कथा,
भीम राई –
‘मम्मी ! बाइ बाइ !’
गोधुँली साँझमा थरर काम्दै उनको मुखबाट निस्केको त्यो अस्पष्ट शब्द हावाको गतिसँगसँगै मिसिरहेको थियो । तिनै शब्दले राम्ररी पुर्णबिराम लिन नपाउदै आफ्नो प्यारी मम्मीको नजिकै पुगेर उनले गर्ल्याम्मै अङ्गालो हाल्यो र एकछिनसम्म अङ्गालोमा बाँधिइरह्यो।
[su_quote]सिम्मा त्यसबेलासम्म हर्टन अस्पतालको मृत्युशैयामा छटपट्टी रहेकी थिइन्। तर छोराको अन्त्येष्टि गर्ने दिन उनको पनि असामयिक देहान्त भयो । हाम्रो परिवारमा तीनजना सदस्य थियौ, आखिरमा म पापी मात्र बाँचें। यदि म पनि मरेको भए हाम्रो पारिवारिक इतिहास नै समाप्त हुन्थ्यो होला। तर, त्यसो नभएकोले म एक्लै हानवेल चिहान डाँडामा पुगेको थिएँ । कोरोना भाइरसको महामारीले त्यहाँ कोही मलामीहरु उपस्थित भएका थिएनन्। छोराको शरिर जमिनमा गाडिने समयमा त्यहाँ शोकका धुनहरु बज्न सकेनन् र कोही फूल चढाँउन उपस्थित भएनन्।[/su_quote]
घरको भुइतलामा काठका ठूल्ठूला फल्याकहरु बिछ्याइएका थिए । तिनै फल्याकहरुमाथि उनले टेकेको टकटक आवाज पर्खालको भित्तासम्म पुगेर प्रतिध्वनिमा परिवर्तन भइरहेका थिए । त्यसरी आएको आवाजहरुसँगै निरजका सुस्तसुस्त कदमहरु घरको मुलढोका नजिकै पुगेको थियो । मूल ढोकामा पुगेर घन्द्रङ्ग ढोका खोलिँदा टकटक एकोहोरो आइरहेको आवाज परिवर्तन भइसकेका थिए । तीनै आवाजसँगसँगै ऊ घरदेखि सरासर बाहिर निस्क्यो । घरदेखि बाहिर निस्किदा उनको दाहिने काँधमा ल्यापटप राख्ने सानो झोला झुन्डिरहेको थियो । यदि त्यो झोलालाई राम्ररी नजर लगाउने हो भने झोला एकाध लिङ्गेपिङझै हल्लिरहेको थियो । खै किन हो किन उनले त्यस झोलालाई खासै वास्ता गरिरहेको देखिएको थिएन तर देब्रे हातले कारको चाँबीलाई कक्रकै समातिरहेको मैले एकदम नजिकदेखि नियालिरहेको थिएँ ।
हाम्रो घरको ठिक बायाँतिर नोराल सडक पर्दथ्यो । तिनै सडक किनारमा निरजको कार गत रातदेखि मज्जाले आराम गरिरहेको थियो । तीनै कारको सहयोगले ऊ बिगत पाँच बर्षदेखि काममा जाने र आउने गरिरहेका थिए । उनले काम सुरु गरेदेखि बचाँएको पहिलो ६ महिनाको तलवले खरिद गरेको त्यो नै उनको जीवनको पहिलो कार थियो । तर, जतिजति उनको टाउकोको केस पाक्दै गइरहेको थियो, कारको उमेर पनि उनको उमेरसँगसँगै ढल्कदै जाँदै थियो।
घर बाहिर निस्केपछि निरज कछुवा गतिमा हिडेर कारको नजिकै पुग्यो । त्यहाँ पुग्ने बितिक्कै कारको ढोका खोल्यो र थपक्कै झोलालाई उनको बायाँ सिटमा राख्यो । त्यसपछि कर्के नजरले मलाई एकझलक हेर्दै कारभित्र पस्यो । कारको सिटमा राम्ररी बस्न पाउँदा नपाउँदै खट्टट कारलाई स्टार्ट गरिहाल्यो । आफ्नो छोराले घर छाडने बेलामा एकमुरी पिरको भारी बोकेर म तिनै सडकको पेटिमा उभिरहेको थिएँ । र, उनले घर छाडनै लागेको त्यति बिरमाइलो दृश्य राम्ररी नियालीरहेको थिएँ । लिभरपुल सहर छाडेदेखि म्यानचेस्टर, बर्मिङघाम, वुस्टर र कभेन्ट्रिमा ऊ पटकपटक कामको सिलसिलामा डेरा सरिरहेको थियो । ति सबै बिगतका समयलाई औंला भाँचेर गन्ने हो भने पाँचवटा बिरमाइलो हिउँदहरुसँग मिसिएर बितिसकेका थिए तर अझै यसरी कतिवटा हिउँदहरु बिताउनु पर्ने होला भनेर म थोरै भावुक बनिरहेको थिएँ।
समय बेलुकीको ७ बज्नै लागेको थियो । निरजले कार स्टार्ट गरेपछि खाली सडकमा कारको इन्जिनले कोलाहलमय वाताबरणलाई थोरै चुनौती दिइरहेको थियो । ऊ त्यसबेला ‘जोन रेडक्लिफ अस्पताल, अक्सफोर्डमा’ जानको लागि तयार हुँदै थियो । तर, के गर्ने ? त्यसबेलाको परिस्थिती पहिले पहिलेको जस्तो सहज पटक्कै थिएन, बिलकुल फरक थियो । गत डिसेम्बर महिनादेखि वुहान, चीनमा उत्पन्न भएको कोरोना भाइरसले बेलायत पनि अछुतो रहन सकिरहेको थिएन । र, तीनै भाइरसलाई वशमा ल्याउनको लागि अर्को हप्तादेखि पुरै बेलायत लकडाउनमा जाँदै थियो।
अझै सबैभन्दा खेदजनक कुरो त के थियो भने तिनै कोरोना भाइरसले स्पेन र इटालीमा मरेका मानिसहरुको लासको पहाडलाई ब्यवस्थित गर्न त्यहाँको सरकारहरुलाई हम्मेहम्मे परिरहेको थियो । तिनै बिरमाइलो समाचारका हेडलाइन्सहरु हरेक बेलुकी टेलिभिजनको पर्दामा देखिँदा मेरो आङ्ग जिरिङ्ग जिरिङ्ग हुने गर्दथे । सारा विश्वभर आक्रन्त फैलाउने त्यस भाइरसले मानब जीवन नै तहसनहस पार्ने हो कि के हो भनेर म भयानक चिन्तामा डुबिरहेको थिएँ । अझै भाइरसले सबैभन्दा बढि असर त चीनदेखि इटालीसम्मको चिकित्सकहरुलाई नै पहिले मृत्युको काखमा पुरयाइरहेका थिए।
‘अब तिनै कोरोना भाइरसले कसको आँसु छचल्किएर पहिले पोखिने हो ?’ भन्दै मैले त्यसबेला सडक किनारमा बिछ्याइएका अलकत्रतर्फ निक्कैबेर हेरेर आफूले आफैलाई प्रश्न गरिरहें।
हामी तिनताका बेलायतको एउटा सानो गाउँ बानबुरीमा बस्दै आएका थियौं । तिनै गाउँ बानबुरीमा गत रात विशाल हावा र हुन्डरी चलेको थियो । ठूल्ठूलो बछिटा सहित घरको चौंघेरामा रातभरी पानी बर्षेको थियो । बेलायतमा बसाइ सरेपछि त्यति धेरै आकास गड्याङगुडुङ्ग गर्दै मेघ गर्जेको त्यस रातभन्दा पहिले कहिले सुनिएको थिएन । वास्तवमा भन्ने हो भने त्यसरातको नरमाइलो मौसमलाई उदेक नै मान्नु पर्छ । तिनै मौसमलाई सोच्दै गर्दा मेरो भित्री हृदयदेखि निस्केका अनुत्तरित प्रश्नहरु त्यसबेलासम्म उथलपुथल नै भइरहेका थिए।
साच्चै ! समय हामी मानिसहरुको सामु कति बलवान हुनेरहेछ भन्दै म निक्कैबेरसम्म गमिरहेको थिएँ । अनि कुन समयमा कुन दिशाबाट कस्तो प्रकारको हुरी बहन्छ भनेर कसैलाई पत्तै नहुने रहेछ । अझै भनौ, समयले त्यसबेला हामीलाई मानिसहरुदेखि मानिस डराउने समय ल्याइसकेको थियो।
म त्यस बेलासम्म एकाध सडकको किनारमा उँभिरहेको थिएँ । बेलुकी पखको समय सुस्तरी झिसमिसे अध्याँरोमा परिवर्तन हुन थालिसकेको थियो। सडक किनारमा बिजुली बत्तिका ठूल्ठूला खम्बाहरु समानान्तर रुपले गाँडिएका थिए । बेलुकीको ठीक ७ बज्ने बितिक्कै बिजुलीको स्वचालित बत्तिहरु एउटै समयमा झ्वाप्पै बलेर पुरै गाउँ उज्यालो बनायो । त्यसबेलासम्म रिमरिम अध्याँरोमा लुकिरहेको छोराको मुहार बत्तिको प्रकाशले टलक्कै टल्किएको मैले नजर गरें । अझै तिनै बत्तिको प्रकाशले टल्किएको उनको मुहारलाई मैले निक्कै लामो समयसम्म हेरिरहें किनभने त्यो भन्दा उसो अब भेटन पाइएला कि नपाइएला भनेर म ठूलो पिरको भुँमरीमा डुबिरहेको थिएँ।
छोराले कारभित्र उनको समानहरु मिलाइ सकेपछि हिड्नको लागि तयार भयो । तैपनि कार हिडाउन पूर्व उनका नजरहरु एकचोटि म तर्फ हानिएर आयो । म अमुक दर्शकझैं बनेर सडक किनारमा त्यसबेलासम्म उँभिरहेको थिएँ । त्यसरी छोरालाई अन्तिम चोटी बिदाइ गर्नुपर्दा म पिरमा त यस्सै डुबिरहेको थिएँ, तर कुन शब्दले अन्तिम बिदाई गर्नु पर्नेहोला भनेर झन भयभित बनिरहेको थिएँ । किनभने कोरोना भाइरसको महामारीले फेरि हाम्रो भेट हुने हो कि नहुने हो भनेर मेरो मनभित्र त्राशको ज्वारभाँटा झनझन बेगमा उत्पन्न भइरहेको थियो।
हुनत स्वभावैले म अति बोलक्कड मान्छे थिएँ । तर, त्यसबेला मलाई जिन्दगीमा शब्दहरुको निक्कै ठूलो खडेरी लागेको महसुस भयो । त्यसरी छोरालाई बिदाइ गर्ने समयमा शब्दहरुको आवश्यक्त्ता खडकिएको सम्भवत त्यो नै मेरो जिन्दगीको पहिलो अनुभव थियो । आखिर म त स्वतः शब्दबिहिन नै थिएँ अझै उनको करुणामय हेराइले मेरो हृदय पुरै क्षतबिक्षत भएर जलिरहेको थियो । तैपनि हामी दुवैजनाको नयनहरु त्यति धेरै लामो समयसम्म सँगै रहन नसकेपछि मैले नै मेरो टाउकोलाई घडीको काँटाझैं सुस्तरी दाहिनेतिर घुमाइ दिएँ।
हिजो बेलुकीदेखि परेको सिमसिमे पानी मध्यान्हमा रोकिएको थियो । त्यति बिघ्न परेको पानीले बानबुरीको ‘हार्डविक हिल’ मज्जाले भिजेको थियो । पानीले लुथुक्रै भिजेको हार्डविक हिलको चुचुरोमा पूर्ण चन्द्रमा टुप्लुकै उदाइरहेको थियो । अन्य समयमा म चन्द्रमालाई अत्याधिक प्रेम गर्ने गर्दथे । त्यसैले हरेक बेलुकी चन्द्रमा उदाएको बेला एक गिलास इटालियन प्रोसेको वाइनको साथमा बैठक कोठाबाटै उनको रमिता हेर्ने गर्दर्थे । अझै कुनै कुनैदिन त स्कटिस हाइल्याण्डर सिङ्गल माल्टको चुस्कि लिँदै चन्द्रमालाई हेरेर घण्टौ समय बिताइरहेको हुन्थे । मादक पदार्थको सेवनले मदहोस भएपछि तिम्रो सुन्दर बक्षस्थलमा मानवहरुले चुम्वन गरिसकेका छन् भनेर कुकुरझैं एक्लै भुनभुनाएर भुक्ने गर्दथे । तर, त्यसबेलुकी मलाई त्यो पापी चन्द्रमाले किनकिन आकर्षण गर्न सकिरहेको थिएन बरु उनको मुस्कानले उल्टो बितृष्णा पो पैदा गराइरहेको थियो।
त्यस्तो पापीष्ठ चन्द्रमालाई निक्कैबेर नजर लगाएपछि बोझिलो टाउँकोलाई सर्लक्कै दायाँतर्फ फर्काइ दिएँ । त्यसरी टाउँकोकोसाथमा दायाँ फर्केका मेरा तृप्त नयनहरु भान्साकोठाको झ्यालमा पुगेर ठङलङ्गै ठोकिएको मैले त्यसबेला अनुभूति गरें । भान्साकोठाको झ्यालहरु दुईतिर बङलङ्गै खोलिएका थिए । रात पर्नै लाग्दा आएको फुरुरु हावाले झ्यालको पर्दा सरर पूर्व दिशातर्फ हल्लिरहेका थिए । त्यँही झ्यालदेखि सिम्माले मेरो र छोराको रमिता मज्जाले हेरिरहेकी थिइन । मलाई त्यसबेला सिम्माको टाउको र झ्यालको पर्दा एकअर्कामा लुकामारी खेलिरहेको झैं आभास भइरह्यो । तर, उनको त्यो दर्दनाक हेराईले मलाई कति पिडा दिइरहेकी छिन भन्ने उनलाई के थाहा थियो होला र?
नोराल सडक किनारमा बलेको बत्तिको प्रकाशले बानबुरी गाउँको मुहार छ्याङ्गै उँज्यालो भइरहेको थियो । म अझै तिनै सडक किनारमा गाडिएको बिजुली खम्बाहरुको एकल साक्षी बनेर एक्लै उभिरहेको थिएँ । अरुबेला खुरुरु साइकल कुदाइ हिडने अङ्ग्रेजका स-साना नानीहरु मार्था, जोन, डेभिड र मिसाइलहरु महामारीको डरले घरदेखि बाहिर निस्कन सकिरहेका थिएनन् । नत्रभने कठङ्ग्रिदो बेलायती हिउँदले बिदा लिएपछि उनीहरुले सडकमा हरेक बेलुकी उधुमै जात्रा मचाउने गर्दथे।
केहिदिन अगाडिदेखि बेलायती भूमिमा मार्च महिना भित्रिएको थियो । मार्च महिनाले रुखबिरुवा एबम बनस्पतिका कलिला पात र मुनाहरुलाई आत्मियताको साथ स्वागत गरिरहेका यत्रतत्र देख्न सकिन्थ्यो । तर, त्यति राम्रो मौसममा हरेक बर्ष रमाइलो मान्ने बेलायतीहरु बिश्वभरि फैलिरहेको कोरोना महामारीको त्राशदिले नखाउ भने दिनभरिको सिकार तर खाउभने ठेक्कै कान्छा बाबुको अनुहार भइरहेका थिए ।
“ड्याडी ! आखिर म जानैपर्छ, बरु म गए है?”
निरजले म तर्फ हेरेर अन्तिम चोटि बिदा माग्यो । खाली सडकमा झनझन साँझ छिप्पिदै गइरहेको थियो । बाहिर सडकमा झलमल्ल बत्ति बलिरहेको भएतापनि कार भित्रका मानिसलाई चिन्न निक्कै कठिन हुन थालिसकेको थियो । तोते बोलिदेखि सुन्दै आएको छोराको त्यो हिमचिमको आवाज मलाई त्यसबेला ज्यादै कर्णपृय लागिरह्यो । त्यसरी बिदाइ गर्नुपर्दा प्रत्युत्तरमा म त्यति धेरै बोल्न सकिरहेको थिइन । तैपनि जबरजस्ती दाहिने हात उठाएर मैले, ‘छोरा ! आफू बाँच्नु र अरुलाई पनि बँचाउनु है ?’ सम्म भन्न सकें।
मैले छाडेका तिनै शब्दहरु हावामा बिलिन हुन नपाउदै फोर्ड, फिएस्टाको दाहिनेपट्टिको सङ्केत बत्ति बल्न थाल्यो । सङ्केत बत्ति बल्ने बितिक्कै बिस्तारै कारको चक्का गुड्यो र कारले क्रमश: आफ्नो गति अगाडि बढाउँदै लग्यो । मैले एकचोटी लामो सास तानेर छाडन पाउँदा नपाउँदै कार साउथाम पश्चिम सडकमा मिसिन पुग्यो । केहिबेर अगाडिसम्म पापीष्ठ चन्द्रमा भन्दै चन्द्रमालाई असह्य गाली गरिरहेको थिएँ तर तिनै चन्द्रमाको सहायताले त्यसबेला फोर्ड, फिएस्टालाई अनबरत नियाली रहें । हुनत ऊ गएको रमिता हेर्न सिबाए म अन्य के नै पो गर्न सक्थे र?
चाँदी रङ्गको त्यो फिएस्टा निमेषभरमा बानबुरी बजारभित्र बिलय भयो । त्यसरी थोत्रो फिएस्टाले मलाई सडक किनारमा एक्लै छाडि राख्दा मेरा नयनहरु तरलतरल बनेका थिएँ । अझै आफ्नै घरबाहिर बाटो हराएको एउटा अर्ध पागलझै बनेर निक्कैबेर एक्लै उँभिरहें । म त्यँही सडक किनारमा लगातार उँभिरहेको बेला चहकिलो बत्तिको प्रकाश छर्दै एउटा कालो मटर मेरो सामुन्ने आएर टक्क रोकियो । मटर मेरै अगाडी रोकिएतापनि बत्तिको चहकिलो प्रकाशले चालकलाई राम्ररी चिन्न सकिरहेको थिइन । जब चालकले मटर रोकेर झ्याल खोल्न सुरु गरयो त्यसपछि मात्रै मैले उनलाई राम्ररी चिन्न सकें । तर, उनले मटरको झ्याल खोल्ने बितिक्कै मलाई हेरेर बोल्न थाल्यो।
‘मेरो मित्र ! वर्तमान अबस्था मानिसहरुले सोचेको भन्दा निक्कै नाजुक रहेको छ । किनभने कोभिड १९ को बिमारीहरुले हर्टन अस्पताल, बानबुरीको बिस्ताराहरु पुरै भरिसकिएका छन् । अस्पतालमा भएको जम्मा २ सय ३६ बेडहरु मध्य एउटा बेड पनि खाली छैनन्।’
एकदम निक्खर कालो तर नयाँ बेलायती रेन्जरोभरमा आएको डा. जोन फ्रान्सिस मेरो पल्लो घरको अशल छिमेकी मानिस हुन् । र, उनी हर्टन अस्पतालको अपरेसन बिभागमा सिनियर कन्सल्टेन्टको पदमा काम गर्दछन् । उनको मुखबाट निस्केको तिनै करुणामय शब्दहरुले मेरो मनभित्रको सागरमा ठुलो ज्वारभाटा मच्चिन थाल्यो । किनभने मैले भर्खरभर्खरै आफ्नो डाक्टर छोरोलाई बिदाइ गरेर उनको कर्तब्यपथमा लम्किरहनको लागि जोन रेडक्लिफ अस्पताल, अक्सफोर्डमा पठाएको थिएँ।
त्यति अशुभ खबर बाँडी राखेर डा. फ्रान्सिस मबाट बिदा मागेर हिड्यो । समयले नेटो काटिरहेको थियो, ‘घरभित्र पस्ने होइन?’
अचानक सिम्माले छाडेकी उँराठिलो स्वर बरालिदै मेरो कानको जाली नजिक आएर ठोकियो । म त्यसबेला भयानक ठूलो त्रासदिको भुँमरीमा चुर्लुम्मै डुबिरहेको थिएँ । उनकी स्वर सुनेपछि थोरै आत्मबिश्वासको साथ घरभित्र पस्न थाले । घर भित्र पस्दै गर्दा मनमनै सोचे, ‘आखिर यो संसारमा भएका सबै चिजहरु क्षणिक हुन, कुनै न कुनै दिन कोरोनाको पनि कसो अन्त्य नहोला र?’
अनिश्चित गन्तब्य लिएर सुस्तरी घरभित्र छिरेका मेरा पयरहरु सिम्माको नजिक पुगेर थपक्कै बिश्राम गरे । मेरा पयरहरु निशब्द त्यहाँ पुगेर सिम्माको खुट्टामा ठोकिएपछि उनको थकित, शिथिल एबम क्लान्त अनुहारलाई मैले राम्ररी पढन थालें । फुङ्गै उडेर खरानी रङ्गमा परिणत भइसकेको उनको अनुहारलाई हेरेर मलाई केहि बोल्न मन लागिरहेको थिएन । तैपनि मैले मेरो मुखलाई धेरैबेरसम्म निषेध राखिरहन सक्त्तै सकिन त्यसैले मलिन स्वरमा बोल्न थालें ।
‘खै ! अब हाम्रो छोरासँग भेट हुने हो कि नहुने हो?’
तर, मेरा शब्दहरुको अन्त्येष्ठी हुन पाउँदा नपाउँदै उनकी आँखाका नानीहरु पुरै पाकेका गोलभेडा जस्ता राताराता हुन थाले । उनका आँखाहरु मात्र त्यसबेला राताराता भएका थिएनन्, ओष्ठहरु थरर कापिरहेका थिए तैपनि जबरजस्ति उनले सानो स्वरमा मुख खोलिन्।
‘खै ! म पनि के नै भन्न सक्छु र?’
बिना सहानुभूति आएको प्रतिउत्तरले मेरो बायाँ छाँतीमा धनुषबाँण प्रहार गरेको जस्तो अनुभूति भयो । हुनत मैले जस्तो प्रश्न गरेको थिएँ, त्यस्तै जबाफ फर्केर आएको थियो । लिभरपुल विश्व बिधालयदेखि जुन दिन छोरा चिकित्सक भएको थियो । त्यस दिन सबैभन्दा बढि प्रसन्न त उनी नै भएकी थिइन । तर, हरेक सुखको अन्त्यमा पीडा लुकेको हुन्छ भन्ने उनलाई त्यसबेला के थाहा थियो र?
त्यसबेला, हामी दुवैजना भान्सा कोठामा बसिरहेको थियौ । छोराले घर छाडेर हिडेपछि मलाई सिम्मासँग त्यति धेरै गलबाजी गरिरहन मन लागिरहेको थिएन । त्यसैले उनलाई एक्लै छाडिराखेर म सुस्तरी बैठक कोठामा पुगें । बैठक कोठा एउटा भूतबङ्गला जस्तै निसबन्द अँध्यारो थियो । तैपनि कोठाभित्र छिर्ने बितिक्कै पर्खालको भित्तामा रहेको बिजुलीको बटमलाई टक्क थिचेर बत्ति बालें र आलिशान सोफामा बसेर दुवैहात थपक्कै गालामा राखें।
बैठक कोठाको बायापट्टि कुनामा डेनम कम्पनीको एउटा पुरानो अमेरिकन रेडियो थियो । आक्कल झुक्कल बज्ने त्यो रेडियोमा मेण्डरिन भाषाकी बहुचर्चित गायिका टेरेसा वङ्गको सुमधुर प्रेम गित, ‘म तिमीलाई असाध्यै माया गर्छु,’ भन्ने बजाएर छोराको आकर्षक अनुहारलाई मज्जाले सम्झन थालें । रेडियोको ठिक सामन्ने एउटा ठूलो तस्विर सङ्ग्रहको पुस्तिका थियो । सुस्तरी त्यसलाई खोलेर त्यसको हरेक पानामा मज्जाले नजर लगाउन थालें । जुन तस्विर सङ्ग्रहमा निरज जन्मेदेखि तीसौ बार्षिकी मनाइन्जेल सम्मको तस्बिरहरु कैद गरिएर राखिएका थिएँ।
हुनत मैले त्यसरात मादक पदार्थलाई छुँदै छोएको थिइन । तैपनि मदहोस बनेर लामो समयसम्म उनको तस्बिरहरु मज्जाले नियालि रहें । बानबुरी गाउँको कोलाहलमय रात क्रमशः छिपिदै जाँदै थियो । तस्बिरले छियाछिया बनाएका दुखि आत्मा लिएर आराम गर्नको लागि बिस्तारै तलामाथि चढँन थालें । किनभने, ‘आखिर तस्बिर तस्बिर नै हुन्छ, त्यो जतिसुकै पृय भएपनि आवाज बिहिन हुन्छन्,’ भन्ने मेरो मनमा लागिसकेको थियो
निरजले घर छाडेको दुईहप्ता पुग्दा भाइरसले दिन दुई गुणा, रात चौ गुणा मानिसहरु मृत्युको सिकार बनिरहेका थिए । चिकित्सक छोराको अत्याधिक मायाले सिम्मा बाटो भुलेको एउटा निमुखो जनावरको बच्चा झै बनिरहेकी थिइन । अनि मैले त्यो खङरङ्ग परेको उनको निर्बल, निष्कृय र मधुरो अनुहारलाई हरेक साँझबिहान जल चढाँएर जीवन दिइरहनु परिरहेको थियो।
अर्को हप्ता घरको मूल ढोकामा बृहस्पतिबारको दिन टुप्लुक्क झुल्कियो । सोहि दिन बेलुकीको ठीक ८ बजे हामी घरको मुलढोका बाहिर निस्केका थियौं । ढोकाबाट बाहिर निस्केपछि बेलायती ‘राष्ट्रिय स्वस्थ सेवाका’ कर्मचारीहरुलाई सम्झेर ताली बजाउन थाल्यौं । त्यसदिनदेखि हरेक बिहिबार बेलुकीको ८ बजे सबै छिमेकिहरुसँग मिलेर एनएचएसका कर्मचारीहरुले उनीहरुको जीवनलाई जोखिम मोलेर राष्ट्रको सेवा गरिरहेकोमा ताली बजाएर उच्च सम्मान गर्दथ्यौं।
बानबुरी गाउँमा दिन, रात, हप्ता र महिना क्रमश: बित्दै गयो । चार महिना जति समय बितेपछि हरेक दिन सिम्माले आफ्नो पृय छोरालाई भेटने असाध्यै रहर गर्न थालिन । त्यसैले जुलाई महिनाको पहिलो सप्ताहन्तमा हामी छोरालाई भेटनको लागि अक्सफोर्डतर्फ लाग्यौ । आफ्नो घर बानबुरी छाडेको केहिबेरमा बेलायती ठूलोबाटो ‘एम ४०’ मा पुगेका थियौं । हामी त्यहाँ पुग्दा बाटोमा मोटरले किच्याएर मारेको एउटा फ्याउराको बच्चालाई देख्यौं । अनायसै मरेका फ्याउराको बच्चा देखेर उनले अनुहार कच्याककुचुक बनाउदै बोल्न थालिन्।
‘बुढो ! मानिस र जनावरको जिन्दगी कति फरक छ हगि?’
म एकसुरमा मटर हाँकिरहेको थिएँ तर अचानक उनको मुखदेखि फ्याट्ट निस्केको त्यो शब्दले मेरो हृदय थोरै बिक्षिप्त भयो । किनभने तिनै फ्याउराको बच्चा जस्तै हाम्रो पनि एउटा हुर्किसकेको बच्चा थियो । अझ तिनै हुर्किसकेको बच्चा हाम्रो आशाको सिङ्गो धरहरा पनि हो । उनैलाई भेटनको लागि हामी समयको बिरुध्द बाटोमा तुफान बेग मारिरहेका थियौ।
बाटोको मौसम ज्यादै सफा थियो । वर्किङ्हामसायरको चिल्टर्न पर्बतदेखि उदाएको सूर्यले अक्सफोर्डसायरको आकाशमा दुईटाङ्गो यात्रा गरिसकेको थियो । तिनै सूर्यको गतीसँगसँगै हामीले ठूलो मटरबाटोमा ४५ मिनेट जति यात्रा पुरा गरिसकेको थियौ । त्यसपछि अक्सफोर्ड सहरमा रहेको एउटा घर १० नोवल सडकको सामुन्ने पुगेका थियौं । अक्सफोर्डको तिनै घरमा इटालियन डा. पाब्लो पियानो र ग्रिक नर्स उरानिय हाटसिउसँगसँगै हाम्रो छोरोले पनि डेरागरेर बसेका थिए।
मैले निरज बसेको डेरा अगाडि पुगेर आफ्नो मोटरलाई घग्रक रोकें । मटर रोकिने बितिक्कै सिम्माले छोराको लागि बनाई दिएकी चाउमिन, मोमो र सिन्कीको अचारको पोको उनको कोठाको अगाडि लगेर थपक्कै राखिदिइन । त्यसपछि उनी फर्केर मोटरभित्र आउने बितिक्कै हामी केहि पछाडि फर्क्यौ र कारदेखि छोरालाई फोन गर्न थाल्यौ । बेलायती लकडाउनले चार महिनासम्म बढेर बसिष्ठ ऋषीको जस्तो केस, नाक र मुख जम्मै ढाकेका सर्जिकल मास्क र हातमा एकजोर निलो पन्जा लगाएर छोरा उनको डेरादेखि बाहिर निस्क्यो । शरिरको मासु सकिएर खङरङ्ग घटेर लुते भएको छोरोले त्यँही ढोकाको नजिकै उभिएर हामीसँग फोनमा कुरो गर्न थाल्यो।
“छोरा ! यस्तो दिन पनि आउने रहेछ हगि?”
हतारहतार मलाई उछिन्दै सिम्मा नै पहिले बोलिन । हामीले त्यसबेला कारको स्पिकर फोन प्रयोग गरिरहेका थियौ । आफ्नै छोरासँग प्रत्यक्ष भेटेर बोल्न नपाउँदा सिम्माको अनुहारमा कालो बादल मडारी रहेको स्पष्ट देख्न सकिन्थ्यो । त्यसरी छोरासँग बोल्ने क्रममा उनले पटकपटक आँखाका ढकनीहरु बन्द गर्दै खोल्दै गरिरहेकी मैले नजिकबाट राम्ररी नियालीरहेको थिएँ । उनको गहभरि आँसु देखिन्थे र उनले छाडदै गरेकी हरेक शब्दहरुसँग आँसुका थोपाहरु मिसिरहेको हुन्थ्यो । मैले केहिबेरपछि तरल पदार्थमा परिणत भएका उनको नयनहरु रगताम्य देख्न थालिसकेको थिएँ । अनि क्रमश: छचल्कियर पोखिएका उनकी आँसुका थोपाहरु गलाको पछ्यौरीसम्म पुगेर सुस्तरी बिश्राम गरिरहेका थिएँ।
अन्तमा, “ड्याडी ! मलाई घर आउन एकदम रहर लागिरहेको थियो । अनि सुन्नोस न म हप्तामा दुई-तीन चोटि फोसकोट निजी अस्पताल बानबुरी जाने र आउने गरिरहेको छु। त्यो अस्पतालमा जाँदा हाम्रो घरको अगाडिदेखि कार चलाएर बिहान जान्छु र बेलुकी फिर्छु । त्यसरी घरको अगाडिदेखि जाँदा घरको ढोका ढकढक्याउन मन लागिरहेको हुन्छ । तर, तपाईहरु म सँग डराउनु हुन्छ होला भनेर कहिले घरभित्र पस्ने कोशिस गर्दिन । तैपनि मम्मिले बनाउनु भएको खानेकुराको बासनासँगसँगै हार्डविक हिलको बाटो काटेर अक्सफोर्ड आउने जाने गरिरहेको छु । अब म कहिले घर आउनु पाउँछु होला?”
निरजको पिडादायक त्यो प्रश्नले मलाई चिकित्सकको बाबु हुनु जतिको पिर अन्य समयमा कहिले परेको थिएन । त्यसबेलासम्म जिवितै रहेका मेरा शरिरका अस्थिपन्जरले साठीवटा हिउँदहरु पार गरिसकेका थिए । तर, त्यतिको बृहत दर्द पहिले कहिले भोगेको थिइन । त्यसैले छोरासँग बाँकी प्रश्नहरुको अपेक्षा गर्न छाडें र उनको तिनै शब्दहरुलाई अन्तिम शब्द बनाउने निर्णय लिएँ । त्यसपछि, केहि नबोलि टिटटिट हर्न बजाँउदै हामी हतारहतार बाटो लागिहाल्यौ । केहि अगाडी पुगेपछि बिँचको ऐना प्रयोग गरेर अन्तिम चोटी उनलाई एकझलक हेरे । उनले त्यसबेलासम्म हामीलाई एकोहोरो क्वारक्वार्ती हेरिरहेकै थियो र उनले दाहिने हात माथीमाथी आकासतिर उँठाएर बिदाइ गरिरहेको थियो।
अक्सफोर्ड छाडेको अर्को घण्टा हामी बानबुरी गाउँको ठूलो गोलघुम्तिमा पुगेका थियौ । सधै ब्यस्त रहने त्यो घुम्तिमा त्यसबेला एउटै गाडीहरु देखापरेका थिएनन् । तर, साउथम रोडको ट्राफिक बत्तिमा मैले मोटर रोक्दा हाम्रो अगाडि एउटा र पछाडी अर्को कालो मर्सिडिज शबबाहनहरु देख्यौं । अरुबेला शवबाहनको पछिपछि मलामीहरु बोक्ने पुच्छ्रे मोटर गुडिरहेका हुन्थे । तर, त्यसदिन पुच्छ्रे मोटर बिना शवबाहनहरुको बीचँमा हामी परेको थियौं।
“बुढो ! कोरोना भाइरसले कुनदिन कस्लाई यस धर्तीदेखि सँधैको लागि बिदा गर्ने होला ? अनि यसरी नै शवबाहनमा पहिले को चढनु पर्ने होला ? हुनत त्यस्तो दिन नआएपनि हुन्थ्यो ? यदि त्यो दिन आयो भने के गर्ने होला?”
साउथम सडकको मध्यान्हमा त्यति राम्रो मौसम भएतापनि हाम्रो अगाडि र पछाडि गुडिरहेका शवबाहनहरुको बीचँमा रहँदा सिम्माको मुखबाट निस्केको त्यो पीडादायक प्रश्नले म निक्कै लामो समयसम्म नाजबाफ बनिरहें।
अर्को महिना, निरजलाई कोरोना भाइरस लागेको हामीलाई टेलिफोनमार्फत जानकारी दियो। त्यस्तो दुःखद खबर सुनेर हामी उनलाई भेटन चाँहन्थ्यौं तर हामीले चाहेर मात्र हुदैनथ्यो । उनी भ्यान्टिलेटरबाट कृतिम सास लिइरहेको छ भन्ने खवर सुन्यौं तर हामीले केही गर्न सकेनौं । अझै हामीले आफ्नो प्यारो छोरालाई त्यस्तो दुःखद अवस्थामा पनि भेटन पनि पाएनौ । आखिर जे सोचेको थियौं, अन्तमा त्यँही घटना घट्यो । गतराती छोराको मृत्यु भएको खबर डा. पाब्लो पियानोले फोनबाट हामीलाई जानकारी गरायो।
डा. पियानोको त्यस्तो बिषादी खबर सुन्ने बितिक्कै सिम्मा एक्कासी बेहोस भइन्। मैले ९९९ मा टेलिफोन सम्पर्ग गरेर एउटा एम्बुलेन्स बोलाए। एक्कैछिनमा ठूल्ठूलो साइरन बजाउँदै एउटा एम्बुलेन्स आयो र उनलाई हर्टन अस्पतालको सघन उपचार केन्द्रमा पुरयाइयो। एकल छोराको मृत्यु भएको एक हप्तापछि जुलियन फ्युनरल डाइरेक्टरले उनको शबलाई हानवेल समाधिस्थलमा ल्यायो।
सिम्मा त्यसबेलासम्म हर्टन अस्पतालको मृत्युशैयामा छटपट्टी रहेकी थिइन्। तर छोराको अन्त्येष्टि गर्ने दिन उनको पनि असामयिक देहान्त भयो । हाम्रो परिवारमा तीनजना सदस्य थियौ, आखिरमा म पापी मात्र बाँचें। यदि म पनि मरेको भए हाम्रो पारिवारिक इतिहास नै समाप्त हुन्थ्यो होला तर त्यसो नभएकोले म एक्लै हानवेल चिहान डाँडामा पुगेको थिएँ । कोरोना भाइरसको महामारीले त्यहाँ कोही मलामीहरु उपस्थित भएका थिएनन् । छोराको शरिर जमिन गाडिने समयमा त्यहाँ शोकका धुनहरु बज्न सकेनन् र कोही फूल चढाँउन उपस्थित भएनन्। हातमा एउटा फूलको बुके लिएर चिकित्सक छोराको अन्तिम सन्मानको साथ मट्टी दिन म एक्लै हानवेल समाधिस्थलमा उपस्थित भएको थिएँ । आफूभन्दा अगाडि एकल छोरालाई जमिनमा गाडनु पर्दा चिकित्सकको बाबु हुनुजतिको पीडा यो जिन्दगीमा मलाई कहिलै परेको थिएन।
त्यति प्यारो छोरा सँधैको लागि जमिनमा गाडिएपछि फ्युनरल डाइरेक्टर जुलियनले उनको शिरमा, “डा. निरज राई एमएमइ वारविक एमआरसिएस लण्डन” भन्ने समाधिस्थलको पत्थर (हेड स्टोन) राखिदियो । तर के गर्ने ? उनले जिन्दगीभरी मेहनत गरेर कमाएको उपाधि उनी आफैसँग लाँदै थिए । म प्रकृतिपूजक थिएँ । त्यसैले जुलियनले मतिर सङ्केत गरेपछि छोरालाई अन्तिम श्रद्धाञ्जलि दिने क्रममा मैले दाहिने हात छाँतीमा राखेर पूर्वबाट उदाइरहेको घामलाई एकझलक हेरे । त्यसपछि अन्तिम पटक निरजको लासमाथि एउटा गुलाफको फूल चडाउँदै मनमनै गुनगुनाए।
“छोरा ! स्वर्गमा तिमीलाई आराम रहोस है, बाइ बाइ ।”
अक्सफोर्डसायर।