गर्लफ्रेन्ड हत्या गरेर सप्तकोसीमा फालिदिएपछि नेकपाका नेता गुरुङ पक्राउ

विराटनगर : सत्तारुढ दल नेकपा बेलबारीका नेता योगेन्द्र गुरुङले हत्या गरेर सप्तकोसी नदीमा फ्यालिदिएको भनिएको एक महिलाको शव तीनदिनसम्म खोज्दा पनि फेला पर्न सकेको छैन।

फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राईको हत्या गरेर शव गायव बनाउन कोसी व्यारेजको पुलबाट नदीमा फ्यालेको खुले पनि शव भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ।

हत्यापछि फरार गुरुङलाई प्रहरीले तीन दिन अघि इलामबाट पक्राउ गरेको थियो । प्रहरीले शुक्रबारबाटै सप्तकोसी नदी आसपासमा शवको खोजी गरिरहेको छ । आइतबारबाट शवको खोजीका लागि बेलबारीका स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गरेका थिए।

आइतबारबाट पौडी खेल्न जान्ने दक्ष प्रहरी टोलीसमेत शवको खोजीमा जुटेको छ । डुंगासहित पौडीबाज प्रहरी टोलीले खोजतलास व्यापक बनाए पनि साँझसम्म शव फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राई आफै शवको खोजीमा खटिएका छन्।

‘हामीले दक्ष प्रहरी खटाएरै शवको खोजी गरिरहेका छौं । स्थानीय बासिन्दाले पनि यसमा सहयोग गरिरहेका छन्,’ केसीले भने, ‘तर शव फेला पर्न सकेको छैन । पानीको ठूलो भँगालोमा फ्यालिदिएर बगाएर अन्यत्र पु¥याएका कारण फेला पर्न नसकेको हुन सक्छ।’

शवको खोजतलासका लागि खटिएको टोली आइतबार साँझ फिर्ता भएको छ । ‘रात परेको र आँखा नदेखिने भएपछि शवको खोजी कार्य स्थगित गरेर टोली फर्किएको छ,’ केसीले भने, ‘सोमबारबाट पुनः शव खोजीमा विशेष प्रहरी टोली परिचालित हुने छ ।’ शव नभेटिएकै कारण प्रहरीले गुरुङमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाउन पनि सकेको छैन।

पक्राउ परेपछि तत्कालिन एमालेको बेलबारी नगरका पूर्व अध्यक्षसमेत रहेका गुरुङ आफैले घरमै हत्या गरेर शव गायव बनाउन नदीमा लगेर फ्यालिदिएको खुलेको प्रहरीको भनाइ छ । गुरुङले दिएको बयानका आधारमा प्रहरीले लगातार कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाएको हो।

‘हत्या हुँदा शव फेला पर्नु पर्ने हुन्छ । कोसी नदीमा फ्यालेको बताएकाले खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ।’

प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ च ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । गुरुङले आफ्नै घरमा महिलाको हत्या गरेपछि बोरामा पोको पारेर शव यही गाडीमा राखेर कोसी ब्यारेज पुर्‍याएर २९ नम्बर गेटबाट नदीको भँगालोमा फ्यालेको प्रहरीलाई बताएका छन् । गुरुङले बताए अनुसार खटिए पनि प्रहरीले शव भेटिन सकेको छैन । बेपत्ता भएकै रात महिलाको हत्या भएको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार घटना भएको साँझ योगेन्द्र रमिलासँगै उनकी एक जना साथी र अर्का एकजना युवक समेतलाई लिएर घरबाट दोहोरीमा जाने भन्दै निस्किएका थिए । त्यस दिन उनीहरु सुन्दरहरैंचास्थित विराटचौकस्थित एउटा रेष्टुरेण्टमा गएको खुलेको छ।

शुक्रबार राति ११ बजेतिर योगेन्द्रले सबैलाई लिएर घर फर्किएका थिए । उनले रमिलाकै घर छेउमा रहेकी महिला र सोही टोलका युवकलाई छोडीदिए तर रमिलालाई भने गाडीमै लिएर गएको खुलेको प्रहरीले जनाएको छ।

‘मादक पदार्थ सेवन (मापसे) गरेर योगेन्द्रकै घरमा पुगेका दुवै जनाबीचमा केही बेर बादविवाद भएको देखिन्छ,’ एक प्रहरीले भने, ‘त्यही क्रममा मुख थुनिदिएपछि महिलाको मृत्यु भएको खुलेको छ।’

गुरुङ र महिलाबीचमा केही समयदेखि प्रेम सम्बन्ध रहेको र त्यही सम्बन्धमा दरार उत्पन्न भएपछि रमिलाको हत्या गरिएको हुन सक्ने प्रहरी आशंका छ । गुरुङले पनि मापसे गरेर अनआवश्यक कुरा गर्न थालेपछि मुख थुनिदिएको र त्यही क्रममा महिलाको मृत्यु भएको प्रहरीलाई बताएका छन् । मृत्यु भएपछि आफू फस्ने भएका कारण शवलाई लगेर कोसी नदीमा फ्यालिदिएको उनलाई उद्रित गर्दै प्रहरीले जनाएको छ।

महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए । महिला बेपत्ता भएपछि गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाव भएको बताएका थिए।

हत्या गरिएकी महिला आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्। अन्नपूर्णपोस्टमा किशोर बुढाथोकीले समाचार लेखेका छन्।





Comments

comments

Leave a Reply

27269