एटिएमबाट पैसा चोर्न विदेशी ह्याकर किन नेपाल आउंछन् ?

एटिएमबाट पैसा चोर्न विदेशी ह्याकर किन नेपाल आउंछन् ?

गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो। पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत पैसा चोर्ने देशका रूपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो। तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटिएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन्। यो खबर नवराज मैनालीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

सिआइबीले ३० वर्षीय एकरेम ओरमान्चीलाई पक्राउ गरेको हो। नौ हजार सात सय १० अमेरिकन डलर, एक हजार दुई सय २५ युरो, ३३ हजार रुपैयाँसहित उनलाई ठमेलको रोयल पेन्गुइन होटेलबाट पक्राउ गरिएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन्। नक्कली एटिएम कार्डमार्फत नेपालमै निकालिएको पैसा बरामद भएको उनले बताइन्। ३४ वटा नक्कली एटिएम, कार्ड स्किमर मेसिन र ल्यापटपसहित प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एटिएमबाट पैसा निकाली डलर र युरो साटेका थिए।

नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरी उनले पटक–पटक नक्कली एटिएमबाट पैसा निकालेको सिआइबीले जनाएको छ। विदेशी नागरिकको विदेशी बैंकमा रहेको खाताबाट पैसा निकालिएको हो। भिसा तथा मास्टरकार्डहरू विश्वभरि चल्ने भएकाले नेपाल आएर उनीहरूले पैसा निकाल्ने गरेका हुन्।

२ वर्षमा १७ जना पक्राउ
पछिल्लो दुई वर्षमा सिआइबीले मात्र १५ जना विदेशीलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले एकजना बुल्गेरियन तथा अपराध महाशाखाले एक भारतीयलाई नक्कली एटिएमबाट पैसा निकालेको आरोपमा पक्राउ गरेको छ। सिआइबीले रोमानियन र बुल्गेरियन ४–४, तीनजना टर्किस तथा दुईजना भारतीयलाई पक्राउ गरिसकेको छ। विश्वभरि नै एटिएम ठगीमा टर्की, बुल्गेरिया तथा रोमानियाका नागरिकहरू कुख्यात छन्। जसको मुख्य नाइकेहरू भने टर्कीमा रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

कसरी हुन्छ ह्याकिङ ?
प्रहरीको अनुसन्धानअनुसार तीन तरिकाबाट एटिएम ह्याकिङ हुने गरेको छ। सबैभन्दा धेरै ह्याकिङ सपिङ मलहरूमा हुने गरेको छ। सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पिओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ।

त्यस्तै एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी हुने गरेको छ। उक्त डाटा खाली कार्डमा भरेर नक्कली एटिएम बनाई सोही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ। जुन अपराधको ट्रेन्ड पछिल्लो समय नेपालमा देखिएको छ।

नेपाल किन आए ह्याकर ?
बैंकहरूले सुरक्षामा लगानी गर्न हिच्किउँदा एटिएमप्रति सर्वसाधारणको विश्वास गुम्दै गएको छ। विश्वका धेरै देशमा ‘फेजआउट’ भइसकेको मेग्नेटिभी स्ट्रिप प्रविधिको कार्ड नेपालमा प्रचलन छ। सुरक्षाका कारण विश्वभरि युएमभी चिप प्रविधिको कार्डहरू प्रयोग भइरहेका छन्। तर, युएमभी चिप प्रविधिका कार्ड जारी गर्न धेरै खर्च लाग्ने भएकाले बैंकहरूले त्यसलाई प्राथमिकता दिन सकेका छैनन्। ह्याकरहरू सक्रिय भएपछि मात्र हाल बैंकहरूले चिप प्रविधिमा जोड दिएका छन्। चिप प्रविधिका एटिएम कार्ड ह्याक गर्न कठिन हुन्छ। नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंकहरूलाई चिप प्रविधिमा जान फेरि निर्देशन दिएको छ। मास्टरकार्ड र भिसाकार्डले पनि अबको ६ महिनाभित्र अनिवार्य रूपमा चिपकार्ड जारी गर्न डेडलाइन दिइसकेको छ। अर्काेतर्फ नेपालको सुरक्षा संयन्त्र कमजोर ठानेर पनि ह्याकरले नेपाललाई एटिएमबाट पैसा चोर्ने गन्तव्य बनाएको हुन सक्ने प्रहरी आशंका छ। पूर्वी युरोपियन देशका नागरिकहरू पटक–पटक नेपालमा पैसा चोरेर जाने गरेको खुलिसकेको छ। यसमा अन्तर्राष्ट्रिय गिरोह भएको र नेपाल आउनेहरू उक्त गिरोहका लागि काम गर्ने सामान्य व्यक्तिहरू मात्र भएको प्रहरी अधिकारीहरू बताउँछन्। यसबारे प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनसँग समेत समन्वय गरेर अनुसन्धान गरिरहेको नयाँ पत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

19593