मन्त्री भएको वर्षदिन नपुग्दै मन्त्री अधिकारीले २ दर्जन भन्दा बढि विमानस्थल संञ्चालनमा ल्याउन लागेका थिए

एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ। बुधबार दिउँसो करिब साढे एक बजे ताप्लेजुङ जिल्लाको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीचमा पर्ने सिस्ने खोलाको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे र हेलिकप्टरका पाइलट प्रभाकर केसीको मृत्यु भएको छ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको चुहानडाँडास्थित विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गर्न गएको मन्त्री अधिकारीसहितको टोली पूर्वको तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरी फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो। राजु श्रेष्ठ/दीपेन्द्र थापाले नेपाल समाचारपत्रमा खबर लेखेका छन्।

काठमाडौंबाट बुधबार बिहान साढे ८ ः २७ मिनेटमा अल्फा ९ एन माइक इन्डिया (एएमआई) कल साइन भएको हेलिकप्टर तेह्रथुमका लागि उडेको उडेको थियो ।

चुहानडाँडामा करिब डेढघण्टासम्म विमानस्थलको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गरी स्थानीयसँग छलफल गरी मन्त्री अधिकारीको टोली पाथीभरा दर्शनका लागि गएको थियो ।

पाथीभरा दर्शन गरी १२ बजेर ३४ मिनेटमा काठमाडौंको लागि उडान भर्ने क्रममा पाइलट केसीले हिउँ परिरहेको हुँदा आफू उड्न नसक्ने ताप्लेजुङको सुकेटार विमानस्थलको ंटावरलाई जानकारी गराएको केही बेरपछि हेलिकप्टर दुर्घटनामा परेको खबर आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिकुल मौसमका कारण शव काठमाडौ ल्याइएन
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ । गृह मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रवक्ता सुवेदीले सो जानकारी दिनुभएको हो ।

शुरूमा भारी हिमपात भएका कारण उडान भर्न नसक्ने जानकारी दिएका पाइटल केसीले पछि हेलिकोप्टर उडाएका थिए । पाथीभराबाट हेलिकोप्टर उडेको केही बेरमैै टावरसँग सम्पर्क बिहीन भएको थियो । मन्त्री अधिकारी सवार हेलिकप्टर ताप्लेजुङमा सम्पर्कबिहीन भएको खबर प्राप्त भएपछि ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा तत्कालै हेलिकप्टरको खोजीका निम्ति टोली परिचालित भएको थियो ।

सदरमुकामबाट करिब तीन घण्टा टाढा पर्ने उक्त स्थानमा ठूलो आवाजसहित डाँडामा धुँवाको मुस्लो आएको देखिएपछि स्थानीयबासी घटनास्थल पुगेका थिए । भीरको खोंचमा गएर हेलिकप्टर दुर्घटना भएको हुँदा हेलिकप्टर टुक्राटुक्रा परेको तथा पुच्छर बाहेक अन्य सबै भाग जलिरहेको र मानिस जलिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

आउदो चैत ३ गते एक वर्ष पुरा हुदै गर्दा मन्त्री अधिकारीको दुर्घटनमा परि निधन भएको हो । उड्यन क्षेत्रमा क्रमिक सुधार गरिरहेका मन्त्री अधिकारीले २ दर्जन भन्दा बढि विमानस्थल संञ्चालनमा ल्याउन लागेका थिए ।

छानविन समिति गठन्
बुधबार ताप्लेजुङमा भएको ७ जनाको मृत्यु भएको हेलिकोप्टर दुर्घटना छानविनको लागि सरकारले छानविन समिति गठन गरेको छ । पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको छ ।

छानविन समितिमा समितिमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहनु भएको छ । साथै सरकारले बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

पूरा भएन जर्मनी यात्रा
हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रममा भाग लिन जर्मनी जाने सपना तुहिएको छ ।

बिहीबार साँझ त्यसतर्फ जाने कार्यक्रम तय भएकाले बिहानै उहाँले पशुपति क्षेत्र विकास बोर्डको बैठकका लागि छुट्याउनुभएको थियो ।

संस्कृति मन्त्रालयको समेत जिम्मेवारीमा रहनुभएका उहाँ पशुपति क्षेत्र विकास कोषको अध्यक्षसमेत हुनुहुन्थ्यो । बिहीबारको व्यस्त तालिका र जर्मनी यात्रा नजिकिएका कारण मन्त्रालयको योजनामा रहेको तेह्रथुम आठराई चुहानडाँडास्थित सम्भावित विमानस्थलको अवलोकन बुधबारै गर्नुपर्ने दबाब उहाँमाथि थियो । त्यही भएर उहाँले बुधबार बिहानका लागि तेह्रथुम जान समय दिनुभयो ।

हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उहाँको जर्मनी यात्रा अपूरै रह्यो । उहाँको योजना समनामै सीमित भयो ।

खराब मौसमले हेलिकोप्टर दुर्घटना
खराब मौसमका कारण ताप्लेजुङमा हेलिकप्टर दुर्घटना भएको मौसमविद्हरुको ठहर छ । बुधवार विहान सबेरैदेखि ताप्लेजुङ र आसपासको मौसम बदलिएकाले सो दुर्घटना भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका अधिकारीले बताएका छन् ।

दिनभर मौसम गडबढ भएपछि उच्च भेगमा हिमपात र तल्लो भेगमा हल्का र मध्यम स्तरको वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सो भेगको मौसम विहानदेखि नै गडबडी थियो, हवाई भिजिविलिटी पर्याप्त नहुँदा सो घटना भएको हुन सक्छ ।’ बुधवार ताप्लेजुङमा ३ मिलिमिटर वर्षा भएको महाशाखको तथ्यांक छ ।

मुलुकका अधिकांश भेगमा पनि दिनैभर मौसम बदलिएर हल्का र मध्यमस्तरको वर्षा भएको छ । यस्तो प्रभाव आज विहीवार पनि दोहोरिने, भोली शुक्रवार धेरै ठाउँमा सुधार हुने भएपनि शनिवारदेखि फेरी पश्चिमी वायुको नयाँ प्रभाव भित्रिने कँडेलले बताउनुभयो । ‘मौसम अब लगातार सफा हुने संकेत छैन, शनिवारदेखि फेरी पश्चिमी वायुको अर्को प्रभाव भित्रिदैछ’–उहाँले भन्नुभयो ।

अध्यक्षद्धय ओली र प्रचण्डद्धारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । बुधवार ताप्लेगुङ फुङलिङ नगरपालिका १० सिस्नेभीरमा हेलिकोप्टर दुर्घटनमा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उडयानमन्त्री रविन्द्र अधिकारी सहित दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गदै पार्टी स्तब्ध भएको जनाइएको छ ।

एक शोक विज्ञप्ती जारी गर्दै अध्यक्षद्धयले दुर्घटनाले मूलुकलाई अपुरणीय क्षति भएको बताइएको छ । मूलुक जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै वक्तव्यमा निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्टसेवक कर्मचारीहरु र हेलिकप्टर चालक गुमाएको छ ।

दुई कार्यकाल संविधानसभा सदस्य, संसद सदस्य, विकास समितिको सभापति साथै संस्कृति, पर्यटन तथा नागरिक उडयानमन्त्रीका रुपमा अधिकारीले निर्वाह गरेको भूमिका मूलुकले सबै सम्झिरहन्छ, वक्तव्यतमा भनिएको छ ।

अधिकारीको निधनबाट हाम्रो पार्टीले केन्द्रीय कमिटीका एक होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको छ, नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको उच्च मुल्याकंन गदै अध्यक्षद्धयले दिवंगत अधिकारीप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

अध्यक्षद्धय ओली र प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनुहुने स्थापित पर्यटन उद्यमी आङछिरिङ शेर्पा, राष्टसेवक कर्मचारीहरु र हेलिकोप्टर चालकप्रति श्रद्धान्जली व्यक्त गर्दै उहाँहरुको शोकाकुल परिवार तथा आफन्तजनहरुप्रति गहिरो संमवेदना व्यक्त गर्नुभएको छ ।

को हुन मन्त्री अधिकारी ?
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्रप्रसाद अधिकारी सबैलाई रुहाउदै विदा हुनुभएको छ । नेकपा युवा समेत समेत रहनु भएका पर्यटन मन्त्री अधिकारीले युवा पुस्ताको नेतृत्व गर्दै राजनीतिमा उदयमान नेताको रुपमा आफूलाई स्थापित गर्नुभएको थियो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुधारको काम गर्दै अगाडि बढनुभएका अधिकारी आलोचनाको चाङ पन्छाउदै अघि बढने क्रममा हुनुहुन्थ्यो ।

२०२६ बैशाख २२ गते आइतबार कास्कीको तत्कालिन भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको थियो ।

अधिकारी,आफ्नो गाऊँकै ब्रह्म ज्योति प्रावि शान्ति पंधेरा गैरागाऊंबाट प्राथमिक शिक्षा र शान्ति उदय माबि (हालको उच्च मावि) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासिल गर्नु भएको थियो । बुवा इन्द्रप्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्थ्यो । जसका कारण पनि उहाँलाई शिक्षाका लागि राम्रो बाताबरण घर देखि नै थियो ।

सानै उमेर देखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी बिद्यालयमा अनेरास्वबियु, रेडक्रस, र बिभिन्न सामाजिक क्लबहरुमा संलग्न हुनुभभएकोे थियो । बिद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसन, लगायतका मध्यमबाट राजनितिक जागरण सृजना गर्न सफल अधिकारी हाईस्कुले जीवनमा बिद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित बिद्यार्थी हुनुहुन्थ्यो ।

उहाँले हजारौं दर्शकको बीचमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रम बिद्यालय जीवनमै प्रदर्शन गर्नुभएको थियो।

प्रबेशिका उतीर्ण गर्ने बित्तिकै बन बिज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गर्नुभएको थियो ।
बिद्यालय देखि नै राजनीतिमा चासो राख्ने अधिकारी क्याम्पस पुगे पछि बिद्यार्थी राजनीतिमा सक्रिय रहनु मात्र भएन, २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निवार्चित हुनु भएको थियो ।

२०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बन्नु भएका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वाचित हुनु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट ब्यबस्थापनमा स्नातकोत्तर गर्नु भएका उहाँले संविधान सभा लोकतन्त्र र पुनर्संरचना पुस्तक २०६३ मा प्रकाशित गर्नु भएको थियो । बिगत दुई दशक देखि उहाँका सयौ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन । २०४५ मा १ बर्ष माध्यमिक बिद्यालयमा अध्यापन गर्नु भएका अधिकारी अहिले पनि बिभिन्न क्याम्पसहरुमा अतिथिको रुपमा अध्यापन गर्दै आउनुभएको थियो ।

एशियाली बिद्यार्थी संगठन, बिश्व प्रजातान्त्रिक युबा संघ लगायत अन्तर्राष्ट्रिय युवा बिद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गर्नु भएका अधिकारी बिभिन्न अन्तराष्ट्रिय सम्मलेनमा भाग लिनु भएको थियो ।

पञ्चायत कालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील हुनुभएका मन्त्री अधिकारी पञ्चायती निरंकुशतालाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो ।
शैक्षिक मुद्दा र माग पनि व्यवस्थापनसँग नै जोडिएका हुन्थे । २०४६को जनआन्दोलनमा क्रियाशील अधिकारी पञ्चायतकालमा पटक–पटक गरी छ महिनाजेल र हिरासतमा बिताउनु भएको थियो ।

२०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो ।त्यतिबेला उहाँ क्याम्पस, जिल्ला र संयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गर्नु भएको थियो । २०४६को परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गर्नु भएको थियो ।

त्रिबिको स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बातावरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ठ प्राध्यापकहरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले बिश्वबिद्यालयमा निरन्तर प्राज्ञिक बहस संचालन गर्नु गर्नुभएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्राबिधिक शिक्षाको विस्तार र गुणस्तरीयता, सबैकालाई गुणस्तरीय शिक्षा जस्ता आन्दोलन र राष्ट्रियताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बाँधको बिरोध तथा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पाँच लाख २३ हÞजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगायत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उहाँको नाम नमेटीने गरी लेखिएको छ ।

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नुभएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनुभएको थियो । २०४० मा इलाका पार्टी कमिटीमा,२०४६÷०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहनु भयो ।

२०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र २०६३ मा पनि पुनः सचिबमा निर्वाचित हुनु भयो । २०६२÷०६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक–पटक गरी पाँच महिना जेल बस्नु भएको थियो । पार्टीको राष्ट्रिय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सक्नु भएका अधिकारी हाल नेकपाका केन्द्रीय सदस्यको सदस्य हुनुहुन्थ्यो ।

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपछि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत,सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रिडएबल पासपोट लगायतका बिषयमा बिभिन्न उप–समितिमा रहेर त्यसको नेतृत्व गरी काम गर्नुभएको थियो ।

संबिधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान सभा निर्माणमा निरन्तर खबरदारी गर्नु भएको थियो । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रिय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाबपछि ंसंसदको बिकास समितिमा सभापति हुनुभएको थियो ।

संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उचाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल भूमिका निर्वाह गर्नुभएको थियो । २०७४ सालको संघीय संसदमा कास्की क्षेत्र नम्वर २ बाट निर्वाचित हुनुभएका केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रहनुभएको थियो ।

बिद्यार्थी नेता,पार्टी नेता र संबिधानसभा र संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उहाँले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाईल्याण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वे, लगायतका देशको भ्रमण गर्नुभएको थियो । मन्त्री अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ ।

त्यो हतारले निम्त्याएको अकल्पनीय घटना
गणेश साम्पाङ, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका– ६ चुहान डाडामा बन्न लागेको चुहान डाडा बिमानस्थल अवलोकन पछि पाथीभराको दर्शन गरेर फिर्ने क्रममा बुधबार हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रबिन्द्र अधिकारी सहित ७ जनाको निधन भएको छ ।

कार्यक्रम स्थलमा पुग्नु भएका पर्यटन मन्त्री हेलिकोप्टरबाट झर्नासाथ आयोजकले सम्मानका लागि लगाइ दिएको फुलमाला हेर्दै यो काम नगर्दा राम्रो हुन्थ्यो हामीलाई हतार छ भन्दै उहां हतारमा देखिनुभएको थियो ।
कार्यक्रममा उहांले कार्यक्रममा ९ मिनेट मात्र बोल्नु भएको थियो । उहांले नेकपाको नेतृत्वमा रहेको को सरकारले समृद्धीको ढोका खोल्ने भन्दै देश भरका ३४ वटा बिमान स्थल सञ्चालनमा ल्याएको बताउनु भयो ।

उहांले बिपक्षीहरु यो सरकाले केही पनि गरेन भन्छन तर केपी ओलीको नेतृत्वमा रहेको सरकारले समृद्धीको बाटोमा देशलाई लैजाने बताउनु भएको थियो । उहांले अहिले देशमा पुर्वाधारका कामहरु अघि बढी रहको भन्दै पुष्पलाल मध्यपहाडी लोकमार्ग संगै चुहान डाडा बिमान स्थलको कामले गति लिने बताउनुभएको थियो । मन्त्री अधिकारीले अब यो बिमान स्थलको काम क्रमश चरणबद्ध रुपले अघि बढ्ने र यो कामका लागि सरकारले ८७ करोड बजेट बिनियोजन गरेको बताउनु भएको थियो ।

उहांले अहिलेको सरकारले जनताको पक्षमा काम गरेकाले बिपक्षी आत्तिएको पनि बताउनुभएको थियो । उहांले हतारमा यो कार्यक्रम तय भएकाले हामी पनि हतारमा छौं अरु पनि कार्यक्रम रहेको छ भन्दै आप्mनो भनाइ टङुग्याउनु भएको थियो ।

उहांको भनाइ सकिना साथ कार्यक्रमका अध्यक्ष आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर कन्दङवाले मन्त्री अधिकारी जस्ता उर्जाशिल युवा नेताले चुहान डाडामा बिमान स्थल बनाउनका लागि सरकारका तर्फबाट दिनु भएको प्रतिबद्धताले यहाका जनताहरु आशाबादी भएको र यो कार्यक्रम शुरु भएकै समयमा पानी पर्नुले शुभ साइतको संकेत गरेको भनेर धन्यबाद सहित आफ्नो भनाई ब्यक्त गरेपनि देशकालागि भने अशुभको समाचारले सनसनी फैलाएको छ ।

चार शव सुकेटारमा
एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकामध्ये चार जनाको शव हेलिकोप्टरमार्फत ताप्लेजुङको सुकेटारस्थित विमानस्थलमा पु¥याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारी जानकारी दिनुभयो ।

घटनास्थलमा भारी हिमपात, कुहिरो लाग्नुका साथै भौगोलिक रुपमा जटिल रहेकाले उद्दार कार्यमा कठिन भएको बताइएको छ । घटनास्थल नजिक हेलिकोप्टर अवतरण गर्न नसकेपछि नेपाली सेनाले डोरीको माध्यमबाट शवहरुलाई पोको पारेर घटनास्थलबाट उठाएको थियो । बाँकी शव निकाल्न हेलिकोप्टरबाट कठिन भएकाले डोकोमा राखेर घटनास्थलबाट निकाल्ने प्रयास गरिएको बताइएको छ ।

अत्यन्तै चिसो मौसम, हिउँ परिरहेको र बाटो चिप्लो भएकाले सुरक्षाकर्मी बाँकी शव सहित मध्यरातसम्म सुकेटार विमानस्थलसम्म आइपुग्ने अपेक्षा गरिएको छ । सुकेटार ल्याइपु¥याएको चारवटा शवमध्ये दुईवटा मन्त्री अधिकारी र उहाँको अंगरक्षक अर्जुनकुमार घिमिरेको हुन सक्ने बताइएको छ । यद्यपि, शवको पूर्ण पहिचान भने भएको छैन ।





Comments

comments

Leave a Reply

27089