कोभिड खोप लगाउन १ करोड ३० लाख ‘सिरिन्ज’ किनिँदै

कोरोना खोप सबै जनतासम्म पुर्‍याउने उद्देश्यले सरकारले ग्लोबल टेन्डरमार्फत ‘सिरिन्ज’ किन्ने प्रक्रिया थालेको छ। कोभिड खोपका लागि १ करोड ३० लाख थान सिरिन्ज किन्न स्वास्थ्य सेवा विभागले प्रक्रिया अघि बढाएको हो।

स्वास्थ्य सेवा विभागका खरीद विभाग प्रमुख उपेन्द्र ढुंगानाले कुल जनसंख्याको २० प्रतिशतलाई खोप पुर्‍याउने गरी सिरिन्ज किन्ने प्रक्रिया थालिएको बताए । उनका अनुसार प्रतिस्पर्धाका माध्यमबाट सिरिन्ज किन्ने ठेक्का स्वदेशी तथा विदेशी कम्पनीलाई दिइनेछ।

कोभिड–१९ आपत्कालीन राहत कार्यक्रमअन्तर्गत एशियाली विकास बैंक तथा विकास साझेदारहरूले सहायता दिने बताएका थिए । सोहीअनुसार विभागले सिरिन्ज किन्न लागेको ढुंगाना बताउँछन्।

आगामी अप्रिलभित्रै सिरिन्ज ल्याइसक्ने गरी टेन्डर प्रक्रिया अघि बढेको उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम धेरै मात्रामा सिरिन्ज किन्नुपर्ने भए पनि एकैपटक नकिनिने तर चरणबद्ध रूपमा किनिने बताउँछन्।

फाइल फोटो

उनका अनुसार पहिलो चरणको सिरिन्ज चाँडोमा अप्रिलभित्रै ल्याइनेछ । स्वास्थ्य सेवा विभागका अनुसार अहिले ६० लाख थान सिरिन्ज नियमित खोप कार्यक्रमका लागि छ । यद्यपि स्टकमा भएको सिरिन्ज अरू खोपमा समेत प्रयोग गर्नुपर्ने भएकाले अहिलेको स्टक पर्याप्त नरहेको विभागका अधिकारीहरू बताउँछन्।

कोरोना खोपका लागि अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई स्रोतको सुनिश्चिता गरिदिने यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सरकारले शुरूमा ३ प्रतिशत जनसंख्यालाई तत्काल खोप लगाउनेछ।

पहिलो चरणमा चिकित्सक, सुरक्षाकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, अस्पतालमा काम गर्ने सबै तहका व्यक्ति, महिला स्वयंसेविकालगायतलाई खोप लगाउने तयारी रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ।





Comments

comments

40104