नयाँ जहाजले अर्को सातादेखि हङकङ र बैंकक उडान भर्ने…

काठमाडौं, फागुन १९ – नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ‘ए३२०–२००’ सिरिजको जहाजबाट अर्को सातादेखि बैंकक र हङकङ उडाउने भएको छ।

हाल यो जहाजले भारतको नयाँदिल्लीका लागि सातामा चार उडान गरिरहेको छ। ‘नयाँ जहाजबाट अर्को सातादेखि बैंकक उडान सुरु गर्छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले भने, ‘बैंकक सुरु भएको एक सातापछि हङकङ उडान थाल्छौं।’

बोइङ ७५७ मा टिकट बुकिङ गरेका यात्रुलाई ए३२० बाट हङकङ पठाइने निगमको भनाइ छ। जुनसुकै जहाजमा गए पनि निगमले भाडा दर भने यथावत राखेको छ। हङकङका लागि करसहित दुईतर्फी प्रतियात्रु ५८ हजार रुपैयाँ र बैंककका लागि दुईतर्फी न्यूनतम ३१ हजार रुपैयाँ रहेको छ।

बोइङले हङकङ उडान भर्न नपाउने
करिब तीन दशकदेखि अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेका नेपाल वायुसेवा निगमका दुईवटा ‘बोइङ ७५७’ जहाज हङकङ जान नपाउने भएका छन्। हङकङले दुवै जहाजलाई अबको एक महिनासम्म मात्र उडान गर्न पाउने समयसीमा तोकिदिएपछि ७५७ को बाटो बन्द हुने भएको हो।

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०१२ भित्र त्यहाँ उडान–अवतरण गर्ने जहाजमा ‘रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर–वान’ (आरएनपी–वान) प्रविधि अनिवार्य जडान नगरे त्यस्ता जहाजलाई अवतरण गर्न नदिने नीति ल्याएपछि त्यसको चपेटामा निगम पनि परेको हो। २०१३ पहिलो महिनाबाट हङकङ विमानस्थलमा निगमका बाहेक आरएनपी–वान प्रविधि जडित जहाजमात्र उडान–अवतरण भइरहेका छन्।

त्यसबेला निगमको आग्रहपछि हङकङले निगमका जहाजलाई आरएनपी–वान प्रविधि जडान नगरे पनि उडान–अवतरण सुविधा दिँदै आएको समाचार नागरिक दैनिकले प्रकाशित गरेकोछ। पछिल्लो पटक हङकङले निगमका जहाजमा उक्त प्रविधि जडान गर्ने दिएको अन्तिम मिति गत शनिबार (फागुन १६) सम्म थियो। निगमले भने अन्तिम मिति आउनुअघि नै पुनः आग्रह गरेपछि थप एक महिना (आगामी चैत १७ सम्म) उडान म्याद पाएको छ।





Comments

comments

4143