‘थुनेर नपिट्न’ राष्ट्रपतिको आग्रह

काठमाडौं, माघ २१ – राष्ट्रपति डा.रामवरण यादवले बिग्रंदो राजनीतिक अवस्था समाल्न सत्तापक्षीय नेताहरूलाई ढोका थुनेर नबस्न आग्रह गरेका छन। सत्तापक्षीय नेताहरू प्रधानमन्त्री सुशील कोइराला र एमालेका अध्यक्ष केपी ओलीसँग राष्ट्रपति यादवले छुट्टाछुट्टै भेट गरेका छन् भने पुष्पकमल दाहालसहितका विपक्षी नेताहरूसँगको भेटमा संविधानसभा छाडेर नहिँड्न उनले आग्रह गरेका छन्।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग पनि उनले दुई दिनअघि भेट गरेका थिए। प्रधानमन्त्रीसहित सत्तारूढ दलका नेतासँगको भेटमा राष्ट्रपति यादवले वार्ताको ढोका बन्द नगर्न र सर्तहरू अघि नसारी विपक्षीसँग वार्तामा बस्न आग्रह गरेका छन्।

संविधान निर्माणबारे दलहरूबीच तिक्तता बढेपछि राष्ट्रपति यादवले एक्लाएक्लै र सामूहिक रूपमा पनि भेटघाट गर्दै साझा बिन्दु पहिल्याउन सुझाव दिइरहेका छन्। स्रोतका अनुसार नयाँ संविधान नबनेसम्म शान्तिप्रक्रियाले पूर्णता नपाउनेतर्फ राष्ट्रपतिले सत्तारूढ दलका नेताहरूलाई सचेत गराएका छन्।

प्रतिपक्षका धारणामात्र सुन्ने र छलफल गर्ने सबै ढोका बन्द गर्ने हो भने ढोका थुनेर बिरालो पिटेजस्तो अवस्था आउनसक्ने भन्दै उनले अधिकतम लचकता अपनाउन कांग्रेस-एमालेका नेताहरूलाई सुझाएको स्रोतले बतायो। उनले प्रधानमन्त्री कोइरालालाई विद्रोही शक्तिलाई कहीं न कहीं स्पेस (ठाउँ) दिएर अघि बढ्नु उपयुक्त हुने भन्दै बिग्रन लागेको बाटोलाई संविधान निर्माणतिरै सोझ्याउन पनि अनुरोध गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

मंगलबार बिहान शीतल निवास पुगेका प्रधानमन्त्री कोइरालाका प्रमुख स्वकीय सचिव तथा कांग्रेस नेता वसन्तकुमार गौतममार्फत राष्ट्रपति यादवले सत्तारूढ दल सबैभन्दा बढी जिम्मेवार हुनुपर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

‘राष्ट्र हाम्रो हो, त्यसैले सबै मिलेर स्थायित्व कायम राख्नुपर्छ भन्ने नेपाली जनताको चाहना पूरा गर्नुपर्ने मुख्य दायित्व सरकारले ध्यान दिनुपर्छ’, राष्ट्रपतिलाई उद्धृत गर्दै स्रोतले भन्यो। राष्ट्रपति यादवले एमाओवादी अध्यक्ष दाहाललाई पनि संविधानसभा छाडेर नजान अनुरोध गरेका छन्। शान्तिप्रक्रियाको एउटा मुख्य हिस्सा र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको हस्ताक्षरकर्ता भएकाले यसलाई टुंगोमा पुर्‍याउने दायित्वबाट पछि नहट्न उनले दाहालसँग आग्रह गरेका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4074