अस्पताल जान ढिलो गरे जान सक्छ ज्यान

काठमाडौं महाराजगन्जका ३३ वर्षीय भूपाल थापाको घर त्रिवि शिक्षण अस्पतालनजिकै पर्छ। हिँडेर जाँदा पनि उनी केही मिनेटमै यो अस्पताल पुग्न सक्थे।

१० दिनअघि उनलाई ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिए। दुईचार दिन घरमै हेरौं भन्दै बसे। समस्या बढ्दै गएपछि उनको परिवारले शिक्षण अस्पतालमा भर्नाका लागि खोजी गरे। तर भर्ना पाउन नसकिने जवाफ पाएपछि काठमाडौं मेडिकल कलेज जोरपाटी पुगे।

त्यहाँ पुग्दा थापालाई श्वास फेर्न कठिन भइरहेको थियो। अस्पतालले आइसियु छैन भन्दै जनरल बेडमा राख्यो। फेरि शिक्षण अस्पतालमै आइसियुको खोजी भयो। आइसियु खाली थिएन। उनलाई मेडिकल कलेजको जनरल बेडमा अक्सिजन दिएर राखियो। अस्पताल पुगेको तेस्रो दिन उनको मृत्यु भयो। पारिवारिक स्रोतका अनुसार उनमा कुनै पनि दीर्घरोग थिएन। कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको आफन्तको दाबी छ। आइतबार वीर अस्पताल ल्याउँदाल्याउँदै कीर्तिपुरका ३८ वर्षीय युवकको मृत्यु भयो। उनलाई होम आइसोलेसनबाट वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। युवक किन ढिला पुगे भन्ने विषयमा जानकारी छैन।

फाइल फोटो

उनीसहित दिउँसोसम्ममा चारजनाको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाँच दिनयता वीरमा मात्र दैनिक चारपाँच जनाको दरले कोरोना संक्रमितको मृत्यु हुने गरेको छ। शिक्षण अस्पतालका अनुसार आइतवार अस्पताल आइपुगेको केही समयमै ३० वर्षीय युवकको आइसियुमा मृत्यु भयो। उनी पालो पर्खेर आइसियु पुग्ने क्रममा मृत्यु भएको अस्पतालका आइसियु विभाग प्रमुख डा.सुभाष आचार्यले बताए। अस्पतालको अक्सिजन क्षमताभन्दा बढी बिरामी भर्ना भएका छन्। अस्पतालको क्षमताभन्दा १० गुणा बढी खपत हुने कारण सबैलाई अक्सिजन पुग्दैन। त्यसको विकल्प सिलिन्डर र अस्थायी लाइन अक्सिजन व्यवस्थापन गरिएको छ। डा.आचार्यका अनुसार कोभिड आकस्मिक कक्षको ढोकामा जबरजस्ती बसेका बिरामी जो तुरुन्तै अक्सिजन चाहिने अवस्थाका हुन्छन् र वृद्ध पनि हुन्छन्, भनेको बेला अक्सिजन नपाउँदा त्यस्ता बिरामीको मृत्यु हुने गर्छ।

शुक्रराज सरुवा रोग अस्पतालले पनि क्षमताभन्दा बढी बिरामी आएका कारण अक्सिजन व्यवस्थापन गर्न हम्मे परेको जनाएको छ। अस्पतालका निर्देशक डा.सागर राजभण्डारीका अनुसार अस्पतालको बेड क्षमताभन्दा बढी बिरामी राखेर सिलिन्डरबाट औषधि दिइएको छ। ‘अरू अस्पतालले पन्छाउन खोज्छन्, स्वाँस्वाँ भएर आएका बिरामीलाई फर्काउन सकेनौं’, उनले भने। लिक्विड प्लान्टले आइसियु र भेन्टिलेटरलाई मात्र थाम्ने भएकाले अरू बिरामीलाई अक्सिजन व्यवस्थापन गर्न कठिनाइ परेको उनले सुनाए। शिक्षण अस्पतालका कोभिड उपचार संयोजक डा. सन्तकुमार दासका अनुसार धेरै जसो बिरामीको ढिलो उपचारमा पुग्दा मृत्यु हुने गरेको छ। पाँच दिनसम्म ज्वरो आउने, खोकी लाग्ने भएमा र श्वास–प्रश्वासमा कठिनाइ आउने बित्तिकै अस्पताल पुगेमा कुनै न कुनै व्यवस्थापन हुने र यस्ता बिरामीलाई बचाउन सकिने उनी बताउँछन्। ‘अहिलेको कोरोनाका बिरामीमा अनिश्चित समयमा निमोनिया देखिएकाले ज्वरो र श्वासको समस्या बढ्नेबित्तिकै अस्पताल पुग्नुपर्छ’, उनले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

42128