यूएईमा एक नेपालीको कथा, सेक्युरिटी गार्डदेखि क्रेडिट अफिसर र व्यवसायीसम्म

अन्तर्वार्ता
म पनि यूएईको नेपाली समुदायमा ठोस योगदान पुर्याउन चाहन्छु- राम चौधरी


आजभन्दा ११ वर्षअघि बिएमडब्लु कम्पनीमा सेक्युरिटी गार्डका रुपमा यूएई आएका सप्तरी लतियाही–९ का राम चौधरीको सपना ठूलै थियो। सरकारी सेवामा कार्यरत बाबुका जेठा छोरा राम चौधरीको पढाइ पनि राम्रै थियो। उच्च शिक्षाका लागि काठमाडौं छिरेका चौधरी वैवाहिक बन्धनमा बाँधिएपछि आत्मनिर्भर बन्नुपर्छ भन्ने भावनाले प्रेरित भएर उनी सन् २००४ मा यूएई आएका रहेछन्। काममा लगनशील तथा बहुप्रतिभाशाली व्यक्तित्वका धनी चौधरीले दुई महिनाको अवधिमै एचआर डिपार्टमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने मौका पाए। हाल सोही कम्पनीमा सिनियर क्रेडिट अफिसरका रुपमा कार्यरत चौधरीको फरक परिचय भनेको अबुधाबीमा सफल नेपाली व्यवसायीको हो।

विश्वकै व्यापारिक तथा ट्युरिज्म गन्तव्य यूएईमा आई व्यवसाय गर्ने नेपालीहरुको संख्या क्रमिक रुपमा बढिरहेको छ। क्षेत्रफलका हिसाबले सात इमिरेट मध्ये पहिलो, यूएईको राजधानी सहर अबुधाबीमा नेपाली व्यवसायीहरुको संख्या बढिरहेको छ । ट्राभल एन्ड टुरिजम, कन्सट्रक्सन, रेस्टुरेन्ट, टे«डिङ, सैलुन, पार्लर आदि क्षेत्रमा नेपाली व्यवसायीले लगानी गरेर समग्र नेपालीहरुको परिचय बदल्ने प्रयास गरिरहेका छन्। त्यसैमध्ये फास्टफुड रेस्टुरेन्टको क्षेत्रमा नेपाली व्यवसायीहरुको उपस्थिति बाक्लो छ। टिपिकल नेपाली स्वादमा दालभात, तरकारी, अचार, ढिंडोदेखि लिएर मम र चाउमिनका स्वादिष्ट परिकार तयार पारी परदेसिएका नेपालीहरुलाई नेपाली स्वाद पस्किरहेका रेस्टुरेन्टको लर्कोमा अबुधाबीको मुटुमा रहेको नेपाल प्यालेस रेस्टुरेन्ट पनि अग्रपंक्तिमा पर्दछ । नेपालीहरुको भेटघाट तथा जमघट गर्ने केन्द्रको रुपमा परिचित इलेक्ट्रा रोडमा रहेको यस रेस्टुरेन्टको सञ्चालक मध्येमा युवा व्यवसायी राम चौधरी रहेका छन्, जो युएईको नेपाली समुदायमा सफल नेपाली व्यवसायीका रुपमा परिचित छन्। खेलकुद, कलाकारिता तथा समाजसेवामा रुचि राख्ने चौधरीले भर्खरै दुबईमा एक जनरल ट्रेडिङको स्थापना गरी नेपाली उत्पादनहरु यूएई भित्र्याउने काम गरिरहेका छन्।

नेपाली चामल, गुन्द्रुक, सुकुटी लयायत अन्य खाद्य सामग्री इम्पोर्ट तथा एक्पोर्ट गरिरहेका र हरेक नेपालीलाई नेपाली सामग्री सस्तो दरमा उपलब्ध गराउदै आएका चौधरीसँग उनको व्यापारिक सफलता, संघर्ष र भावी योजनाबारे हाम्रा सहकर्मी राम ढुंगेलले गरेको कुराकानीको सम्पादित अंशः

प्रश्नः तपाईं यूएई कुन उदेश्य बोकेर आउनुभएको थियो?

म सन् २००४ तिर १ हजार दिराम्स मासिक सेलरीमा काम गर्न बिएमडब्लू कम्पनीमा आएको थिएँ। सेक्युरिटी गार्डको रुपमा काम गर्नुपर्ने जिम्मेवारी थियो । तर, मैले आन्तरिक प्रतिस्पर्धामा भिडेर एचआरमा नाम निकालें । त्यसपछि कम्पनीमा अगाडि बढ्दै गएँ । धनी बाउको छोरा भए पनि बिहे गरेपछि बाबुको कमाइमा आश्रित हुनुहुन्न भनेर म आत्मनिर्भर भई एउटा ठूलो सपना बोकेर आएको थिएँ।

सुरुका दिनमा केकस्ता संघर्षहरु गर्नुभयो ?
संघर्ष त जीवनमा कति गरियो कति ? संघर्ष र इखको कारण त म यहाँसम्म आएको छु । सायद जीवनको अर्को नाम नै संघर्ष हो । रहरले को चाहिँ परदेश जाला र ? यहाँसम्म आइपुग्न धेरै संघर्ष गरेको छु । १६ वर्ष भयो ससुराली जाने अवसर पाएको छैन । छोरा ११ वर्षमा हिडिरहेको छ, उसले मामलीको माया पाएको छैन । मेरी प्यारी जीवनसंगीनी केशरी चौधरीले हाम्रो मायाको खातिर कति त्याग गरेकी छिन्, त्यसको म कदर गर्दछु । यी सबै संघर्षकै रुपहरु हुन् । गहिरिएर अध्ययन गर्ने हो भने एउटा कारुणिक चलचित्र बन्छ मेरो जीवनकथा र संघर्षका कहानी । अझै कति गर्नुपर्छ होला संघर्ष ? संघर्ष र चुनौतीहरुका पहाड नचढी सफलता कसरी हात पर्छ र?

व्यापार गर्ने सपना कहिलेदेखिको हो ?
म सानैमा अलि चञ्चले मान्छे । जे पनि मैले गर्नैपर्ने । कराँते, बक्सिङ, नाचगान, खेलकुद जता पनि मेरो संलग्नता हुन्थ्यो। परिवारको जेठो छोरा । बुबाले केही कमी हुन दिनुभएन । उहाँको प्यार र साथले म उत्साही बन्दै गएँ । पैसा कमाउनुपर्छ भन्ने सपना सानैदेखि थियो । समयले साथ थियो । पार्टनर असल भएका कारण मेरो सपना केही हदसम्म सफल भएको छ । आदरणीय दाइ भीमनारायण श्रेष्ठको प्रेरणा, साथ, सहयोग र हौसलाले गर्दा व्यापारमा हात हालेको हुँ।

रेस्टुरेन्टको क्षेत्रलाई रोज्नुको कारण के हो?
अबुधाबीमा नेपालीहरुको उपस्थिति बाक्लो बन्दै थियो । हामी शुक्रबारे छुट्टीमा नेपाली खाना खान यहाँका इन्डियन रेस्टुरेन्टमा जान्थ्यौं। जताततै नेपालीहरुको भीड हुन्थ्यो । यो एरियामा नेपाली रेस्टुरेन्टको आवश्यकता थियो । नेपाली स्वाद र आत्मीय सर्भिसको संगम गर्न सके व्यापार फस्टाउने विचार गरेर रेस्टुरेन्टको क्षेत्र रोजेको हो।

तपाईंको रेस्टुरेन्टको राम्रो पक्ष के हो ?
यहाँको राम्रो पक्ष भनेको नेपाली स्वाद हो । आफ्नै भान्सामा पकाएको जस्तो स्वाद दिन नेपाल प्यालेस रेस्टुरेन्ट सदा तत्पर छ । अनि सर्भिसमा आफ्नोपन । हामी सबै कस्टमरलाई आफ्नै परिवारमा सदस्यझैं व्यवहार गर्छौं। हाम्रा परिकारहरु स्वादिष्ट, स्वच्छ, ताजा र सफा छन् भन्ने धेरै नेपालीहरुले बुझिसकेका छन् । अबुधावीको मुटुमा रहेका कारण हामीलाई लोकेसनले साथ थिएको छ । हाम्रो किचन अलि सानो भएका कारण केही कठिनाइ भएको छ तर हामी सर्भिसलाई अझ स्तरवृद्धि गर्ने अभियानमा छौं।

तपाईंहरुको टार्गेट कस्टमर को हुन् ? ती कस्टमरलाई कसरी आकर्षित गर्ने योजना छ?
हाम्रो टार्गेट कस्टमर नेपालीहरु नै हुन् । युरोपियन र अमेरिकीहरु पनि आउँछन् । अरबी, इन्डियन र फिलिपिनीहरु प्नि मम र चाउमिनका लागि आउँछन् । अधिकांश कस्टमरहरु नेपालीहरु हुन् । नेपाली खाना नै हाम्रो मुख्य मेनु हो । सस्तो दरमा स्वादिष्ट खाना खुवाउनेमा हामी पनि पर्छौं । उनीहरुलाई आकर्षित गर्न हामी क्रियाशील छौं।

व्यापारमा कति जना पार्टनर हुनुहुन्छ । कसरी कार्यविभाजन गर्नुभएको छ?
सबै व्यावसायमा एक जना अरबी पार्टनर त अनिवार्य हुन्छन् नै। त्यसका अतिरिक्त मलाई मार्गदर्शन गर्ने आदरणीय भीम दाइ हुनुहुन्छ । वहाँ युएईको नेपाली समाजमा अत्यन्त इमानदार, सहयोगी र विश्वासिलो व्यक्तित्व हुनुहुन्छ । वहाँको सल्लाह र योजनाअनुसार काम भइरहेको छ । हामीले चाइनाक्याम्पमा डाँफे नेपाली रेस्टुरेन्ट पनि सञ्चालन गरिरहेका छौं । भीम दाइले आइक्याडमा काठमाडौं रेस्टुरेन्टको मेनेज्मेन्ट गरिरहनुभएको छ । हामीबीच एकअर्कामा विश्वास र अन्डरस्ट्यान्डिङ छ।

तपाईंका भावी योजनाहरु केके छन् ?
मैले व्यापारलाई व्यापक ढंगले विस्तार गर्न लागेको छु। दुबईलाई केन्द्र बनाएर नेपाली प्रोडक्टहरु जस्तै गुन्द्रुक, भटमास, सिकुटी, टिम्बुर, चामल लगायत दैनिक उपभोग्य सामग्रीहरु इम्पोट र एक्पोर्ट गर्ने कम्पनी स्थापना गरिसकेको छु । चामल अहिलेको भाउभन्दा करिब आधा सस्तोमा यूएईबासी नेपालीहरुको कोठाकोठामा पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छु । प्रोडक्टहरुको नमुना पेस गरेर विभिन्न निकायमा वैधानिक तरिकाले पास गराएर काम अगाडि बढिसकेको छ । म मार्केटिङ, रिसेस्सन र एकाउन्टिङ ब्याकग्राउडका कर्मचारीहरु खोजिरहेको छु । व्यापारिक नीति र बोनसको सिस्टममा परिवर्तन ल्याउने योजनाका साथ काम गरिरहेको छु। अलि व्यापक र फरक तरिकाले प्रभावकारी काम गर्दैछु। मलाई नेपाली समुदायको साथ चाहिएको छ । म पनि यूएईको नेपाली समुदायमा ठोस योगदान पुर्याउन चाहन्छु।

समाजसेवामा निकै रुचि राख्नुहुन्छ रे नि ?
सामाजिक प्राणी भएपछि समाजसेवामा रुचि त्यसै पनि भइहाल्छ । व्यापारीले पनि यही समाजमा व्यापार गर्ने हो। त्यसकारण समाजप्रति व्यापारीहरुको अझ ज्यादा झुकाव हुनुपर्छ । सहयोगको आशा गरी आउनेहरुलाई मैले निराश बनाउने गरेको छैन । ससाना सहयोग त कति गरियो कति ? त्यसको लेखाजोखा छैन । यूएईमा रहका नेपाली संघसंस्थाहरुको बैठक गर्न करिब ४० जनासम्म भेला भइ सानोतिनो कार्यक्रम गर्न बर्जुमान सेन्टरमा रहेको मेरो अफिसको हल निःशुल्क दिने विचार गरेको छु।





Comments

comments

4097