किम्फमा उत्कृष्ट भएका वृत्तचित्रहरू हङकङ र मकाउमा प्रर्दशन गरिने

एचकेनेपाल डट कम संवाददाता –
नेपालमा हुँदै आएको अन्तराष्ट्रिय फिल्म महोत्सव किम्फमा उत्कृष्ट भएका वृत्तचित्रहरू अबदेखि हरेक वर्ष हङकङ र मकाउमा प्रर्दशन हुदैछ।

हरेक वर्ष डिसेम्बरमा राजधानीमा हुँदै गरेको ‘काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ)’ यस वर्षदेखि ‘ट्राभलिङ किम्फ’का रुपमा हरेक फेब्रुअरीमा हङकङ र मकाउमा हुने भएको छ । पहिलो पटक २१ र २८ फेब्रुअरीमा हङकङमा र २३ फेब्रुअरीमा मकाउका दर्शकले किम्फका उत्कृष्ट वृत्तचित्रहरू हेर्न पाउँनेछन्।

हङकङ र मकाउमा हुने प्रर्दशनीमा यसपटकको किम्फमा नेपाली पानोरामा अन्तर्गत उत्कृष्ट भएका सुनाकली, पवन, पुण्टेको पाङ्ग्रो र अघिल्लो वर्षका उत्कृष्ट मध्येबाट जोर्नी टु यार्सा सहितको अढाई घण्टाको प्याकेज प्रस्तुत गरिने छ। हङकङस्थित नेपाली महावाणिज्य दूतावासले २८ फेब्रुअरीमा गर्ने विशेष प्रर्दशनीमा भने शेर्पा द ट्रयु हिरोज अफ माउण्ट एभरेष्ट देखाइने छ।

हिमाल एसोसिएसनले हरेक वर्ष गर्दै आएको किम्फलाई हङकङमा एभरेष्ट मिडिया लिमिटेड र मकाउमा गोर्खा एकता इण्टरनेशनले स्थानीय स्तरमा सहआयोजना गर्ने भएको छ। हङकङमा जोर्डनस्थित पाकिस्तानी क्लबमा २१ फेब्रुअरीमा ३ र ७ दुई शो हुनेछन् भने मकाउस्थित एम्पेरर होटलको हलमा २३ फेब्रुअरी साँझ ५ बजेदेखि प्रर्दशन गरिनेछ। महावाणिज्य दूतावासले भने विदेशी कुटनीतिज्ञहरूका लागि विशेष प्रर्दशनीको आयोजना गर्ने भएको हो।

किम्फका अध्यक्ष तथा आयोजक हिमाल एसोशिएसनका कार्यकारी निर्देशक बसन्त थापाको उपस्थितिमा सम्पन्न हुने किम्फको हङकङ र मकाउ प्रर्दशनीको संयोजन डम्बरकृष्ण श्रेष्ठले गरिरहेका छन्। एभरेष्ट मिडियाका सम्पादक÷प्रकाशक किसन राईका अनुसार अबदेखि हरेक वर्ष किम्फलाई एभरेष्ट मिडियाले वार्षिक महोत्सवको रुपमा नियमित गर्नेछ। महावाणिज्य दुतावासका वाणिज्य दुत मुदिता बज्रचार्यले हङकङमा रहेका अन्य देशका विदेशी कुटनीतिज्ञ तथा सरकारका अधिकारीहरू माझ नेपाल र नेपाली जन जीवनबारे जानकारी दिन किम्फ महत्वपूर्ण हुने बताए। अरु देशका दुतावासहरूले जस्तै नेपाली महावाणिज्य दुतावासले यस वर्षबाट हिमाल एशोसिएसनसँग मिलेर किम्फको विशेष प्रर्दशनी गर्न लागेको हो। महावाणिज्यदूत महेश दाहालले किम्फको यस्तो विशेष प्रर्दशनी हरेक वर्ष गर्न आफुले पहल गर्ने बताए।

करिब सय भन्दा बढी देशहरूका डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू छनोट गरेर प्रर्दशनी गरिने किम्फ नेपालमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सव हो । विगत १२ वर्षदेखि नियमित हुँदै आएको किम्फ ‘घुम्ती किम्फ’का रुपमा देशका विभिन्न शहरहरूमा समेत प्रर्दशनी हुने गर्छ । देश बाहिर भने ‘ट्राभभलिङ किम्फ’का रुपमा हङकङ र मकाउबाट सुरु हुने भएको छ । किम्फमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन्। यसपाली २९ मंसीरमा काठमाडौंमा सम्पन्न १२औं संस्करणमा अन्तर्राष्ट्रिय र नेपाल पानोरामा गरी दुई प्रतियोगितात्मक खण्डमा छुट्याइएको थियो। साहसिक यात्रा, आरोहण, द्वन्द्व, संस्कृति, गरिबी, विकास, लैंगिकता, भूमण्डलीकरण र बसाइँसराइ जस्ता विषयका २० देशका ७५ फिल्म किम्फमा देखाइएका थिए।

किम्फका उत्कृष्ट
यसपटक फ्रान्सेली डकुमेन्ट्री डेज अफ तराप लाई सर्वोत्कृष्ट फिल्म घोषित भएको थियो। हर्भ टिबरगेनद्वारा निर्देशित डोल्पाको इतिहासदेखि आधुनिकतासम्मको कुरा उठाइएको यो फिल्मले १५०० अमेरिकी डलर, ट्रफी र प्रमाणपत्र हासिल गरेको थियो । यसैगरी, दोस्रोे भएको इटालीको टिज्स द्याट वाक ले १००० डलर र तेस्रो भएको जर्मनीको द केभ कनेक्सन ले ५०० डलर पुरस्कार पाएका थिए।

गत मंसिरमा सम्पन्न पाँचदिने किम्फमा सञ्चारकर्मी भोजराज भाटको डकुमेन्ट्री सुनाकली ले जुरी छनोट र इसिमोड अवार्ड गरी दुई विधामा उत्कृष्ट भएर १००० डलर पुरस्कार पायो । यसमा जिल्ला बाहिर समेत पुगेर फुटबल जित्ने मुगुकी १४ वर्षीया सुनाकली र उनको टिमको उत्साह समेटिएको छ। यसैगरी, सचिन घिमिरेको पुन्टेको पांग्रो नेपाल पानोरामातर्फको उत्कृष्ट फिक्सन भयो भने लक्ष्य वान्तवाको पवन उत्कृष्ट डकुमेन्ट्री। दुवैले अवार्डसहित रु.५०–५० हजार पाए । कला संग्रौलाको बुट्टे जामा ले अडियन्स अवार्डको ट्रफी जित्यो भने स्वीकार शाह र मिलनको फिल्म मानिस हराएको सूचना, अंकित केसीको अ थाउजन्ड ड्रिम्स तथा पूजा गुरुङ र विभूषण बस्नेतको द कन्टाजियस अपारिसन्स अफ डम्बरे डेन्ड्राइट ले स्पेशल मेन्सन अवार्ड पाएका थिए।





Comments

comments

4481