रेमिट्यान्स छ प्रतिशतले घट्यो

फाइल फोटो

आर्थिक वर्ष २०७६/७७ को दस महिनामा विप्रेषण आप्रवाहमा ६.१ प्रतिशतले कमी आएको छ।

नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको आर्थिक वर्ष २०७६/७७ को दस महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ३६.८ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु. ७७२ अर्ब ५१ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो।

निक्षेप ११ प्रतिशतले बढ्यो

यसैगरी समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १७.३ प्रतिशतले बढेको छ।

२०७७ वैशाख मसान्तमा चल्ती, बचत र मुद्दती निक्षेपको कुल निक्षेपमा क्रमशः ८.६ प्रतिशत, ३२.६ प्रतिशत र ४८.६ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत रहेको थियो । २०७७ वैशाख मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । २०७६ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४५.७ प्रतिशत रहेको थियो। गोरखापत्र दैनिकमा समाचार छ।





Comments

comments

37193