Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

काठमाडौंमा साच्चिकै ९० सालको जत्रो भुइँचालो आइहाल्यो भने !

काठमाडौं, २ माघ। विभिन्न अनुसन्धानअनुसार भूकम्पको जोखिममा नेपाल विश्वको ११ औं स्थानमा छ। काठमाडौं उपत्यका विश्वमै सबैभन्दा धेरै जोखिम भएको सहरमध्येमा पर्छ। १९९० सालको जत्रो (८.३ रेक्टर स्केल) भूकम्प फेरि गए काठमाडौंलगायत सहरमा एक लाखभन्दा बढीको मृत्यु र तीन लाखभन्दा बढी घाइते हुने प्रक्षेपण सरकारकै छ। तर यति ठूलो क्षति र जोखिमबाट बच्न गर्नुपर्ने तयारी भने शून्यजस्तै छ।

काठमाडौं उपत्यकाभित्र कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिताविपरीतका भवन भूकम्पीय जोखिमका कारण हुन्। सरकारले भूकम्पीय जोखिमबाट बच्ने पूर्वतयारी नीति बनाए पनि कार्यान्वयन शून्य छ। भवन भूकम्प प्रतिरोधात्मक बनाउन सकेमात्रै ८५ प्रतिशत क्षति कम हुने अनुमान विज्ञहरूको छ।

संयुक्त राष्ट्रसंघ ‘ब्युरो अफ क्राइसिस प्रिभेन्सन’ अनुसार विश्वका एक सय ९८ मुलुकमध्ये नेपाल भूकम्पीय जोखिमले ११ औं स्थानमा पर्नुको कारण पनि यस्तै कमजोर भौतिक संरचना हुन्। भूकम्प विशेषज्ञ डा. सोमलाल सुवेदीका अनुसार प्रकोप व्यवस्थापन गर्न नसक्दा क्षति झन् बढी हुन्छ। खानी तथा भूगर्भ विभाग भूविज्ञान महाशाखा प्रमुख उनले भने, ‘हामी भूकम्पमात्रै होइन अरू धेरै प्रकारका प्रकोपको उच्च जोखिममा छौं। पानीजन्य प्रकोप नियन्त्रण गर्न सकेमात्रै ठूला क्षतिबाट बच्न सकिन्छ।’

भवन निर्माण आचारसंहिता, २०५५ लागू हुन सकेको छैन। यो आचारसंहिता लागू गर्न सके भूकम्पबाट हुने ठूलो क्षतिबाट बच्न सकिन्छ। सरकारले यस वर्षदेखि ३० नगरपालिकामा यो संहिता लागू गर्ने नीति लिएको छ। प्रकोपपीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०६९ बनाइए पनि कार्यान्वयन प्रभावकारी छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ।

भूकम्पबाट स्कुल तथा अस्पताल बढी असुरिक्षत छन्। पाटन अस्पतालको एउटा भवन र वीर अस्पतालको ट्रमा सेन्टरबाहेक भूकम्प प्रतिरोधात्मक अस्पताल भवन छैनन्। ८० हजार विद्यालय भवनमध्ये केहीमात्रै भूकम्प प्रतिरोधात्मक छन्। पुल र विद्युत्गृह पनि भूकम्प प्रतिरोधात्मक बनाउन सकिएको छैन।

भूकम्प प्रविधि राष्ट्रिय समाजका उपकार्यकारी निर्देशक रमेश गुरागाईंले भवन संरचना कमजोर भएकाले जोखिम बढी भएको बताउँछन्। ‘भूकम्प जोखिम भएका अरू पनि धेरै देश र ठाउँ छन् तर नेपालमा भने प्रतिरोधात्मक संरचना नभएका कारण जोखिम बढेको हो’, उनले भने। सरकारले भवन निर्माण आचारसंहिता लागू गर्न थाल्नु सकारात्मक प्रयास भए पनि पर्याप्त नभएको टिप्पणी उनले गरे। भवन बनाउँदा ध्यान दिनुपर्ने उनको सुझाव छ।





Comments

comments

3745