नेपालको इन्टरनेट सेवा विश्वमै सबैभन्दा महंगो, उपभोक्तामाथि चरम शोषण

काठमाडौं। संसारभर सहज र सहुलियत दरमा सूचना प्रविधिको पहुँचबाट आफ्ना नागरिकलाई सेवा दिने होड चलिरहेका बेला नेपालको दूरसञ्चार सेवाको मूल्य भने विश्वकै सबैभन्दा महँगो देखिएको छ।

महालेखा परीक्षकको कार्यालयले नेपालको टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै अत्यधिक महँगो रहेको बताएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा उल्लेख गरेको विश्लेषणअनुसार नेपालका टेलिकम कम्पनीले दूरसञ्चार सेवाको मुनाफा मूल्य संसारभर अन्य मुलुकको भन्दा दोब्बरसम्म उठाउने गरेको पाइएको छ । महालेखाले यो उपभोक्ता संरक्षण ऐन–२०७५ विपरीत हुने ठहर गरेको जनाएको छ।

महालेखाले गत आर्थिक वर्ष २०७४/७५ मा गरेको वित्तीय विवरणअनुसार विश्लेषण गर्दा नेपालका दूरसञ्चार सेवा प्रदायकको सञ्चालन नाफा ५८ देखि ६२ प्रतिशतसम्म रहेकाले ती सेवा प्रदायकले प्रदान गर्ने सेवाको मूल्य निर्धारणमा नाफाको अंश संसारभरका अन्य मुलुकको तुलनामा अत्यधिक रहेको ठहर गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।

महालेखा परीक्षक टंकमणि शर्माले ५६औं वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा यस्तो तथ्यबारे जानकारी गराएका हुन् । अमेरिका, जापान, अस्ट्रेलिया, बेलायत, चीनजस्ता विकसित मुलुकले समेत दूरसञ्चार सेवाप्रदायकको सञ्चालन मुनाफा जम्मा ६ प्रतिशतदेखि २४ प्रतिशतसम्म भन्दा बढी नलिएको बताउँदै उनले अहिले यहाँका दूरसञ्चार सेवाप्रदायकको सञ्चालन मुनाफा निकै अस्वाभाविक र महँगो रहेको पाइएको जानकारी गराए । उनले यहाँका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अहिलेसम्म लिने गरेको सञ्चालन मुनाफा उपभोक्तामाथिको चरम शोषण भएको बताए। राजधानीमा मधुजंग पाण्डेले खबर लेखेका छन्।





Comments

comments

28159