Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मास्कोमा नेपालबीच शुभकामना आदान-प्रदान

कृष्णप्रकाश श्रेष्ठ-
मास्को। रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ।

नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले सिंगारिएको ठूलो आकारको मण्डपलाई फलपूmल, धूप, दीप, नैवेद्यका साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ‘११३५’ अंकित गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूत–दम्पतिका साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै पूmलअक्षता चढाउँदै मण्डप परिक्रमा गरे । मण्डपको साजसज्जा र पूजाको आयोजनामा दीनानाथ राजभण्डारी तथा धनञ्जय श्रेष्ठको परिवार सक्रियतापूर्वक संलग्न रहेको थियो।

मण्डप–पूजापश्चात् गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का महासचिव महेशकुमार खड्काले दीपावली महोत्सवको उपलक्ष्यमा शुभकामना कार्यक्रमको आरम्भ गर्नुभयो र रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटाले मास्को राजदूतावासमा नेपालका विभिन्न उत्सवपर्वहरू नेपालका सबै क्षेत्र र समुदायका नेपालीहरूले सम्मिलित रूपमा सौहार्दपूर्ण वातावरणमा मनाउने गरेकोमा हर्ष प्रकट गर्नुहुँदै आजभन्दा ११३५ वर्षअघि शंखधर साख्वाःद्वारा सम्पूर्ण देशवासीहरूलाई ऋणमोचन गरी प्रगतिशील पाइला सारेर आरम्भ गरेको नेपाल सम्बत्को सन्दर्भमा प्रचलित किम्बदन्तीको संक्षेपमा उल्लेख गर्नुहुँदै चन्द्र शमशेरको पालादेखि मात्र बिक्रम सम्बत्लाई आधिकारिक रूपमा प्रचलनमा ल्याइएको तथ्यको चर्चा गर्नुहुँदै अहिले आएर नेपाल सम्बत्लाई नेपाल सरकारले आधिकारिक रूपमा प्रयोग गर्ने निर्णय लिएको सूचित गर्नुका साथै उपस्थित सम्पूर्ण नेपालीहरूलाई उत्तरोत्तर सफलताको कामना व्यक्त गर्नुभयो।

महामहिम राजदूतज्यूले विष्णुमतीको बालुवा सुनमा परिणत भएको किम्बदन्ती सुनाइरहनुहुँदा म त्यसको श्लोकबद्ध रूपान्तरण मनमनै गुनगुनाइरहेको थिएँ । त्यसको अन्त्यतिरको निम्न श्लोक यहाँ प्रस्तुत गर्न चाहन्छु: चार दिन अहोरात्र गरी मनन चिन्तन,
सारा तिरिदियो शंखधरले लोकको ऋण ।
प्रफुल्लित भए ज्यादै ऋणमुक्त प्रजा सब,
मनाए म्हपूजा गर्दै हर्षपूर्वक उत्सव ।।
बन्यो प्रस्तरको मूर्ति आफ्नै आकृतिबाट जो,
राख्यो पशुपतिनाथबाट दक्षिणतर्पm सो ।
बचेको धनले उस्ले निर्माण चैत्यको ग¥यो,
कीर्ति राखेर ऊ मुक्त भई आखिरमा त¥यो ।।
लिई नेपालका तीनै नृपको सर्वसम्मति,
ऋणमुक्त प्रजालाई गरी खर्चेर सम्पति,
फिराएथ्योे यहाँ शंखधरले नववर्ष जो,
भयो नेपाल सम्बत्को नामद्वारा प्रसिद्ध त्यो ।।
यस पंक्तिकारलाई पनि हार्दिक मंगलमय शुभेच्छा व्यक्त गर्ने सुअवसर दिइँदा नेपालभरि सेलपुरी मिष्ठान्न खाई मनाइने तिहार पर्वमा दीपावली गर्ने र ‘देउसुरे’ (‘देवश्री’ – ‘देवसिरी’) भट्याउँदै रमाइलो गर्ने प्रथाको आरम्भ बलिहाङ भन्ने किरात राजाको पालादेखि नेपालमा चलेको किम्बदन्तीको सारसंक्षेप सुनाइएको थियो । त्यसको श्लोकबद्ध अन्तिम अंश निम्नप्रकार छ ः बालेर लहरै बत्ती झ्याल, ढोका, संघारमा,
हटाए तमको छाया औंसीको अन्धकारमा ।
‘फासिङ्मो’ को दिई नारा पुकारा देवको गरे,
ज्योतिर्मय निवाङ्फुमाङ् सम्झेर पाउमा परे ।।
ज्योतिमय थियो औंसी हजारौं बत्तीले गरी,
बिलायो कालको छायाँ मृत्यु अतः गयो टरी ।
प्रजा सारा परे दङ्ग ‘बलीहाङ्ग बचे’ भनी,
मनाए हर्षले नाच्दै दीपोत्सव ठूलै अनि ।।
‘नाम्लिङ्गेत, लालिङ्गेत’ – ‘उदाए घाम औ जून’ !
आज्ञा हुँदा बलीराजाबाट आयौं यहाँ, सुन !’
‘त्येञ्अङ्सीरो !’ – ‘बलीहाङ्ग बचे !’ भन्दै ‘देउँसीरे !’
नाचगान गरी रातभरि रमाइलो गरे ।।
‘कालजयी बने राजा !’ – देशदेशान्तरैतक
पुगे लिएर राजाज्ञा यस्तो सन्देशवाहक ः
‘गाउँ–बस्ती, कुनाकाप्चा, डाँडाकाँडा सबैतिर,
बाली दीपावली नाचगान गर्नू निरन्तर !!’
धनसम्पत्तिकी देवी लक्ष्मीलाई नै आँध्यारो कोठामा थुनेर राख्ने पौराणिक दानवीर वलीको बन्धनबाट लक्ष्मीलाई मुक्त गरिंदा जहाँ उज्यालो छ त्यहीं लक्ष्मीको वास हुने किम्बदन्ती पनि प्रचलित छ । यसैको आधारमा भारतवर्षभरि दिवाली मनाइन्छ पनि । तर ‘देउसिरे’ को प्रचलन नेपालमै मात्र भएको परिप्रेक्ष्यमा किरात राजा बलिहाङको कथा नेपालकै उपज हो भन्दा अत्युक्ति होवैन । असुर मानिने पौराणिक वलीराजा र बलिहाङ एउटै हुनु पनि असम्भव छैन।

कार्यक्रमका संयोजक डिल्ली खरेल ‘सुमन’, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं विश्व नेपाली साहित्य महासंघ रूसका अध्यक्ष गोविन्दप्रसाद गौतम तथा नेपाली छात्रसंघ (जनमैत्री विश्वविद्यालय) का नवनिर्वाचित अध्यक्ष उत्तम लामिछाने प्रभृतिले शुभकामना व्यक्त गरिसकेपछि गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ ‘माधुर्य’ ले मास्कोमा नेपालीहरूको नेपाल सम्बत्को शुभारम्भ, दार्शनिक महत्व राख्ने म्हपूजा (आत्मपूजा), पहाड नै उठाएर वैदिक देवता इन्द्रको बज्रपातबाट गोकुलवासीहरूको रक्षा गर्ने कृष्णको महत्ता झीकाउने गोबर्धन (शब्दशः ‘गाईको वृद्धि’) पूजा, धनधान्यकी देवी लक्ष्मीको पूजाका साथै काग, कुक्कुर, गाई, गोरु, हात्ती र मान्छे (म्हपूजा, भाइपूजा) सम्मका प्राणीमात्रको सम्मान गरिने चाड यमपञ्चक (तिहार) जस्तो महान् उत्सवको आयोजनामा सहयोग गर्ने राजदूतावास परिवारका साथै उपस्थित सबैप्रति कृतज्ञता ज्ञापन गदै नेपाल सम्बत् ११३५, म्हपूजा, दीपावली, नजिकै आइरहेको छठपर्व र ल्होसार पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।

तत्पश्चात् नेवारी चलनअनुसार पञ्चतत्वको प्रतीक सगुन ग्रहण गर्ने क्रम सुरु भयो। अनि राजदूतावासको सभाकक्ष नै रङ्गमञ्चमा परिणत भयो । नेपालीहरू कोही नाचगानमा मस्त भए भने कोही भोजनकक्षको लाममा सरीक भए । म्हपूजा, नेपाल सम्बत्, दीपावली आदि उत्सवपर्वहरूको उपलक्षमा सन्ध्याभोजको आयोजना गरिएको थियो । विभिन्न रमाइला पर्वहरूको सन्दर्भमा नेपालीहरूद्वारा आयोजित रमाइलो कार्यक्रममा २०० भन्दा बढी नेपालीहरूको उपस्थिति रहेको थियो। यस वर्ष मास्कोको शरद्कालीन सुनौला साँझको रमाइलो वातावरणमा नेपाली राजदूतावासको प्राङ्गण उत्सवमय भई विशेष उल्लास र उमङ्गपूर्वक नेपाल सम्बत् ११३५ को म्हपूजा र तिहार सुसम्पन्न भएको छ।

अन्त्यमा रूसको राजधानीमा नेपाल सम्झाउने रमाइलो उत्सवीय वातावरणको सिर्जनामा विशेष योगदान पु¥याएकोमा डा. भरतराज पौडेल, उत्सव अमात्य, शिवमणि भुर्तेल, गोविन्द गौतम, गोविन्द आचार्य, डा. एकनारायण चापागाईं, रोशन पोखरेल, उमेश यादव, वसन्त सिंह, हेमन्त सिंह, गणेश राम्दाम, विनोद यादव, विदुर पेखरेल, ज्ञानु अधिकारी, निरज सुवेदी, प्रवीण खतिवडा, प्रमोद खतिवडा, भरत झा, हरेन्द्र जैसवाल, डा. ध्रुवदास उलक, डा. सूर्य रिजाल, डा. कुमार कार्की, डा. भीष्म आचार्य, रवीन्द्र भट्टराई, राजकुमार पाण्डे, डा. मधुकृष्ण श्रेष्ठ, सुमन खरेल, तेज शाह, सुमन रिजाल, कुल थापा, इन्द्र भुसाल, धनराज मोक्तान, कमल बस्याल, दीपेश दाहाल, राजाराम चौधरी, मीना अधिकारी, एकनाथ दवाडी, दीनानाथ राजभण्डारी, छविलाल कुँवर प्रभृतिलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै समस्त नेपालीहरूको जय होस् भन्ने सदीक्षा व्यक्त गर्दछु । २५ अक्टोबर २०१४,
मास्को, रूस महासंघ ।





Comments

comments

2508