बेइजिङ — प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय साझेदारीका निम्ति दूरगामी आधारहरू खडा गरेको छ।
खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउने परिकल्पनाले अब कार्यरूप पाउने भएको छ।
चिनियाँ राष्ट्रपति सीले सीमा वारपार रेल सञ्जालको नेपाली चाहनालाई पहिलोपटक ठोस रूपमा अनुमोदन गरिदिएका हुन् । उनले ग्रेट हल अफ दि पिपुलमा शिष्टाचार भेटका निम्ति पुगेको नेपाली प्रतिनिधिमण्डलसामु भने, ‘हामीले छिङहाईदेखि ल्हासासम्म बनाएको रेलमार्ग अहिले शिगात्से पुगेको छ । त्यो अझै अगाडि बढ्दै छ र मलाई विश्वास छ, त्यो चाँडै काठमाडौं पनि पुग्नेछ ।’
प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको हाल जारी पूर्वसम्भाव्यता अध्ययन यही अगस्ट महिनाभित्र सक्ने गरी तयार पारिएको समझदारीपत्रमा बिहीबार हस्ताक्षर हुँदै छ । पूर्वसम्भाव्यता अध्ययनपछि अर्को सम्भाव्यता अध्ययनतर्फ नलागी सिधै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘करिब डेढ वर्षमा डीपीआर तयार हुन्छ । अनि काम थालेको झन्डै पाँच वर्षमा निर्माण कार्य सकिनेछ,’ ज्ञवालीले भने, ‘यसरी हेर्दा आउँदो छ–सात वर्षभित्रमा चीन जोड्ने रेल हाम्रा निम्ति सपनाको विषय मात्र हुनेछैन ।’ यद्यपि प्राविधिक कारणले त्यसमा थोरै तलमाथि हुन सक्ने उनले उल्लेख गरे ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भएको वार्तालापमा रेल निर्माण कार्य छिटो अगाडि बढाउन दुवैतर्फका अधिकारीहरूलाई निर्देशन दिने समझदारी पनि भएको खबर कान्तिपुर दैनिकमा खबर छ।