तीन दिनसम्म अस्पतालका बेडमै रहन्छन् शव!

सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले ।

उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवाबासी भयो । शोकसन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने तीन दिनसम्म चहिरह्यो । बिहीबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियू बेडमै थियो ।

मृत्यु भइसकेपछि शव किन उठेको छैन ? छिमेकी बेडका बिरामीका कुरुवाले सोध्दा अस्पताल प्रशासनले भन्यो, ‘मृतकको छोरा दिल्लीमा छन्, उता पनि लकडाउन भएकाले आउन समस्या भएको छ, छोरो आउनासाथ बेडबाट निकालिन्छ ।’ शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा शव व्यवस्थापन भयो ।

.

पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन् । वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन् । यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पा¥यो रु त्यो त छँदै छ । तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ । शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन् ।

भेरी कोरोना विशेष अस्पताल नेपालगन्जमा उपचाररत सल्यान बागचौर नगरपालिका– १२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे ज्यान गयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई त्यसको जानकारी भए पनि शव व्यवस्थापनका लागि आएनन् । बेलुकी ६ बजेसम्म उनको शव बेडमै थियो ।

आफ्नैअगाडि छेउको बिरामीले ज्यान गुमाएपछि पल्लो बेडमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका– २ खैरापुरका निर्मल बुढाथोकी हतास बने । जिउ फतक्क गलेजस्तो भयो । शरीर ल¥याकलुरुक भयो । सास फुल्यो । उनले पल्लो बेडको शवतर्फ हेर्न नै सकेनन् ।

‘आफ्नैअगाडिको बिरामीले मृत्युवरण गरेको देखेर छटपटी भयो । आफूलाई पनि त्यस्तै हुने हो कि भनेर मन पोल्यो । त्यता हेर्न नसकेर अन्तै मुख फर्काएर पल्टिएँ,’ बुढाथोकीले भने, ‘बोल्दाबोल्दै सास गएको देखेर मन निकै व्याकुल हुन्छ ।’ उनले आफ्नै आँखाअगाडि धेरै बिरामीले ज्यान गुमाएको देखेका छन् ।

बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका– २ का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरैपटक आग्रह गरे । तर, कसैले सुनेन । बेलुकी ६ बजेपछि मात्रै शव बाहिर निकालियो । ‘दिनभर शव बेडमै राखिरहँदा अन्य बिरामी र कुरुवालाई ठूलो तनाव हुने गरेको पौडेलले बताए । भन्छन्, ‘हाम्रो बिरामी रहेको बेडनजिकै भएकाले हामीलाई दिनभर तनाव भयो । आफ्नै आँखाअगाडि मरेको बिरामीको शव दिनभर हेरेर बस्नुपर्दा बिरामीलाई झन् कस्तो भयो होला ? तपाईं आफैँ सोच्नुस् ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।





Leave a Reply

41955
%d bloggers like this: