यस्ता बन्दै छन् प्रदेश ४ (पोखरा) मा मन्त्रीनिवास

सिँगारिँदै मुख्यमन्त्रीको आवास
प्रदेश ४ का मुख्यमन्त्रीको निवास पोखरा ड्यामसाइडस्थित अतिथिगृह भवनमा तय गरिएको छ । चार रोपनी क्षेत्रफलमा रहेको पाँचकोठे भवनलाई रंगरोगन, मर्मतसम्भार, पानी, विद्युत् जडानलगायतका काम भइरहेका छन्।

आवास क्षेत्रभित्रै भान्साकोठा, बैठक हल र सुरक्षाकर्मी रहने कोठा निर्माण भइरहेको छ । भुइँमा मार्बल र टायल बिछ्याउने काम भइरहेको खबर नयाँपत्रिका दैनिकमा छ।

कास्कीका प्रजिअ तारानाथ अधिकारीले मुख्यमन्त्रीको निवासमा जनताको सहज पहुँच हुने गरी बैठकहल बनाउन लागिएको बताए ।

निवासमै मन्त्रिपरिषद्को बैठक बस्न सक्ने गरी आन्तरिक व्यवस्थापन भइरहेको छ । ०३५ मा बनेको यो भवनको मर्मतसम्भार तथा सजावटका लागि दैनिक २५ जना कामदार खटिएका छन् ।

पर्यटन भवनमा सभामुख–उपसभामुख
सभामुख र उपसभामुखको निवासका लागि पोखरा विमानस्थलअगाडि रहेको पर्यटन कार्यालयको भवन रोजिएको छ । डेढ वर्षअघि बनाइएको योे भवनमा जगेडाका फर्निचर राखिएका थिए । भवनको एउटा तलामा सभामुख र अर्को तलामा उपसभामुखको निवास बनाइँदै छ ।

रामघाटमा सामाजिक विकासमन्त्री निवास
सामाजिक विकासमन्त्रीको निवासका लागि रामघाटस्थित क्षेत्रीय स्वास्थ्य तालिम निर्देशनालयका निर्देशकले प्रयोग गरिरहेकै आवास भवनलाई रोजिएको छ । दुईतले यो भवनमा आठ कोठा छन् ।

तालिम केन्द्रले मन्त्रीको आवास राख्ने विषयमा पुनर्विचार गर्न व्यवस्थापन समितिलाई आग्रह गरेको छ । मन्त्रीनिवास हुँदा चहलपहल बढ्ने भएकोले निर्देशनालयका कामकाजमा असर पर्ने केन्द्रको गुनासो छ ।

मुख्य सचिव आफैँ सक्रिय
प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीहरूको निवासको व्यवस्थापनमा प्रमुख सचिव लक्ष्मण अर्याल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, सहरी विकास तथा भवन निर्माण विभाग, सहरी डिभिजन कार्यालयका निमित्त प्रमुख किशोरलाल महाजु खटिएका छन् ।

बाहिनीपतिको निवासमा कानुनमन्त्री
आन्तरिक मामिला तथा कानुनमन्त्री निवासका लागि पार्दीस्थित सशस्त्र प्रहरी बलको मुक्तिनाथ बाहिनीका बाहिनीपतिको निवासलाई छनोट गरिएको छ । टिनले छाएको एकतले यो भवनमा व्यवस्थापनको काम भइरहेको छ ।

सिँचाइ निर्देशनालयको आवासमा ४ मन्त्री
आर्थिक मामिला तथा योजनामन्त्री, भौतिक पूर्वाधार विकासमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका लागि एउटै ठाउँमा निवासको व्यवस्था गरिँदै छ ।

ड्यामसाइडनजिकै रहेको पश्चिमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयको आवासमै उनीहरूको निवास राख्ने तयारी भइरहेको छ । त्यहाँका नौवटा भवनमध्ये केहीलाई मर्मत गर्न थालिएको छ । चार मन्त्रीको निवास त्यहीँ राखिने प्रजिअ अधिकारीले बताए ।





Comments

comments

Leave a Reply

21981