इथियोपियाको जहाज दुर्घटनामा नेपाली युवतीसहित १५७ को मृत्यु!

इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक नेपाली पनि परेकी छिन् । विश्व खाद्य कार्यक्रम, इथियोपियामा कार्यरत गोरखाकी एकता अधिकारी दुर्घटनामा परेको इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ।

‘आफ्ना ६ कर्मचारीमध्ये एकता पनि परेको जानकारी विश्व खाद्य कार्यक्रमले हामीलाई दिएको छ,’ दूतावासका एक अधिकारीले बताएको खबर नयाँ पत्रिकाले छापेको छ।

इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको नैरोबीतर्फ उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७ आइतबार बिहान दुर्घटनामा परेको हो । विमानमा १४९ यात्रु र चालक दलका आठ सदस्य थिए । बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयानुसार बिहान साढे ८ बजे सो विमान उडेको थियो । उडेको ६ मिनेटपछि बिसोफ्टु सहरनजिकै पुगेपछि विमान दुर्घटनामा परेको थियो।

दुर्घटनाग्रस्त विमानमा ३५ देशका नागरिक तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधि यात्रामा रहेको इथियोपियन एअरलाइनले जानकारी दिएको छ। विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको बताइएको छ । इथियोपियाली विमान कम्पनीले दिएको सूचनाअनुसार विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडेली, नौजना इथियोपियाली नागरिकको मृत्यु भएको अदिस अबाबाबाट जारी विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेवोल्दे जेब्रेमालियमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, विमानमा सवारमध्ये चीन, इटाली र अमेरिकाका आठ–आठजना तथा बेलायत र फ्रान्सका सात–सातजना थिए । यस्तै, इजिप्टका ६, नेदरल्यान्डका पाँच र भारतका चारजना विमानमा रहेको कम्पनीले जनाएको छ । मृत्यु हुने चारजनासँग राष्ट्रसंघको पासपोर्ट भएको कम्पनीले बताएको छ । इथियोपियाको प्रधानमन्त्रीको कार्यालय र इथियोपियन एयरलाइन्सले दुर्घटनामा परेका परिवारप्रति दुःख व्यक्त गरेको छ। ‘दुर्घटनामा परेकाहरूको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दछु,’ प्रधानमन्त्री अबी अहमदले ट्विट गरेका छन्।





Comments

comments

Leave a Reply

27265