सिके राउतसँग झस्कियो सरकार, गुञ्जियो स्वतन्त्र मधेसको नारा…

नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रतिबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घन्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ।

आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् ।राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए।

सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए । प्रहरी भने मूकदर्शक थियो । ‘उहाँहरू सरकारको विशेष अतिथि बनेर आउनुभएको छ, माथिबाट केही नगर्नू भन्ने आदेश छ,’ सुरक्षाकर्मीको भनाइ थियो । तर, यसअघि यस्तै गतिविधि गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरी राज्यविरुद्धको अपराध मुद्दा चलाएको थियो, सैनिक शक्तिजस्तो देखाउन सो संगठनका केही कार्यकर्ताले बुलेटफ्रुपजस्तो देखिने ड्रेससमेत लगाएका थिए । राउतले भने कार्यकर्तालाई सम्बोधन गरेनन् र पत्रकारलाई पनि प्रतिक्रिया दिएनन्।

११ बुँदे सहमतिमा थुनामा रहेका स्वतन्त्र मधेस संगठनका सबै कार्यकर्ता छाड्ने उल्लेख छ । त्यसका लागि उनीहरूविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने हुन्छ । गृहले लगत संकलनसमेत सुरु गरिसकेको छ । मुद्दा फिर्ता लिन सरकारले अदालतको सहमति लिनुपर्छ । मुद्दा फिर्ता सम्बन्धमा प्रक्रिया सुरु भइनसकेको महान्यायाधिवक्ता अग्नि खरेलले बताए । सरकारले सिके राउत र उनका कार्यकर्तामाथि निगरानी कायम राख्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । ‘सम्झौताको गलत व्याख्या गरे र पुरानै गतिविधि कायम राखे भने सरकारले कारबाहीमा जान बाध्य हुन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘आइतबार जनकपुरमा फ्री मधेस लेखिएका झन्डा र ब्यानर देखिएको छ, जसलाई हामीले गम्भीर रूपमा लिएका छौँ ।’ सुरक्षाका लागि राउतलाई पिएसओ खटाइएको छ । उनका अन्य कार्यकर्ताको गतिविधिसमेत निगरानी गर्न निर्देशन दिइएको खबर नयाँपत्रिका दैनिकमा हदिश खुद्दार, शुरोजंग पाण्डे र नवराज मैनालीले लेखेका छन्।





Comments

comments

Leave a Reply

27267