हङकङका सबै विद्यालयहरु लुनार न्यु इयरसम्म बन्द रहने…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जनवरी। कोभिड १९ को चौंथो लहरसंगै जोखिम बढ्दै गएपछि हङकङका सबै विद्यालयहरु लुनार न्यु इयरसम्म बन्द रहने भएको छ।

शिक्षा ब्यूरोले सोमवार सबै किन्डरगार्टेन, प्राथमिक, माध्यमिक र विशेष विद्यालयका फेस टु फेस कक्षाहरु लुनार न्यु इयरसम्म स्थगित गरिएको घोषणा गरेको छ।

यद्यपि, माध्यमिक विद्यालयका फर्म १ देखि ६ सम्मका विद्यार्थीहरु आधा दिनका लागि विद्यालय जान सक्ने छन्। तर, व्यक्तिगत कक्षाका गतिविधिहरूमा सरिक हुन पाउने छैनन्।

यसअघि फेस टु फेस कक्षाहरु जनवरी १० तारिखसम्म स्थगित भएको घोषणा गरिएको थियो। हङकङमा अझै कोभिड १९ को जोखिम यथावत रहेकोले फेस टु फेस कक्षा निलम्बनको अवधिलाई लुनार न्यु इयरसम्म पुर्याइएको हो।

फोटोः 247 News TODAY

शिक्षा ब्यूरोले फेस-टु-फेस क्लास र स्कूल गतिविधिहरू निलम्बन गरे पनि बिद्यार्थीलाई घरबाट पढ्न र विभिन्न शिक्षण विधिहरूको प्रयोग गर्न विद्यालयहरूलाई स्मरण गराएको छ।

सरकारले किन्डरगार्टन, माध्यमिक विद्यालय, प्राथमिक विद्यालय र विशेष शिक्षा विद्यालयमा स्टाफहरूको लागि नि:शुल्क स्वैच्छिक परीक्षणको व्यवस्था जारी राख्नेछ। स्टाफहरूलाई परीक्षणमा भाग लिन जोडदार आग्रह गरेको छ।

यो समाचार तयार पारुञ्जेलसम्म हङकङमा कोरोना संक्रमितको संख्या ९,०१८ पुगेको छ। त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १५१ पुगेको छ।





Comments

comments

39894