नेकपामा मन्त्री फेर्ने बहस, मन्त्री बन्न योगेशलाई ओलीको सन्देश

सत्तारुढ नेकपामा मन्त्रिपरिषद् हेरफेरको बहस सुरु भएको छ।

आर्थिक वर्ष ०७६र७७ को बजेट पारित भएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विकल्पमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग छलफल भएको अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष्टि गरेका छन्।

गत १५ फागुनमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त जिम्मेवारी प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन्।

भिजिट नेपाल–२०२० आयोजना गरिएकाले रिक्त पर्यटन मन्त्रालय सम्हाल्ने मन्त्री नियुक्ति गर्नैपर्ने दबाबमा प्रधानमन्त्री छन्।

स्रोतका अनुसार स्थायी समिति सदस्य योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री बनाउन चाहेका छन्। पर्यटन, सञ्चार या अन्य कुनै विकासे मन्त्रालयमध्ये रोजेर लिन भट्टराईलाई प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङमार्फत सन्देश सुनाएका छन्।

भट्टराईले भने मन्त्री बन्ने चर्चा र बनाउने नेतृत्वले तयारी गरिरहेको केही जानकारी नभएको बताए। ‘मैले त्यसबारेमा केही बुझेको छैन,’ उनले नयाँ पत्रिकासँग भने, ‘यस विषयमा मेरो कुनै टिप्पणी छैन।’ नयाँ पत्रिका दैनिकमा यो खबर छ।





Comments

comments

30051