संगीत रोयल्टीको २३ लाख हिनामिना

काठमाडौंः स्रष्टाहरूको रोयल्टी संकलन गर्न गठित ‘संगीत रोयल्टी संकलन समाज’मा आर्थिक हिनामिना भएको त्यहाँका पूर्वपदाधिकारीले बताएका छन्।

आइतबार राजधानीमा सम्पन्न समाजको विशेष साधारण सभामा पूर्वकोषाध्यक्ष लोकराज अधिकारीका तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक हिनामिना भएको देखिएपछि हिनामिना गर्नेहरूलाई कारबाहीको माग गरिएको छ।

अधिकारीले पेस गरेको आर्थिक प्रतिवेदनमा समाजका २३ लाख रुपैयाँ हिनामिना भएको कार्यसमितिका पूर्वसदस्य एवं संगीतकार लक्ष्मण शेषले देखाएपछि सोबारे छानबिनसँगै अघिल्लो कार्यसमितिका दोषीलाई कारबाही गर्ने निर्णय भएको छ।

नेपाली संगीत स्रष्टाहरूको रोयल्टी संकलन गर्न यो संस्था एक दशकभन्दा अघि गठन भएको हो । नेपाली गीतसंगीत बजाएबापत रेडियो, टेलिभिजन, विभिन्न यातायात, पार्टी प्यालेस, रेस्टुरेन्ट, होटल तथा सांगीतिक कार्यक्रम आयोजना गर्ने टिमहरूसँग समाजले रोयल्टी उठाउने गरेको छ । यसरी उठाएको रोयल्टीमा २५ प्रतिशत रकम कार्यलयको खर्चका लागि काटेर बाँकी रकम समाजका सबै पदाधिकारीलाई दामासाही हिसाबले बुझाउनुपर्ने हो । तर, अघिल्लो पदाधिकारीले यसरी रकम उठाएर मनपरी खर्च गरेको भन्दै यसका सदस्यहरूले कार्यक्रममा व्यापक विरोध गरे।

अघिल्लो कार्यसमितिका सदस्य लक्ष्मण शेषले पूर्वअध्यक्ष सुरेश अधिकारी, समाजका लेखा प्रमुखलगायतले लिएको पेस्की फस्र्योट नगरेको भन्दै उनीहरूलाई कारबाहीको माग गरेका हुन् । ‘उहाँहरूको कार्यकालमा १० लाख रुपैयाँ पेस्कीको फस्र्योट नगरेको र १३ लाख रुपैयाँ नियमभन्दा बाहिर खर्च भएकाले २३ लाख रुपैयाँ हिनामिना भएको छ । त्यो कार्यसमितिमा म आफू पनि भएकाले दोषी यदि म पनि छु भने मसहित सबै पदाधिकारी र सम्बन्धित कर्मचारीलाई कारबाही हुनुपर्छ।’

यसरी यति ठूलो रकम हिनामिना भएको आवाज त्यहाँ उठेपछि संघका पूर्वअध्यक्ष एवं वरिष्ठ गीतकार यादव खरेल, राजेन्द्र थापा, दिनेश अधिकारीलगायतले दोषीलाई कारबाही हुनुपर्ने माग गरे।

कार्यक्रममा संस्थापक अध्यक्ष यादव खरेलले भने, ‘संगीत रोयल्टी संकलन समाजको ऐनअनुसार रोयल्टीबापत उठेको रकममध्ये २५ प्रतिशत रकम मात्र पदाधिकारीले कार्य सञ्चालनका लागि खर्च गर्न पाउँछन् । तर, त्योभन्दा बढी रकम खर्च भएको, पेस्कीसमेत फस्र्योट नभएको देखिएकाले यसबारे छानबिन हुनुपर्छ ।’ रोयल्टीबापत करोडौं रुपैयाँ उठिरहेको बेला २५ प्रतिशत खर्च कार्यालय सञ्चालनका लागि काटेर बाँकी ७५ हजार रुपैयाँ छुट्टै खातामा अबका दिनमा जम्मा गर्न पनि खरेलले सल्लाह दिए।

संगीतकार सुरेश अधिकारी अध्यक्ष रहेको अघिल्लो कार्यसमितिले जथाभावी फजुल खर्च गरेकै कारण यति ठूलो खर्चको हिसाब नदेखिएको पूर्वअध्यक्ष एवं गीतकार राजेन्द्र थापाले बताए । यस्ता खर्चलाई आगामी दिनमा नियन्त्रण गर्न पनि उनले सुझाव दिए।

पूर्वअध्यक्ष सुरेश अधिकारीले पनि आफूहरूबाट कुनै पनि अनियमिता भएको पाइएमा सजाय भोग्न तयार भएको बताए । समाजको आवश्यक काममा पेस्की लिएको र त्यसबारेमा आफूहरूले सबै बिल बुझाइसकेको उनले दाबी गरे । आफूलाई फुजल खर्च गरेको आरोप लगाउने पूर्वअध्यक्ष राजेन्द्र थापाको पालामा पाँचतारे होटलमा महँगो मदिरा पिउँदै सेमिनार गरिएको आरोप पनि अधिकारीले लगाए । त्यो आरोपको खण्डन गीतकार थापाले गर्ने क्रममा थापा र अधिकारीबीच आरोप पत्यारोपको दोहोरी नै चल्यो।

विशेष सभाले तीन महिनाअघि महेश खड्काको अध्यक्षतामा चयन भएको पदाधिकारीलाई अब काम गर्ने अधिकार दिएको छ । अघिल्लो कार्यसमितिको सबै हिसाबको पुनः अध्ययन गरेर अनियमिता देखिएको भए दोषीलाई कारबाही गर्न प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा पठाउने निर्णय सभाले गरेको छ। राजधानी दैनिकमा डब्बु क्षत्रीले यो समाचार लेखेका छन्।





Comments

comments

29349