सिक्री लुट्नेको बिगबिगी : १० दिनमा ११ जनाको सिक्री लुटियो

घोराही–१५ का दीपेन्द्रमान श्रेष्ठ शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय भन्दा पाँच सय मिटरनजिकैको तरकारी बजार (सब्जीमन्डी) मा तरकारी किन्न छिरे।

तरकारी किन्दै गर्दा एक्कासि होहल्ला मच्चियो । हल्ला भएको तर्फ ध्यान दिएर सुन्दा एकजना व्यक्ति आफ्नो सुनको सिक्री लुटिएको भन्दै कराउँदै थिए । श्रेष्ठले पनि हतारहतार आफ्नो घाँटीमा छामे । तर, अचम्म ! उनको पनि तीन तोलाको सिक्री घाँटीमा थिएन । अझ आश्चर्यजनक कुरा त के भने उनीजस्तै त्यहाँ भएका अन्य केही व्यक्तिको समेत घाँटीमा सुनको सिक्री थिएन । बिहान ६ बजेको यो घटनापछि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा सिक्री खोजिदिन आग्रह गर्दै धेरै जना पुगे ।

घोराही–१४ की दिलशोभा श्रेष्ठ पनि तरकारी किन्न गएको वेला लुटिएकी छन् । बिहीबार सब्जीमन्डी पुगेकी श्रेष्ठको पनि घर फर्किदा घाँटीमा सिक्री थिएन । विगत केही दिनयता घोराहीमा सुनको सिक्री लुटनेको बिगबिगी बढेको छ । घोराहीस्थित सब्जीमन्डीमा बिहानपख तरकारी किन्नेको चाप भएको मौका छोपेर लुटेराले थाहै नदिई सुनको सिक्री लुट्न थालेका छन् ।

एक नाबालक पक्राउ
सब्जीमण्डीबाट सुनको सिक्री लुटिने क्रम बढेपछि जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा बजार क्षेत्रमा प्रहरी खटाउन थालेको छ । शुक्रबार बिहान सिक्री लुटदै गर्दा एकजना नाबालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालक एक महिलाको सिक्री तान्दै गर्दा पक्राउ परेका प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

अन्य लुटेरा भने हालसम्म पनि फेला परेका छैनन् । पक्राउ पर्ने नाबालक वीरगन्ज निवासी भएको प्रहरीले जनाएको छ । रंगेहात पक्राउ परे पनि ती बालकले अन्य लुटेराको विषयमा कुनै जानकारी दिएका छैनन् । यसले घटनाको अनुसन्धान लम्बिएको प्रहरी निरीक्षक गौतमले बताए। यो खबर नयाँपत्रिकामा भूपेन्द्र वलीले लेखेका छन्।





Comments

comments

30199