलाकारिताजस्तो सजिलो छैन
राजेश हमाल
अभिनेता
राष्ट्रको कुनै पनि नागरिकलाई राजनीतिमा लाग्ने र गर्ने अधिकार हुन्छ । त्यसैअनुरूप कलाकार राजनीतिमा लागेका छन्, यो कुनै नौलो कुरा भएन । तर, कला क्षेत्रमा लागेर सेलेब्रिटी भएकाले म ‘पब्लिक फिगर’ भएकै कारण राजनीति गर्न सक्षम छु भन्न मिल्दैन । यदि कसैले त्यस्तो सोचेर राजनीति गरेको छ भने त्यो नितान्त गलत सोच हो । राष्ट्रको राजनीतिक गहिराइमा पुगेर, देश र जनताको समस्या र समाधानको उपाय पहिचान गरेर, देश, समाज र परिवेशको गहन अध्ययन गरेर मात्र राजनीतिमा लाग्दा ऊ सफल हुन सक्छ । किनकि राजनीति भनेको कलाकारिताजत्तिकै सहज पेसा होइन।