नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। अमेरिकाको कोलोराडोस्थित बोल्डर शहरमा आगामी नोभेम्बर २३ मा आयोजना हुने ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ को तयारी पूरा भएको छ।
नेपाल फिल्म सोसाइटी नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए, हेल्पिङ ह्यान्ड्स हेल्थ एजुकेशन र फिलिप हार्मोनी अर्केस्ट्रा बोल्डरको संयुक्त आयोजनामा ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम हुन लागेको हो।
कार्यक्रममा सहभागी हुन नेपालबाट वरिष्ठ अभिनेता निर शाह, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, हास्य साम्राज्ञी बसुन्धरा भुसाल, हास्य कलाकार केदार घिमिरे, नेपाल फिल्म सोसाइटी नेपालका अध्यक्ष तथा वरिष्ठ कलाकार कृष्ण मल्ल, चर्चित नायकहरू प्रदिप खड्का, दिलिप रायमाझी, चर्चित नायिकाहरू शर्मिला मल्ल, केकी अधिकारी, गरिमा शर्मा, दिव्या रायमाझी, चरित्र अभिनेता रामचन्द्र अधिकारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता तथा चलचित्र निर्माता मधुकुमार श्रेष्ठ लगायत २ दर्जनभन्दा बढी चर्चित कलाकर्मीहरू कोलोराडो आउने भएका छन्।
नेपाली मौलिक कला संस्कृतिको पहिचान विश्वमाझ पुर्याउने तथा नेपाली फिल्मकर्मीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई भव्यताका साथ सफल पार्न कोलोराडो निवासी नेपाली भाषी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको सहयोग र सहभागिताका लागि ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएका अध्यक्ष नवराज श्रेष्ठले सबैलाई हार्दिक अनुरोध गरेका छन्।
कार्यक्रममा निःशुल्क सहभागी हुन पाइने भए तापनि अनिवार्य प्रवेश पासको व्यवस्था गरिएको छ। प्रवेश पासका लागि ग्लोबल नेपाली फिल्म अवार्ड यूएसए लगायत कोलोराडोमा सक्रिय नेपाली संघसंस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी पास प्राप्त गर्न सकिने अध्यक्ष श्रेष्ठले बताएका छन्। कार्यक्रम बोल्डर थिएटरमा नोभेम्बर २३ तारिख आइतबार साँझ ४ बजेदेखि सञ्चालन हुनेछ।
नेपाली फिल्म भिलेज टु ग्लोब भन्ने नारासहित आयोजना हुन लागेको ८औँ एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२५ फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१६ देखि आयोजना हुँदै आएको छ। संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्यले यस अवार्ड कार्यक्रम सुरु गरिएको श्रेष्ठले बताएका छन्।
आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान गाउँदेखि विश्वबजारसम्मको नारा लिएको ग्लोबल नेपाली फिल्म अवार्ड चलचित्रकर्मीको प्रोत्साहन र सम्मानका लागि सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको छ। यस अवार्डका अघिल्ला ७ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क जस्ता शहरमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
मातृभूमिमा रहेर कलाकारितामा ख्याति कमाएका चर्चित कलाकर्मीहरूसँग प्रत्यक्ष भेटघाट गरी कुराकानी गर्न पाउने यस स्वर्ण अवसरमा समारोहमा सहभागी हुनुहोस् र कार्यक्रमलाई भव्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोग पुर्याउनुहोस्।


