हेर्दाहेर्दै जहाज यसरी भयो खरानी, किन बचाउन सकिएन धेरै यात्रु?

किन बचाउन सकिएन धेरै यात्रु ?
विमानस्थलभित्रै भएको दुर्घटनामा पनि धेरै यात्रुले ज्यान गुमाए । सामान्यतया विमानस्थलभित्र आकस्मिक अवस्थामा उद्धारका लागि सबै उपकरण र जनशक्ति तयारी अवस्थामा हुन्छन् । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालकले इमर्जेन्सी घोषणा नगरेका कारण ‘ग्राउन्ड’मा रहेका दमकल र एम्बुलेन्सलाई तत्काल परिचालन गर्न सकिएन । जहाज दुर्घटनास्थलनजिकै नेपाली सेनाको उद्धार टोली रहेकाले दमकलले दुर्घटनालगत्तै आगो निभाउन थाले पनि एम्बुलेन्स भने करिब १० मिनेटपछि पुगेका थिए ।

हेर्दाहेर्दै जहाज यसरी भयो खरानी
सिजन बयम्बु, प्रत्यक्षदर्शी
म विमानस्थलमा ‘लाइट’ गाडी चलाउँछु । सोमबार दिनको २ बजेतिर डोमेस्टिक एभियसनतर्फको मूलगेटमै थिएँ । माथिबाट चट्याङ परेजस्तो अवाज आयो । आवाज डरलाग्दो थियो । माथि हेरेँ, ठूलो जहाज रूखै छोला–छोलाजस्तो गरी बत्तिदै गरेको देखेँ । सारै डर लाग्यो । भागौँ झैँ लाग्यो । तर, भाग्न सकिनँ, हेरेर बसेँ ।

जहाज डोमेस्टिक एभियसनतर्फ रहेको सेनाको ब्यारेकमाथिबाट आउँदै थियो । जहाजले ब्यारेकको मूलगेटनजिकै रोपिएको धुपीको रूख झन्डै छोयो । बत्तिँदै डोमेस्टिक एभियसनको छानातर्फ अघि बढ्यो । छाना नै छोला–छोलाझैँ देखियो । तर, छोएन । जहाज अघि बढ्यो।

छानाभन्दा ठीक अघि बत्तीका ठूला–ठूला पोल छन् । जहाज त्यही पोलमा ठोकिएलाझैँ भयो । तर, पोललाई छोएन । जहाज रनवेतर्फ अघि बढ्यो । रनवेमा ल्यान्ड गर्नासाथ ठूलो आवाज निस्कियो । त्यहीवेला कालो धुवाँ पनि सँगै आयो । एकछिनपछि आगो बलेको देखियो, जहाज अघि बढ्यो, तर धुवाँ र आगो आउन रोकिएन । त्यसपछि जहाज दक्षिण–पूर्वतर्फ हुत्तिँदै गयो । केही पर पुगेर रोकिएको देखियो । जहाजबाट अब अवाज आउन बन्द भयो । तर, धुवाँको मुस्लो देखियो । केहीबेर त धुवाँको मुस्लोले आकाश नै ढाक्यो । करिब २० मिनेटसम्म आकाश धुवाँले ढाकेको थियो।

जसले युएस बंगला नेपालमा ल्याए, उनैको ज्यान गयो
दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो । तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने। नयाँपत्रिकामा खबर छ।





Comments

comments

Leave a Reply

22396