नेकपा विवाद सकारात्मक शक्तिमा बदलिन्छ : मन्त्री पुन

काठमाडौँ, १३ मङ्सिर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताउनुभएको छ।

मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसङ्घर्ष र बहस हुनुलाई अस्वाभाविकरूपमा लिन नहुने बताउनुभयो । नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गर्नुभयो।

उहाँले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गर्नुभयो । “हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ”, उहाँले भन्नुभयो । काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत्गृहको निरीक्षण गर्न मन्त्री पुन आज त्यहाँ पुग्नुभएको थियो । निरीक्षणका क्रममा जिल्लास्थित नेकपा नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने प्रयास हुनुपर्ने बताउनुभयो ।

फाइल फोटो

उहाँले नेताबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बहसमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गर्नुभयो । मन्त्री पुनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपङ्क्तिलाई आग्रह गर्नुभयो । यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

काम नगर्ने ठेकेदार, गाली खाने नेता

फरक प्रसङ्गमा मन्त्री पुनले निर्माण व्यवसायीप्रति जनतामा व्यापक गुनासो रहेको उल्लेख गर्नुभयो । उहाँले आफूले ठेक्का लिएका काम जिम्मेवारीपूर्वक समयमै सक्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । राजनीतिक नेतृत्वले विकासका लागि नीति तथा कार्यक्रम तय गर्नाका साथै आवश्यक बजेटको व्यवस्थापन गर्ने जनाउँदै मन्त्री पुनले विकास निर्माणको काम गर्न कबुल गरेका निर्माण व्यवसायी गम्भीर नहुँदा जनतामा राजनीतिक नेतृत्वप्रति असन्तुष्टि देखिने गरेको चर्चा गर्नुभयो ।

“प्रधानमन्त्री र मन्त्रीको काम नीति बनाउने, कार्यक्रम बनाउने र बजेट व्यवस्थापन गरिदिने हो । विकास निर्माणको काम कर्मचारीमार्फत निर्माण व्यवसायीले गर्ने हो”, उहाँले भन्नुभयो । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम गरेको भए पनि ठेकेदारले काम नगरेका कारण गालीचाहिँ प्रधानमन्त्री र मन्त्रीले खानुपर्ने अवस्था आएको बताउनुभयो ।

रासस

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

39454