प्रचण्डले किन राखे बालुवाटारमै मेशिनगन

काठमाडौं, माघ २२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्री हुँदा सुरक्षाका लागि ६ दिन सम्म सरकारी निवास बालुवाटारमा मेशिनगन र एलएमजीसहित लडाकु दस्ता राखेको खुलासा गरेका छन्।

तत्कालीन सेनापति रुक्मांगद कटवाललाई हटाएपछि सरकारी सुरक्षा संयन्त्रबाट थ्रेट महसुस गर्दै उनले शक्तिशाली हतियारसहित लडाकुलाई बालुवाटारमा सुटुक्क झिकाएका थिए।

बाहिर सुनिने गरी भृकुटीमण्डप सभाहलमा आयोजित प्रशिक्षणमा प्रचण्डले बालुवाटामार केही दिन लडाकुका हतियार लुकाएर राखेको खुलासा गरेका हुन्। ‘मर्नै परे पनि एकछिन लडेर मरौं भन्ने लाग्यो। ६ दिनसम्म एलएमजी र मेसिनगन रातिराति बालुवाटारमा लगेर राखियो’, दाहालले भने।

प्रधानमन्त्रीको हैसियतमा प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय संवैधानिक राष्ट्रपति रामवरण यादवले उल्ट्याइदिएको प्रसंग पनि दाहालले कोट्याए। ‘म सिंहजस्तो प्रधानमन्त्रीलाई मुसाजस्ता राष्ट्रपतिले फालिदिए।

त्यो सेना, प्रशासन र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको तामेलीबाहेक केही थिएन’, उनले भने। प्रधानसेनापति रुक्मांगद कटवाललाई बर्खास्त गरेपछिका ६ दिन आफूले आफ्नो सुरक्षाका लागि माओवादी लडाकुलाई एलएमजी र मेसिनगनसहित रातिको समयमा बालुवाटारमा लगेर राखेको पनि दाहालले स्वीकार गरे।

प्रमुख प्रतिपक्षी दल एमाओवादीले बाघजसरी गर्जेर जनतालाई आन्दोलनमा उतार्न अगुवा कार्यकर्तालाई निर्देशन दिएको समाचार अन्नपूर्णपोष्टमा प्रकाशित छ। कांग्रेस-एमालेले बहुमतीय प्रक्रियाबाट संविधान जारी गर्ने प्रक्रिया थालेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिएको एमाओवादी नेतृत्वले नेवा र ताम्सालिङका अगुवा कार्यकर्तालाई बुधबार काठमाडौंमा त्यस्तो निर्देशन दिएको हो।

दाहालले भने, ‘संविधानसभामा म हेपिएको छु, गाउँघरमा तपाईंहरू हेपिनुभएको छ। हामीलाई यति धेरै हेपिएको छौँ कि सहनसक्ने स्थिति नै छैन।’ संविधानसभामा आफ्नो टाउको फुटाउन खोजिएको भए पनि त्यो सम्भव नभएको दाहालले बताए। ‘मेरो टाउको फुटाउन खोजिएको थियो, फुटाएको भए राम्रो हुन्थ्यो। मेरो एकचोटि टाउको फुटाउन जरुरी छ’, दाहालले भने।





Comments

comments

4009