काठमाडौं, सामान्य अवस्थामा वीरगन्ज गण्डक चोकबाट कलैया–१८ स्थित भरबलिया पुग्न सवारीसाधनमा लाग्ने समय करिब ३० मिनेट हो । तर, अहिले डेढ घन्टामा पनि पुग्न मुस्किल पर्छ । कारण हो, ध्वस्त बस्तीमा पीडा नियाल्न जानेको भिड।
काठमाडौंदेखि छिमेकी जिल्ला र बाराकै अन्य गाउँबाट सयौँ व्यक्ति गाडी, मोटरसाइकल र पैदलै फेटाका प्रभावित वडा र कलैयाको भरबलियामा भिड लाग्ने गरेका छन् । गाउँमा पीडितभन्दा रमिते चौबर छन् ।
हावाहुरीले ध्वस्त बस्ती लावालस्कर सवारीसाधनसहित पुग्ने राजनीतिक दलका नेताका कारण झन् अस्तव्यस्त बनेको छ । फेटा–३ र ६ का बस्ती पुग्नुभन्दा एक किलोमिटर वरैदेखि सडकछेउमा सवारीसाधनको लस्कर देखिन्छ । सडक ढाकिने गरी भिड छ । राहत बोकेर गएका सवारीसाधन भिडले घन्टौँसम्म जाममा रोकिनुपर्ने अवस्था छ ।
मुख्यमन्त्री राहत कोषमा मंगलबारसम्म ५ लाख १६ हजार ६ सय २१ रुपैयाँ जम्मा भएको प्रदेश लेखानियन्त्रक कार्यालयले जनाएको छ । ‘अहिलेसम्म ३५ जनाले मुख्यमन्त्री राहत कोषमा रकम जम्मा गर्नुभएको छ,’ प्रदेश लेखानियन्त्रक कार्यालयका प्रमुख विनोद गेलालले भने, ‘सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ ।’
हावाहुरी प्रभावित सबै बस्तीमा राहत सामग्रीको भने ओइरो लागेको छ । तर, वितरण प्रणाली व्यवस्थित छैन । वास्तविक पीडित राहतबाट विमुख छन् । फेटा–६ स्थित राहत वितरण स्थलमा भेटिएका समाजसेवी नजिवुल्ला अन्सारीले भने, ‘राहतका सामान आएका छन् । तर, वितरण व्यवस्थित छैन । पाउनुपर्ने मान्छेले पाएका छैनन्, नपाउनुपर्नेले कुम्ल्याइरहेका छन् । यस्तै रहने हो भने पीडित झन् पीडित हुने अवस्था छ ।’
भरबलियाका २२ वर्षीय राजेन्द्र पटेल (कुर्मी) हावाहुरीले दिवंगत आमाको किरिया बार्न बुबासँगै थिए । बाल्टिन बोकेका एक हुल विद्यार्थी कुर्मीनजिकै पुग्यो । बाल्टिनमा राहतका केही पोका थिए । राजेन्द्रका बुबालाई विद्यार्थीको हुलले कोराबाट निकालेर केही पर लग्यो । हातमा बाल्टिन थमायो । अनि विभिन्न भावभंगीमा सेल्फी हान्न थाल्यो । यो प्रतिनिधि घटना हो । क्षतविक्षत बस्तीमा पीडाले ओइलाएका अनुहारसँग सेल्फीको मजाक लिनेको भिड बाक्लै देखिन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ।